मध्यपुर थिमिमा पर्यटन विकास समितिको शाखा गठन
भक्तपुर : भक्तपुर पर्यटन विकास समितिले जिल्लाको मध्यपुर थिमि नगरपालिकामा आफ्नो शाखा विस्तार गरेको छ। जिल्लाका चारवटै नपामा शाखा विस्तार गर्ने उद्देश्यअनुसार पहिलोपटक मध्यपुर थिमि नपामा शाखा गठन गरिएको समितिले जनाएको छ।
जसअनुसार स्थानीय पर्यटन व्यवसायी चन्द्र चक्रधरको संयोजकत्वमा पाँचसदस्यीय भक्तपुर पर्यटन विकास समिति मध्यपुर शाखा गठन गरिएको छ। शाखा सदस्यहरुमा सुरेन्द्रविक्रम प्रजापति, विनोद ब्रजाचार्य, राजु श्रेष्ठ र शौरभ थापा श्रेष्ठ रहेका छन्।
मध्यपुर थिमि नपामा शाखा विस्तारसँगै जिल्लाका सूर्यविनायक, चाँगुनारायणमा पनि शाखा विस्तार गर्ने तयारी गरिएको समितिका अध्यक्ष रामसुन्दर भेलेले जानकारी दिए।
उनका अनुसार भक्तपुर नगरपालिकामा जस्तै यहाँका बाँकी तीन नगरपालिका क्षेत्रमा पर्यटनको सम्भाव्यता र विकास गर्ने काम शाखाले गर्नेछ। भक्तपुरमा पर्यटन भन्नाले भक्तपुर नगर क्षेत्र र चाँगुनारायण नगर क्षेत्रको चाँगुनारायण मन्दिर र नगरकोट बढी चर्चामा छन्। ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक दृष्टिले यहाँका चारवटै नपा उत्तिकै महत्वपूर्ण छन् तर अन्य क्षेत्रमा पर्यटन विकास र विस्तार हुन सकेको छैन।
‘त्यसैले भक्तपुरका अन्य नगर क्षेत्रको पर्यटकीय सम्भाव्यता, विकास र विस्तार तथा व्यवहारिकता र दर्शनलाई केलाउँदै भक्तपुरको दिगो पर्यटन विकासमा उत्तरदायी अभ्यास गर्न समितिको शाखा विस्तार अघि बढाएका छौं’, अध्यक्ष भेलेले भने, ‘पर्यटनबाट हुने लाभ स्थानीय जनताको तल्लो तहसम्म वितरण हुनुपर्छ। स्थानीयमा उत्प्रेरणा, जनचेतना जगाउन शाखाले काम गर्नेछ।’ उनका अनुसार शाखाले युवाहरुलाई परम्परागत सीप र ज्ञान प्राप्त गर्न प्रोत्साहित गर्नेछ।
भक्तपुर पर्यटन विकास समितिले जिल्लाभर पर्यटनका गतिविधिमा व्यापकता, साझेदारी, समन्वय गर्ने काम गर्दै आएको छ। अहिले स्थानीय तहलाई बढी जिम्मेवार र अधिकार सम्पन्न बनाएकाले समितिले जिल्लामा गर्ने काम सम्बन्धित नपामा शाखाले गर्ने गरी समिति अघि बढेको समितिका महासचिव दीपेशराज शर्माले जानकारी दिए।
उक्त शाखाले मध्यपुर थिमि नपासँग समन्वय र सहकार्यमार्फ नगर क्षेत्रका पर्यटन व्यवसायीहरुलाई एकजुट गर्ने र मध्यपुरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने काम गर्ने उनले स्पष्ट पारे। मध्यपुर भक्तपुर जस्तै ऐतिहासिक नगर भएकाले यसलाई नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न शाखाले काम गर्ने संयोजक चक्रधरले बताए।
भक्तपुर र काठमाडौंबीच भएर पनि पर्यटकहरु मध्यपुरलाई उपेक्षा गरेर भक्तपुर र काठमाडौं पुग्ने अवस्थाको अन्त्य गर्दै काठमाडौंबाट भक्तपुर र भक्तपुरबाट काठमाडौं जाँदा मध्यपुर पुग्नैपर्ने अवस्था निर्माण गर्न शाखा क्रियाशील हुने उनले सुनाए। मध्यपुर थिमिमा बिस्का जात्रामा जिब्रो छेड्ने जात्रासँगै सिन्दूर जात्रा र ३२ खटको जात्रा हुन्छ। त्यस्तै गाईजात्रामा यहाँ नीलबाराही नाच, महाकाली नाच, भैरव नाच, देवी नाच प्रदर्शन गरिन्छ। त्यस्तै इन्द्र जात्रामा पनि जिब्रो छेड्ने जात्रासँगै इन्द्र अप्सरा नाच प्रदर्शन गरिन्छ। कृष्ण जन्माष्टमी धमधूम मनाइन्छ।
भक्तपुर, काठमाडौं र पाटनमा जस्तै यहाँ पनि तलेजू आगमछें रहेको छ। यहाँको चपाचो र बोडेमा छुट्टाछुट्टै लायकू (राजदरबार) रहेका छन्। सम्पदाका दृष्टिले बालकुमारी, सिद्धि गणेश, महालक्ष्मी, सिद्धिकाली, कुमारी, नीलबाराही, भैरव, विष्णुवीर, चाँगुनारायण, उमामहेश्वर मन्दिर रहेका छन्। यसबाहेक यहाँ विभिन्न देवदेवीका मठमन्दिर, पाटीपौवा, पोखरी, ढुंगेधारासमेत रहेका छन्।
कलाका दृष्टिले यहाँको माटोको भाँडाकुँडा बनाउने मृतिका कलाले मध्यपुर थिमि प्रसिद्ध रहँदै आएको छ। मध्यपुर थिमि नगर क्षेत्र व्यवसायिक तरकारी खेतीले पनि चिनिन्छ। यहाँ उत्पादित तरकारी विदेशसम्म पुग्दै आएको छ। यी सबै आधारलाई मजबुत बनाउँदै मध्यपुर थिमि नगर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शाखाले काम गर्ने भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष भेलेले स्पष्ट पारे।