जरूर, साथी म पागल !
‘तिमी पागल हो र ?’ उसले सोच्दै नसोची सोधेकी थिई। सायद, उसले यस्तै बुझेकी थिई र त यो प्रश्न सोध्ने आँट आएको थियो उसलाई।
एसएलसी दिने वर्ष थियो त्यो। बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म क्लास। साँझ घर पुगेपछि फेरि पढाइकै चापले थिचिएको थियो दैनिकी। बिहान चाँडै उठेर अक्षरहरूसँग सिँगौरी खेल्नु, साँझ अबेरसम्म तिनै अक्षरसँग झगडा गरिरहनु र दिनभर उनीहरूकै अगाडि निरीह बनेर बसिरहनु।
पढाइको त्यो किसिमले मस्तिष्कदेखि मनसम्म सबैतिर बढाइदिएको थियो छटपटी ।केही दिनदेखि त्यो दैनिकीका कारण लगातार दुखिरहेको थियो टाउको। समय मिलाएर बाबाको साथमा फिस्टेल अस्पताल गएकी थिएँ म बिहानै। फिजिसियनले केही समय परीक्षण गरेपछि कागजको चिर्कटोमा केही लेखेर ‘उताको कोठामा जानुस्’ भनेका थिए। उताको कोठातर्फ जाँदा चिर्कटो परेको थिएन मेरो हातमा। कोठाको ढोकामा लेखिएको थियो, ‘डा. निर्मल लामिछाने, साइक्याट्रिस्ट ।’
ढोकामा झुन्डिएको नाम देखेपछि बल्ल थाहा पाएँ, चिर्कटोमा पनि त्यही लेखिएको रहेछ ।
चेकअपपछि स्कुल आइपुग्दा १० बज्न केही मिनटका अंशहरू थिए होलान् बाँकी। खाजा ब्रेकमा धारामा सँगै पढ्ने साथी सलिना र म पानी पिइरहेका थियौँ। त्यत्तिकैमा उसले सोधेकी थिई, आज ढिलो स्कुल पुग्नुको कारण ।
जवाफमा सहजै भनेकीे थिएँ, ‘साइक्याट्रिस्टकहाँ गएर आएको। धेरै टाउको दुखिरहेको थियो केही दिनदेखि ।’
मेरो जवाफ धाराको पानीजस्तो भुइँमा खस्न पनि पाएको थिएन होला सायद, उसले अर्को प्रश्न सोधेकी थिई, ‘अबुई, तिमी पागल हो र ?’
जवाफमा मसँगै थिएन केही भन्न। चुपचाप कक्षामा गएँ। उसले सोधेको प्रश्नले म आफैँलाई पनि बारबार सताइरह्यो केही दिनसम्म। आफैँलाई सोध्थेँ रातबिरात जागा बसेर, ‘के म पागल हो र?’
अनि सोध्थेँ अर्को पनि प्रश्न, अघिल्लो प्रश्नसँगै ‘साइक्याट्रिस्टकहाँ जाने सबै पागल हुन्छन् र ?’
रोग मान्न किन असहज ?
मलाई बेलाबेला लाग्छ- हामी सबै असामान्य छौँ। मात्र, देखिनलाई सामान्य रेसमा दौडिएका घोडाजस्ता भएका छौँ हामी। अर्कातिर असामान्य हामी कोही सामान्य बन्ने प्रयत्न गरिरहेको छ भने दिँदैनौँ उसलाई बन्न सामान्य। हाँस्नु, रुनु, रिसाउनु, धेरै वा कम बोल्नु मानिसको आफ्नो गुण नै त हो नि, होइन र ? तर, कोही अलि धेरै बोल्छ, चिया गफमा उसकै कुरा काटेर हाँसोको पात्र बनाउँदै भनिदिन्छौँ- यार, कस्तो तिमी त पागलजस्तो बोलेको बोल्यै गर्ने ?
