अस्ताए ‘लाटोसाथी’

अस्ताए ‘लाटोसाथी’

काठमाडौं‘ : नेपाली मेरो मातृभाषा। संस्कृत मेरो पितृभाषा अनि अवधी मेरो माटोको भाषा’, तीनवटै भाषामा दक्खल भएका प्राध्यापक डा. विष्णुराज आत्रेय ‘लाटोसाथी’ भन्ने गर्थे। उनले तीनवटै भाषामा महाकाव्यसमेत लेखेका छन्। घरपरिवारमा बोलचालको भाषा संस्कृत बनाउने उनले ४२ वर्ष संस्कृत भाषाको अध्यापन गरे। संस्कृत भाषा र व्याकरणका प्रकाण्ड विद्वान् उनै लाटोसाथीको शनिबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

‘विष्णुराज र लाटोसाथी दुई अलग नाम हुन्। यो मेरो उपनाम होइन’, वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. लेखप्रसाद निरौलाले आत्रेयको विगतका संवाद सुनाए, ‘शास्त्रीय खोज र अनुसन्धानमा म विष्णुराज अनि साहित्यिक कर्ममा म लाटोसाथी। लाटोसाथी स्वयम्भू नाम हो उसका आमाबाबु छैनन्।’

उनका अनुसार, वाल्मीकि राजकीय संस्कृत महाविद्यालयमा राजपत्रांकित तृतीय श्रेणीको प्राध्यापक पदबाट सुरु गरी त्रिभुवन विश्वविद्यालयमा आचार्य विभाग हुँदै संस्कृत विश्वविद्यालय गरी ४२ वर्ष आत्रेयले संस्कृत भाषा प्राध्यापन गरे। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भने, ‘आत्रेयले जन्म जिल्ला कपिलवस्तुमा करिब एक बिघा जमिनमा साहित्य ग्राम स्थापना गरी २१ जना साहित्यकारको सालिक स्थापना गरिसक्नुभएको छ।’ आत्रेय प्राज्ञसभा सदस्य हुँदा यसको प्रस्ताव ल्याएको र कविशिरोमणि लेखनाथ पौड्यालको प्रतिमा आफूले उपलब्ध गराएको उप्रेतीले स्मरण गरे।

साहित्य ग्राम र सालिक स्थापनामा सहकार्य गरेका धर्मराज बरालले साहित्यमा विशिष्ट ख्याति कमाएका सबै स्रष्टाको सालिक एक ठाउँमा स्थापना गर्ने आत्रेयको सपना एक हदसम्म पूरा भए पनि त्यसलाई बाँकी स्रष्टाले पूर्णता दिनुपर्ने बताए। उनले भने, ‘सम्भवतः संस्कृत भाषामै यो आधुनिक समयसम्म सपरिवार बोलचाल गर्ने एक मात्र घर आत्रेयकै हुन सक्छ।’ इतिहासविद् दिनेशराज पन्तले संस्कृत पढ्ने धेरै भए पनि जीवनभर आत्मसात् गर्ने र औपचारिक शिक्षा हासिल नगर्ने पत्नी र सबै छोराछोरीलाई संस्कृत बोलीचालीको भाषा बनाउन सक्ने खुबीले आत्रेय सधैं जीवन्त भएको बताए। उनले भने, ‘बुवा नयराज पन्तलाई भेट्न घरमा आइरहने र संस्कृत भाषा र व्याकरणबारे कुरा हुन्थ्यो। कसैले संस्कृतविरुद्ध बोले आक्रामक ढंगले प्रस्तुत हुनुहुन्थ्यो।’ आत्रेयका अनुसन्धान र सिर्जना गरी ३८ कृतिमध्ये ७ वटा संस्कृत भाषामा छन्।

आत्रेयका मित्र डा. सुबोधकुमार शुक्लका अनुसार, संस्कृत–उर्दु शब्दकोश, संस्कृत–अंग्रेजी–नेपाली शब्दकोश, संस्कृत–नेपाली तद्भव कोश, हिमालयो नाम नगाधिराजजस्ता कोश र कृति लेखेर आत्रेय संस्कृत भाषाको आधारस्तम्भ बन्नुभयो। उनले भने, ‘उहाँका बाजे रश्मीराज अर्याल पनि संस्कृतमा विद्वान् अनि रश्मीका हजुरबुबा पण्डित जगन्नाथ अर्याल त विश्वस्तरीय संस्कृतमा संस्कृतज्ञमा गणना भएका विद्वान्। बाजेबराजुको बिँडो थाम्ने नातिपनाति पुस्ता विष्णुराज।’ उनका अनुसार, हनुमानभक्त आत्रेयलाई काठमाडौं उपत्यकाका सबैजसो हनुमानका मूर्तिबारे स्थान र जानकारी थियो।

 आत्रेयले हनुमान चरित्रबारे ‘हनुमदमनम्’ नामको पुस्तक संस्कृत भाषामै लेखेका थिए। जेठो छोरा आलोकका अनुसार, पित्तथैलीमा क्यान्सर भएका कारण झन्डै १० महिनादेखि थलिएका बुवा विष्णुराजको शुक्रबार राति १० बजे निधन भएको हो। उनका अनुसार, विष्णुराजको संस्कृतमै लेखिएको वररुचिकाद्यायन पुस्तक प्रकाशोन्मुख छ। योगका प्रवर्तक पतञ्जली र पाणिनिबारे लेखिएका सोही नामका दुई पुस्तक उनका खोजमूलक र चलेका पुस्तक हुन्। विष्णुराजका पत्नी, तीन छोरी र दुई छोरा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.