गर्भवतीको उद्धार
बनेपा : काभ्रेको डाँडापारिस्थित महाभारत गाउँपालिका–२ गोकुलेकी गर्भवती शनिवार हेलिकप्टरबाट उद्धार गरिएको छ ।
दुई दिनदेखि ब्यथा लागेर गम्भीर भएकी १९ वर्षीया सुनिता थोकरको हेलिकप्टरमार्फत उद्धार गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।
हेलिकप्टर उडानको लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय काभ्रेसँग अनुमति माग गरे अनुसार प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति लिएको थियो ।
गोकुले स्वास्थ्य चौकीका इन्चार्ज प्रविण कुँवरका अनुसार सुत्केरी ब्यथाका कारण साउन २ गते दिउँसो स्वास्थ्य चौकीमा आएकी गर्भवतीमा विभिन्न समस्या देखिएपछि उद्धारका लागि हेलिकप्टर बोलाइएको हो ।
जिल्लाको महाभारत गाउँपालिका जोड्ने सबै सडक सञ्जाल वर्षाका कारण अवरुद्ध भएर सवारीसाधन समेत चल्न नसकेकोले हेलिकप्टरमार्फत उद्धार गर्नुपरेको गाउँपालिका अध्यक्षले जिम्बाले बताए ।