मानिसको आफ्नो गुणलाई समाजले हेर्ने चारित्रिक दृष्टिकोणबाटै उत्पन्न हुन्छ, उसले आफूमाथि शंका गर्ने र तनाव दिने प्रक्रियाको सुरुआत। कसैले कसैलाई ‘धेरै बोलेकै कारण पागल’ वा ‘कम बोलेकै कारण मानसिक सन्तुलन ठीक नभएको’, घुलमिल नहुँदा ‘बौलाहाजस्तो एकलकाँटे’ लगायतका टिप्पणी गरिदिन्छन्। यी टिप्पणी कुनै व्यक्तिविशेषले दिने नभएर सामाजिक रूपमा स्थापित भएको मानसिकताको उपजको परिणाम हो ।
फेसबुक लाइभमा आएर आत्महत्या गर्ने युवतीलाई ‘क्यामेरा एंगल मिलेन, अलि राम्रोसँग राखेर झुन्डिनु नि’सम्मका कमेन्ट देखिएका थिए। यसले देखाउँछ हाम्रो स्तर !
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार अहिले विश्वभरि ७९ करोड ५० लाखभन्दा धेरै मानिस कुनै न कुनै रूपमा ‘मानिसक रोग’सँग जुधिरहेका छन्। यो मानसिक रोग भनिएको कुरालाई समाजले जुन किसिमले हेरिरहेको छ, त्यो रोगसँग जुध्न उनीहरूलाई झन् अप्ठ्यारो लडाइँ लडेसरह भएको छ। माथि भनेजस्तै कुनै मानिस विशेषमा फरक फरक किसिमका गुण हुन्छन्, कतिपयमा ती कुराहरू मानसिक समस्याकै रूपमा पनि हुन्छन्। तर, यी समस्या देखिएका मानिसलाई कुनै रोगसँग जुधिरहेको छ र साथ दिनुपर्छ भन्ने मानसिकताभन्दा बढी ‘यो पागल हो’,
‘यो मानसिक रोगी हो’, ‘यसलाई मजाकको विषय बनाउनुपर्छ’ लगायतका मानसिकता बढी मानिसमा देखिन्छ ।
एकपटक तपाईं नै भन्नुहोस् त, बाटोमा कहीँ कतै मानसिक रूपमा असन्तुलित मानिसलाई देख्दा वा उसको वरपर आउँदा कुनै फरक प्राणी भएको जस्तो गरेर तपाईं तर्किनुभएको छ कि छैन ?
हरेक १० जनामध्ये एक जनामा कुनै न कुनै किसिमको मानसिक समस्या भएको विश्व स्वास्थ्य संगठनले देखाएको छ। तर, सोही तथ्यांकमा भनिएअनुसार यी समस्या भएका व्यक्तिहरूमध्ये आधाले मात्रै पनि आफ्नो समस्याबारे परिवार वा समाजमा खुलेर बोल्न सक्दैनन्। कारण, समाज वा परिवारले कुनै मानिसमा भएको कुनै पनि मानसिक किसिमको समस्यालाई रोग मान्दैन। मान्छ त केवल होहल्ला बीचमा हाँस्ने कारण बनाउन मिल्ने ‘दिमाग फुस्किएको’, ‘हावा खाएको’ अनि ‘बौलाहा’ र ‘पागल ।’
रोग भनेको एक्स-रे गर्दा देखिने वा शरीरमा घाउ देखिने मात्रै हुँदैन। मनको रोग देखिँदैन। र, यसलाई नदेखिएकै कारण रोग मानिँदैन पनि। वा भनौँ कसैले आफूमा कुनै किसिमले मानसिक रूपमा फरक र असाधारण सोच आएकै कुरा खुलेर परिवार वा साथीभाइसँग बताएर मनोचिकित्सक वा मनोविश्लेषककहाँ जाने कुरा गर्यो भने उसले पहिलो जवाफ मैले पाएकै सरहको पाउँछ, ‘पागल भइस् ?’ वा ‘पागलको डाक्टरकहाँ किन जानु ?’
