फास्ट ट्रयाकविरुद्ध खोकनाबासीको रोपाइँ (फोटो/भिडियो)
काठमाडौं : गाउँमा विकास नहुँदा आन्दोलन हुन्छ । तर, ललितपुरको खोकनाबासीले विकासविरुद्ध निरन्तर आन्दोलन चर्काइरहेका छन् । ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक क्षेत्रमा धेरै आयोजना परेको भन्दै स्थानीय आक्रोशित छन् । एउटै क्षेत्रमा काठमाडौं तराई मधेस फास्ट्रयाक, १३२ केभीए हाइटेन्सन लाइन, बाहिरी चक्रपथ, बागमती करिडोर, स्मार्ट सिटी, पेट्रोलियम भण्डार, काठमाडौं रेलवे लगायतका योजना परेको भन्दै खोकनाबासी आन्दोलिन भएका हुन् ।
शनिबार बिहान फास्ट्रयाकको प्रस्तावित ० किलोमिटरमा खोकनाबासीले बृहत रोपाइ गरे । जनसरोकार समिति खोकना, ललितपुर नै गठन गरेर स्थानीय आन्दोलित भएका हुन् । सयौंको संख्यामा खोकनाको सिकाली चौरमा भेला भएर खुदोल फाँटमा धान, मकै र भटमास रोपेका हुन् ।
यसअघि उक्त फाँटमा भेला भएर स्थानीयले विरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । शनिबार भने सयौंको संख्यामा प्रहरी उपस्थित भए पनि स्थानीयले विरोध स्वरुप धान, मकै र भटमास रोपेको सुरक्षाकर्मीले रमिता मात्र हेरेका थिए । खोकनाको खुदोल फाँटमा पुगेर अन्नपूर्णकी फोटो पत्रकार सुनिता डंगोलले कैद गरेका तस्बिर र भिडियो :