पीसीआर परीक्षण नगरी घर जाँदैनौं भन्दै आइसोलेसनमै भोक हडताल

पीसीआर परीक्षण नगरी घर जाँदैनौं भन्दै आइसोलेसनमै भोक हडताल

सुर्खेत : कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्क स्थित आइसोलेसनमा रहेका कोरोना संक्रमित आन्दोलित भएका छन्। पीसीआर परीक्षणबिना घर नफर्किने भन्दै उनीहरु आन्दोलित भएका हुन्। 

आन्दोलनको पहिलो चरणमा उनीहरुले शुक्रबार भोक हडताल गरे। पीसीआर परीक्षण रिपोर्टबिना घर नफर्किने भन्दै उनीहरुले शुक्रबार दिनभर खाना नखाएर भोक हडताल गरेका हुन्। भोक हडतालको क्रममा उनीहरुले व्यवस्थापन पक्षले उपलब्ध गराइएको खाना नखाएर खुला चौरमै फालिदिएका थिए। सरकारले सार्वजनिक गरेको कोरोना भाइरस (कोभिड–१९) को नयाँ निर्देशिकामा कोरोना संक्रमित आइसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएमा पुन: पीसीआर परीक्षण नगरी घर पठाउने व्यवस्था छ। उनीहरुले पुन: पीसीआर परीक्षणबिना घर पठाउन नपाइने भन्दै विरोध जनाएका छन्। 

‘बरु महिनौं दिन आइसोलसेनमै बस्छौं। पुन: परीक्षण गर्दा पनि रिपोर्ट पोजिटिभ आयो भने आइसोलेसनमै ढुक्कसँग बस्न तयार छौं तर यसै घर जादैनौं’, एक संक्रमितले भने, ‘१४ दिन आइसोलेसन बसेकै भरमा कोरोनाको लक्षण छैन भन्दै घर पठाउन मिल्दैन। हामीलाई परीक्षण गरेको नेगेटिभ रिपोर्ट चाहिन्छ।’ 

    
सिटी बसपार्क स्थित निर्माण गरिएको आइसोलेसनमा सुर्खेतका २७ जना कोरोना संक्रमितलाई राखिएको छ। जसमा तीन जना महिला र २४ जना पुरुष छन्। उनीहरु मध्ये तीन जना आइसोलेसनमा बसेको १४ दिन पुगिसकेको छ। भने बाँकी अधिकांश व्यक्ति आइसोलेसनमा बसेको आठ दिनदेखि १२ दिन अवधि पुगेको छ। तर उनीहरु सबैले पीसीआर परीक्षणबिना घर नजाने दावी गरेका छन्। 

‘म कोरोना संक्रमिण हुँदा कुनै लक्षण थिएन। तर रिपोर्ट पोजिटिभ आयो। अहिले पनि उस्तै छु’, अर्का संक्रमितले भने, ‘यतिकै घर पठाइने हो भने म कोरोनाबाट निको भएँ, भइनँ भन्ने कुनै आधार हुँदैन।’ उनी जस्तै आइसोलेसनमा रहेका सबैले पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट लिएर गाउँ जाने बताएका हुन्। 

वीरेन्द्रनगर नगरपालिकाले आफ्नो पीसीआर परीक्षण नगरी घर पठाउने तयारी थालेको भन्दै उनीहरुले आपत्ति जनाए। पीसीआर परीक्षण नगरी घर नजाने र आन्दोलनका कार्यक्रम जारी राख्ने उनीहरुको चेतावनी छ।‘पीसीआर परीक्षणबिना सिधै गाउँ आएको गाउँलेले थाहा पाए भने हामीलाई अपहेलना गर्छन्। त्यसैले १४ दिन आइसोलेसन बसेर पुन पीसीआर परीक्षण गरेको रिपोर्ट चाहिन्छ’, एक संक्रमित युवकले भने, ‘नत्र हाम्रो कारणले समाजमा कोरोना फैलियो भने कसले जिम्मा लिन्छ ? सबै कोरोनाबाट बच्न र हाम्रो आत्मा सन्तुष्टिका लागि पनि अनिवार्य पीसीआर परीक्षण गरिनुपर्छ।’ 

यता वीरेन्द्रनगर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भुपेन्द्र गिरीले सबैले कोभिड–१९ को सरकारी निर्देशिका पालना गर्नुपर्ने बताए। ‘हामी निर्देशिका अनुसार आइसोलेसनमा बसेकाको पीसीआर परीक्षण गर्छौं’, उनले भने, ‘तर १४ दिनसम्म कुनै लक्षण नदेखिएका पनि पीसीआर परीक्षणबिना घर नजाने भन्न थालेपछि सबैको पीसीआर परीक्षण गर्नुपर्ने अवस्था आयो।’ उनका अनुसार आइसोलेसनमा बसेकाको पुन पीसीआर परीक्षण गर्न थालिएको छ। 

यसैबिच कर्णाली प्रदेशमा शुक्रबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एकहजार सातसय ३३ पुगेको छ। 

हालसम्म कर्णालीमा एकहजार चारसय ९३ जना कोरोना जितेर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.