मानसिक समस्या पनि हाम्रो हात वा खुट्टामा लागेको जस्तै हो- एक किसिमको रोग। मात्र भौतिक किसिमले लाग्ने रोगले पार्ने असर र मानसिक रोगले पार्ने असर फरक हुन्छन्, यिनीहरूको दुःखाइ अलग हुन्छ। तर, भौतिक रोगको जस्तै यसको उपचार छ र हुन्छ। मानिस ठीक हुन्छ उपचारपछि। तर, शरीर रगताम्य भएर अन्तिम सास लिइरहेको कुनै घाइतेलाई अस्पताल लगेर बचाउनुपर्छ भन्ने समाजले आफैँभित्र हरेक पल, हरेक क्षण अन्तद्र्वन्द्वमा हारिरहेको व्यक्तिको समस्या सुन्दा उसलाई सरासर हाँसोको पात्र बनाउँछ। उसलाई पागलको उपनाम थपिदिन्छ ।
स्वयं मानसिक समस्याबाट गुज्रिरहेका व्यक्तिहरू पनि समाजसँग यो विषयमा बोल्न डराउँछन्, बोल्दैनन्। यसको असर अर्को भयानक पूर्णविराममा गएर टुंगिएको हुन्छ ।
आफूभित्रको समस्या बताउँदा, आफूभित्र भएको रोगबारे कुरा गर्नेहरू त्यो भयानक पूर्णविरामको समयमा समवेदनाका शब्दहरू खन्याउँछन्, ‘मसँग बोलेको भए हुन्थ्यो’, ‘म थिएँ नि उसका लागि’। आफ्नो समस्या बताउँदा, आफ्नो मस्तिष्क र मनमा कबड्डी खेलिरहेका असाधारण विचारबारे सुनाउँदा, आफूमा मानसिक समस्या भएको ज्ञात गराई चिकित्सकीय उपचार गराउन खोज्दा ‘पागल’, ‘बौलाहा’को संज्ञा दिनेहरू सच्याउनै नमिल्ने घटना भएपछि ‘हार्दिक श्रद्धाञ्जलि’ भन्दै फेसबुकमा लेख्दा र ‘म थिएँ नि उसका लागि’ भन्दा कसरी हात र ओठहरू काँप्दैनन् ?
युवा र सामाजिक सञ्जाल
केही समयअघि नेपालमै दाङकी एक युवतीले आत्महत्या गरिन्। ती युवतीले फेसबुकमा लाइभ आएर आत्महत्या गरेकी थिइन्। उनको मृत्युको केही दिन पनि नबित्दै चितवनमा अर्की युवतीले त्यसरी नै फेसबुक लाइभमा आएर आत्महत्या गरेको कुरा बाहिर आएको थियो ।
अहिलेको युवा पुस्ताको कुरा गर्दा यो जमात थुप्रै कुरामा हराइरहेको छ। अनलाइन, इन्टरनेट लगायतका कुरा अब कुनै आकाशको चरो रहेनन्। तर, यी कुराहरूको बीचमा समस्याहरू उत्पन्न पनि त भइरहेका छन् ।
युवा पुस्ताको अहिलेको बाँच्ने शैली छ, आधुनिक। कतिसम्म भने दैनिक खाएका कुराहरूदेखि दिनभरमा बिताएका कुराहरू साट्ने माध्यम नै सामाजिक सञ्जाल बनिरहेको हुन्छ। सामाजिक सञ्जाल, इन्टरनेटसँगको सहयात्रामा दुई सहयात्री, मानिस र प्रविधि नजिकिएका छन् निकै धेरै। यसैबीच मानिसको व्यक्तिगत जीवनको सानो पर्दाका केही रेसा मात्रै छन् बाँकी। नत्र खुलिसके अरू सबै ।
