बैतडी पुग्यो सलह
बैतडी : बैतडीका विभिन्न ठाउँमा सलहको झुण्ड पुगेको छ। बैतडीको मेलौली नगरपालिकाका विभिन्न स्थान र पाटन नगरपालिकाका विभिन्न स्थानमा सलह झुण्ड देखिएका स्थानीयले बताएका छन्।
मेलौलीको वडा नं १ नंगरौंमा सलहको झुण्ड देखिए पनि बारीमा भने बस्न नपाएको स्थानीय लक्ष्मण पार्कीले जानकारी दिए। सलहको झुण्ड देखिएपछि किसान चिन्तित बनेका छन्। उनले भने, ‘अकाशमा सलहको ठूलो झुण्ड देखिएको छ। तर बारीमा बस्न दिइएको छैन। सलह आएपछि किसान चिन्तित बनेका छन्।’
यस्तै मेलौली नगरपालिकाको स्वापानी, दोबटा लगायतका ठाउँमा सलहको झुण्ड देखिएको मेलौली नगरपालिका वडा नं २ का वडा अध्यक्ष महेन्द्रबहादुर चन्दले जानकारी दिए । सलहको झुण्ड अहिले जंगलमा भए पनि बारीमा पस्ने भन्दै किसान चिन्तित बनेका उनले बताए। उनले भने, ‘सलहको ठूलो झुण्ड हाम्रो गाउँमा आइपुगेको छ। यसले बालीनालीमा क्षति पुर्याउने भन्दै किसानहरु चिन्तित बनेका छन्।’
पाटन नगरपालिकाको वडा नं १ मा पनि सलहको झुण्ड देखिएको स्थानीय मोहनसिंह रावलले बताए। सलहको झुण्ड आकाशमै उडिरहेको, खेतबारीमा भने नबसेको उनले बताए। उनले भने, ‘दिउँसो १ बजेदेखि सलहको झुण्ड अकाशमा उडिरहेको छ। किसानले आफ्नो बारीमा पहरा दिइरहेका छन्।’
जिल्लाका विभिन्न स्थानमा सलह देखिएपछि किसान चिन्तित छन्। जिल्लामा सलह भित्रिएको बारेमा जानकारी नआएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। उनले भने, ‘हामीलाई सलह भित्रिएको बारेमा जानकारी छैन। सलह आइहालेमा थाल, बाजा बजाएर धपाउन सकिन्छ। किसानहरुले आफ्नो बारी जोगाउन थाल, बाजा बजाएर बस्नुपर्ने हुन्छ। सलहको झुण्ड बारीमा पसेमा यसले ठूलो क्षति निम्त्याउँछ।’
यो वर्ष मकैबालीमा फेदकटुवा र फौजी किराले सखाप पारेको र त्यसमा सलहसमेत भित्रिएपछि मकै उत्पादनमा कमी आउने देखिएको छ। बैतडीमा १४ हजार ५ सय हेक्टर जमिनमा मकै खेती हुँदै आएको छ। मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा विभिन्न किसिमले क्षति पुग्दा किसानहरु भोकमरी हुने भन्दै चिन्तित बनेका छन्।