गरिब भए बाँड्न सुरु गर
सहिनालाई जीवनमा आइपर्ने सबै दुःखका रूप एकैपटक आइलागे। बुबाको मृत्यु भएको ३ महिनामा आमाले छाडेर गइन्। आमा स्वर्गे भएको ६ महिनासम्म दाइको व्यवसायलाई सहयोग गरिन्। वर्ष दिन नपुग्दै उनको बिहे गरिदिनु उपयुक्त ठाने दाइभाउजूले र उनको बिहे गरिदिए। बिहे भएको एक महिना नबित्दै थाहा पाइन् उनले कि नराम्रो रोगले च्यापेर भाउजूको पनि मृत्यु भयो अनि दाइ विक्षिप्त भएर आÏनो व्यवसाय सम्हाल्न नसक्ने भए। त्यति मात्र कहाँ हो र विवाह भएको नौ महिनामा हसिनाका पति पनि एउटा दुर्घटना परी ज्यान गुमाउन पुगे। आमाबुबा र दाजुभाउजूका साथ उनको परिवारमा सम्पन्नताभन्दा पनि हाँसोखुसीमै जीवन बितिरहेको थियो। एक्कासि सबै बज्रपात आइपरेपछि जीवन उनलाई दुःख मात्र हो भन्ने प्रमाणित भइसकेको थियो। एकपछि अर्को दुःख आएपछि जीवनबाट हरेश खाएकी हसिनाले आत्महत्याको उपायसम्म सोच्न भ्याएकी थिइन्।
एक दिन आँगनमा टोलाउँदै थिइन्, अचानक मुसलधारे पानी पर्यो। उनी बरन्डामा बसेर पानीको आवाजमा टोलाइरहेकी थिइन्, त्यति नै बेला एउटा बिरालो रुझ्दै उनको छेउमा आएर बस्यो। म्याउँ–म्याउँ कराउन थाल्यो। अरू नजिक आएर उनीसँग केही बिलौना गरेजस्तो गर्न थाल्यो। हसिनालाई बिरालोप्रति प्रेम जागेर जाग्यो। उनले आÏनो मजेत्रोमा लुट्पुट्याइन्, तातो बनाइन् र प्रेमपूर्ण भाव प्रकट गरिन्। केही खानेकुरा दिइन्। उनमा यति धेरै प्रेम र उमंग बढ्न थाल्यो कि उनले सबै दुःख क्षणभरमै बिर्सिइन्। उनमा प्रेम भावबाहेक केही पनि बाँकी रहेन। अब त्यो बिरालोले उनकै घरको एउटा कुनामा आफ्नो वासस्थान बनाउन थाल्यो। दिनभर दायाँबायाँ गए पनि साँझ परेपछि म्याउँ–म्याउँ कराउँदै उनको सामु हाजिर हुन्थ्यो। त्यो बिरालोले आफूलाई ठूलो सहारा दिएको अनुभूति हुन थाल्यो। आफूलाई संसारकै गरिब र दुःखी ठानेकी हसिनाले जब एउटा बिरालोलाई प्रेम दिन थालिन् तब उनमा ठूलो रूपान्तरण आयो। एउटा गरिब र दुःखी भनेको व्यक्तिले पनि प्रेम बाँड्न सक्दो रहेछ। गरिबले पनि जब दिन सुरु गर्छ तब उसको जीवनमा नजानिँदो तरिकाले परिवर्तन आउँदो रहेछ। लिनु होइन दिनुको नाम नै प्रेम हो भन्ने बोधकथा ओशोले आफ्नो प्रवचनमा उल्लेख गर्नुभएको छ।
कसैलाई ठगेर, लुटेर, हानि पुर्याएर, भ्रष्टाचारबाट जम्मा गरेको आर्थिक सम्पन्नताले जीवनभरको आपाधापीमा खुसीको महसुस गराउला तर जीवनको उत्तरार्द्धमा पश्चात्तापमा नलैजाला भन्न सकिन्न।