व्यक्तिगत जीवनका सामाजिक सञ्जालमा खुलेका पर्दाहरूमार्फत कतिपय कुराहरू देखिएका मात्रै हुन्छन्, हुँदैनन् यथार्थ। तर, सामाजिक सञ्जालमा युवा पुस्तामा ‘उसले गरेको मैले किन नगर्ने ?’ देखि ‘उसको हुने मेरो किन नहुने ?’ जस्ता कुराले केही समस्या उत्पन्न गराइदिन्छन्। अर्कातिर, पारिवारिक अपेक्षाका कुराहरूसँगै अन्य यावत् कुराहरूका कारण उनीहरूमा समस्या उत्पन्न भइरहेको हुन्छ ।
फेसबुकमा मेरा यस्तै केही साथी छन्, जो दैनिक करिब सय हाराहारीमा डिप्रेसन र एक्लोपनसम्बन्धी पोस्ट सेयर गरेर बस्छन्। दुई फरक स्तरका एउटै कुराको तुलना गरेको पोस्ट सामाजिक सञ्जालमा हालिरहेका हुन्छन्। लाग्छ होला उनीहरूलाई- यी कुराहरूलाई सामाजिक सञ्जालमा सक्रियताका लागि सेयर गरिएको हो। तर, यी कुराहरूको स्वरूपले पनि सक्रियताका लागि मात्रै गरिएको हो भन्ने महसुस गराउँदैन ।
विविध डरैडरको बीचबाट गुज्रिरहेका हुन्छन् हरेक। आफूमा भएको मानसिक समस्या साथीभाइसामु राखूँ ? हाँसोको पात्र बन्ने डर, परिवारसामु राखूँ ? परिवारका सदस्यले कान थुनिदिने वा खुल्लै राखे पनि सुनिसकेपछि समाधान नभएर झन् प्रश्नको थुप्रो राखिदिने डर। आफूभित्रकै अनेकानेक प्रश्नको जवाफ खोज्न असमर्थ भइरहेको व्यक्तिले ती बाहिरी प्रश्नको उत्तर कसरी दिन सक्छ ? परिवारले पनि सहजीकरण होइन, समस्यालाई अपव्याख्या गरिदिन्छन्। अनि, परिवारका सदस्यका कानले नसुनेका कुराहरू फेसबुकको पोस्ट र इन्स्टाग्राममा पुग्छन् ।
विश्व स्वास्थ्य संगठनले सामाजिक सञ्जालमा युवा पुस्ताले थाहै नपाई आफूभित्रको द्वेष बाहिर निकालिरहेको हुने बताएको छ। मैले आफ्नो फेसबुक र इन्स्टाग्राममा हाल्ने साथीहरू थुप्रै देख्छु, र उनीहरूको उमेर १६ देखि ३०÷३५ हाराहारीको देखिन्छ। आफूलाई सक्रियताका लागि गरिएको लाग्दालाग्दै मनभित्रको अन्तद्र्वन्द्वले आफैँलाई गाँजिसकेको हुन्छ। र, उनीहरू यिनै कुराबाट नजानिँदो किसिमले मानसिक रूपमा झन्झन् अस्वस्थ हुँदै गइरहेका हुन्छन्। दैनिक त्यही किसिमका पोस्ट, त्यही किसिमका लेख, त्यही किसिमका स्टेटसले मानसिक रूपमा पनि झन् दबाब उत्पन्न गरिरहेको हुन्छ। आफूलाई केही भएको छैन भन्दाभन्दै मन्द विषजस्तो भित्र भइसकेको हुन्छ खोक्रो ।
अर्कातिर यसरी दैनिक आत्महत्या, फ्रस्टेसन लगायतका विषयबारे पोस्ट गर्नेहरूले आफूलाई पनि नजानिँदो किसिमले गलाइरहेका हुन्छन्, उनीहरूको पोस्टले अरू कोही जो भावनात्मक रूपमा कमजोर हुन्छ, उसलाई पनि असर गरिरहेको हुन्छ।