मानिस ठान्छ– सबैबाट मैले नै प्राप्त गरौं। मलाई कसले के दियो ? उसले सोच्न भ्याएको हुँदैन– मैले अरूलाई के दिएँ या म केही दिनलायक छु वा छैन ? धन, सम्पत्ति या पैसा नै सम्पन्नताको मापन हो भनेर बुझेको मानिसले आफूमा भएको प्रसन्नता, प्रफुल्लता, मुस्कान, करूणा, प्रेम, परोपकारका गुणवत्ता पनि छन् र यी कुरा प्राप्त गर्न आर्थिक सम्पन्नता नै हुनुपर्छ भन्ने होइन भन्ने कुरा आत्मसात गर्ने अवसर दिएकै हुँदैन। अरूले देखेको सम्पन्न व्यक्तिले पनि आफूलाई कसैसँग तुलना गरिरहेको हुन्छ र अभाव र अपूर्णता नै महसुस गरिरहेको हुन्छ। मृगतृष्णारूपी उसको भौतिक सम्पन्नताको मापन कहिल्यै पूरा भएको हुँदैन। जीवनलाई कुन आधारमा सम्पन्न या गरिब मान्ने हो ? भोको पेटमा प्रेम हुँदैन तर प्रेमपूर्ण नहुँदैमा पेट भरिन्छ त्यो पनि ग्यारेन्टी छैन। भौतिक चिजको अभाव हो या मानसिक सोचको अभाव ? के भए पूर्णता मिल्छ ? अन्तिम चाहना के हो ? सामान्य व्यक्तिदेखि लिएर धनाढ्य, अनि राजनेताले समेत सोच्नुपर्ने विषय हो किनकि सम्पन्न हुने लालसामा जीवन बाँचेको थाहै नहुने अनि जीवनको उत्तरार्द्धमा पछुताउनेहरूको प्रशस्त उदाहरण छन् समाजमा। जीवन सबैको उही हो। कसैलाई ठगेर, लुटेर, हानि पुर्याएर, भ्रष्टाचारबाट जोगाड गरेको आर्थिक सम्पन्नताले जीवनभरको आपाधापीमा खुसीको महसुस गराउला तर जीवनको उत्तरार्द्धमा पश्चात्तापमा नलैजाला भन्न सकिन्न। मेहनतको पुरुषार्थ नै असली कमाइ हो भन्ने महसुस जीवनको अन्तिम क्षणमा मात्र थाहा लाग्न सक्छ।
पुरुषैर्थ्यते इति पुरुषार्थ : अर्थात् मानिसको जीवनमा प्राप्त गर्नुपर्ने पुरुषार्थ के हो र त्यो प्राप्त गर्न कसरी प्रयत्न गर्ने ? हिन्दु धर्मग्रन्थको वेदमा मानिसको जीवनमा चार पुरुषार्थलाई महत्व दिइएको छ, जसमा धर्म, अर्थ, काम र मोक्ष पर्छन्। यी चार पुरुषार्थलाई जीवनको आधार मान्नेहरू न कहिल्यै गरिब हुनुपर्छ न त दुःखी नै।
धर्म
यतो अभ्युदयनिः श्रेयससिद्धिः स धर्मः अर्थात् लौकिक एवं पारलौकिक उन्नति एवं कल्याणको बोध हुनु धर्म हो। धार्मिकताको गुण विकास हुनु नै धर्म हो। मानव जीवनको उच्चतम विकासको साधन, नियम, आचरण, आयाम र व्यक्तिको स्वभाव धर्म हो। यसमा करूणा, प्रसन्नता, प्रफुल्लता, ध्यान, बोध र असल आचरण एवं शिष्टाचार पर्छन्। घर, समाज र राष्ट्रप्रति नै निर्वाह गर्नुपर्ने मानव मूल्य, नैतिक मूल्य, जिम्मेवारीबोध र कर्तव्यपराणयता नै धर्म हो। समाजको नियम र आचरणलाई आदरपूर्वक पालना गरी सही तरिकाले कर्म गरी धार्मिकताको परिचय दिनु धर्म हो।
अर्थ
मनुष्याणां वृत्तिः अर्थात् भौतिक जीवनलाई सहज तरिकाले जीवन निर्वाह होस् भनी व्यावहारिकतापूर्ण तरिकाले अर्थ अर्थात् पैसा (सम्पत्ति) आर्जन गर्नुलाई अर्थमा समाहित गरिएको छ। आर्थिक व्यवस्थाले भौतिक जीवनलाई सरल र सहजता प्रदान गर्छ। कृषि कर्म, उद्योग, व्यवसाय, नोकरीलगायतका कर्मबाट आर्जित धन पुरुषार्थको धन हो। यसमा आचरण र व्यावहारिकताको महत्व रहन्छ। त्यसैले भ्रष्ट आचरणमा रहेर आर्जन गरिएको धनले पुरुषार्थको महत्व राख्दैन।