सामाजिक सञ्जालमा आफूलाई पोख्दापोख्दै पनि भित्रभित्रै सल्किएको छटपटीलाई रोक्न नसक्दा, आफूभित्र उत्पन्न हुने असाधारण आवेग र सोचको आगोलाई नियन्त्रण गर्न नसक्दा त्यो जलनले जीवनलाई नै खरानी बनाइरहेको हुन्छ ।
०००
केही समयअघि भारतीय अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबर बाहिरिएपछि सामाजिक सञ्जालभर डिप्रेसन, एन्जाइटी लगायतका विषयमा कुरा चले। हरेकले नै भनौँ, ‘मसँग बोल्नु कसैलाई एक्लो भए’, ‘मसँग बोल्नु कसैलाई नराम्रो सोच आए’ लगायतका पोस्ट गरेको देखियो। केही दिनपछि वा अहिलेको अवस्थामा हेरौँ, ती पोस्टहरू, ती मसँग बोल्नुस्देखि मानसिक स्वास्थ्यलाई लिएर आआफूले गरेका कुराहरू एकाएक गायब भए ।
यो प्रकृतिलाई नियाल्ने हो भने राम्रोसँग स्पष्ट हुन्छ हाम्रो समाजको अवस्था र चरित्र। केही दिनलाई मात्रै पनि मानसिक स्वास्थ्यमाथि बहस आवश्यक पर्दा कोही मानिसले आफूलाई मारेको हुनुपर्छ, आफूलाई हानि गरेको हुनुपर्छ। कसैले आफूभित्रको छटपटी पोख्न मन लाग्दा कसैको मृत्यु पर्खिनुपर्ने वा भनौँ आफ्नो समस्या सुनाउन कसैको शोकको अवसर चाहिने कस्तो सामाजिक चरित्र ?
विश्व स्वास्थ्य संगठनका अनुसार वर्षमा आत्महत्याका कारण संसारका करिब आठ लाख मानिस मर्छन्, जुन प्रत्येक ४० सेकेन्डमा एक व्यक्ति बराबर हुन्छ। आत्महत्या गर्नेमा १५ देखि २९ वर्षका उमेर समूहमा धेरै छन्। नेपालको कुरामा हरेक वर्ष कम्तीमा पाँच हजार हाराहारीले आत्महत्या गर्ने तथ्यांक देखिन्छ ।
मृत्यु, जोसुकैको भए पनि मृत्यु हो। र मृत्युलाई रोक्न सकिन्छ भने जसले पनि रोक्ने प्रयास गर्नुपर्छ। फेसबुक लाइभमा आएर आत्महत्या गर्ने दाङकी युवतीको त्यस दिन कमेन्टमा ‘क्यामेरा एंगल मिलेन, अलि राम्रोसँग राखेर झुन्डिनु नि’ सम्मका कमेन्ट देखिएका थिए। यसले देखाउँछ हाम्रो स्तर के छ र कस्तो छ मानसिक स्वास्थ्यको प्रसंगमा ।
मानिस बोल्यो भने मात्रै पनि निकै खुल्ला महसुस गर्न सक्छ। कसैको छटपटीमा उसको कुरामा आपत्ति नजनाएर राम्रोसँग सुनी मात्रै दिन हो भने थुप्रै कुरा ठीक हुन सक्छन्। तर, कसैको कुरा सुन्नलाई मृत्यु कुर्न आवश्यक पार्नु हुँदैन। मानसिक स्वास्थ्यको बहस गर्न र यस विषयमा छलफल गर्न कोही एकको यही कारणले मृत्यु हुनुपर्ने नीति, नियम वा अरू केही, कतै छैन सायद। आफूलाई पागल भन्नेहरूबाट वाक्कदिक्क भएर महाकवि देवकोटाले आफू पागल भएको जस्तो गरी अबुझ र परपीडक जमातलाई नै लक्षणा र व्यञ्जनामा पागलको संज्ञा सायद उसै दिएका हैनन्।