काम
साधिष्ठितानां स्वेषु स्वेषु विषयेष्जानुकूल्यतः प्रवृतिः कामः अर्थात् मानव इन्ıियहरूको स्वभावअनुसारको भोग, रूप, स्पर्श, रस, स्वाद र सुवासमार्फत जीवनका इच्छा–आकांक्षालाई सहजता प्रदान गर्नु काम हो। खुसी र आनन्द प्राप्तिका लागि गरिने सांस्कृतिक र रचनात्मक कार्य पनि कामअन्तर्गत नै पर्छन्। सामाजिक नियम र आचरणमा रहेर गरिने शारीरिक सुखभोग कामअन्तर्गत आउँछन्। अति कामना र अपेक्षाबाट बचेर सहज सुखभोग र खुसी प्राप्तिका साधनलाई बुद्धिमत्तापूर्ण प्रयोगमा ल्याउनु र त्यसलाई व्यावहारिकता दिनु वास्तविक पुरुषार्थ मानिन्छ।
मोक्ष
संसारका दुःखमय वस्तु, चिज र परिस्थितिबाट छुटकारा पाउनु अर्थात् मुक्ति पाउनु मोक्ष हो। जन्म र पुनर्जन्मका चक्रबाट मुक्त भएर आध्यात्मिक ज्ञानद्वारा निर्वाणमा उपलब्ध हुनु पनि मोक्ष हो भनेर बुझिन्छ। निर्वाण अर्थात् आत्मज्ञानका माध्यमबाट जीवन, जगत्, अस्तित्वको नियम र जीवनको परम लक्ष्यलाई जान्नु हो। सांसारिक दुःख, कष्ट, तृष्णा, वासना र अज्ञानताका परिभाषाबाट माथि उठेर आÏनो संस्कार, स्वभावमा रही आनन्दको अनुभूति लिनु मोक्षको अवस्था हो। अस्तित्वबाट प्राप्त उपहारप्रति अहोभाव व्यक्त गर्दै ‘तत्वमसी’ अर्थात् अस्तित्वको जे नियम र इच्छा हो, त्यसकै आधारमा हाम्रो जीवन चलेको भन्ने स्वीकार भावको विकास नै निर्वाण या मोक्षको अवस्था हो।
ध्यानको अभ्यास र प्रज्ञाको विकासबाट मात्र यी गुणवत्ताको परिचय थाहा लाग्छ। प्रेमको विकास गर्छ र प्रेमले अराजक व्यक्तिलाई पनि सृजनशील बनाउँछ। प्रेमले नै स्वार्थबाट परोपकारतर्फ प्रेरित गर्छ। प्रेमले जतिसुकै भय र कठिन परिस्थितिलाई पनि आन्तरिक शक्ति र जितमा परिणत गरिदिन्छ। घृणामा भन्दा सयौं गुणा ताकत हुन्छ प्रेममा। हृदयमा प्रेमको झंकार उठ्नासाथ रिस, राग, वैमनस्य आफैं हराएर जान्छन्। शान्ति, भक्ति, समृद्धि, प्रगति प्रेमविना सम्भव छैन। एक व्यक्ति भौतिक सम्पदाले भरिपूर्ण छ, धन, पद, रूप सबै छ तर ऊसँग प्रेम छैन भने उसको नजिक को पर्छ ? जति पनि सन्तपुरुषहरूको यो पृथ्वीमा आगमन भयो राम, कृष्ण, बुद्ध, ओशो, जिसस, मोहम्मद आदि सबैले जीवनको सार प्रेम हो भनेर प्रेमकै सन्देश दिएर गएका छन्। ‘प्रेम नै प्रभु हो’ भन्ने उद्गार दिएर गएका छन्। तिमीलाई शक्ति नै चाहिन्छ भने पनि प्रेमको शक्तिको प्रयोग गरिहेर भनेका छन्। किनकि प्रेमको आन्तरिक शक्तिजत्तिको शक्ति कुनै अस्त्रसँग पनि छैन। जब आन्तरिक शक्ति प्रस्फुटन हुन पाउँदैन तब मानिसले बाहिरी अस्त्रको सहायता लिन्छ।