कोरोना संक्रमणमा विश्वव्यापी कीर्तिमान
कोरोना भाइरसको महामारी सुरु भएयता पहिलोपटक विश्वभरिको दैनिक थप संक्रमितको संख्या अढाइ लाख नाघेको छ । करिब दुई लाख ६० हजार मानिस थप संक्रमित भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । त्यसमा सबैभन्दा धेरै नयाँ संक्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका छन् । संसारभरि कोभिड-१९ का कारण ज्यान गुमाउनेहरूको संख्या छ लाख नाघेको छ । त्यसको एक चौथाइ अमेरिकाका छन् ।
एकैदिनमा संसारभरि मारिनेहरूको संख्या ७,३६० पुगेको छ जुन मे १० तारिख यता भएको सबभन्दा धेरै दैनिक वृद्धि हो। शनिवार कुल संक्रमितहरूको संख्या एक करोड ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
अमेरिकाका कयाै राज्यहरूमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । खासगरि सुरुमै कडा लकडाउन लागु गर्न तथा मास्क लगाउन आदेश दिन हिच्किचाएका दक्षिणी राज्यहरूमा अहिले धेरै संक्रमण फैलिएको छ ।
फ्लोरिडा, एरिजोना तथा टेक्ससमा धेरै बढेको छ । हाल फ्लोरिडा अमेरिकाभित्र संक्रमणको केन्द्रविन्दु बनेको छ। त्यहाँ शनिवार एकैदिन १०,००० भन्दा धेरै थप संक्रमित पाइएका थिए । त्यहाँ कुल संक्रमितको संख्या सवा तीन लाख नाघेको छ भने ज्यान गुमाउने संख्या ५,००० भन्दा धेरै छ । त्यहाँका अस्पतालहरूले उनीहरूको सघन उपचार कक्ष उच्च क्षमतामा चलिरहेको र नयाँ बिरामी लिन नसक्ने अवस्थामा पुगेको बताएका छन् । संक्रमण रोक्न मास्क लगाउने विषयको अमेरिकामा राजनीतिकरण भएको छ ।
अमेरिकाको संक्रामक रोगका वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय नेताहरूलाई मास्क लगाउन कडिकडाउ गर्न शुक्रवार आग्रह गरेका थिए । तर लगत्तै राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय तहमा मास्क लगाउने विषयलाई आफूले अनिवार्य नगराउने बताए । अमेरिकापछि दोस्रो स्थानमा ब्रजिल रहेको छ। त्यहाँपनि संक्रमण रोक्न चालिने कदमहरूको अत्यन्तै राजनीतिकरण भएको थियो ।
तेस्रो स्थानमा रहेको भारतमा संक्रमण उच्च विन्दुमा पुग्न अझै महिनौँ लाग्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। धेरै प्रभावित मुम्बई तथा बंग्लुरुजस्ता शहरमा अस्पतालहरू अत्यन्त चापमा चलिरहेका छन् ।
भारतमा बितेको २४ घण्टामा मात्रै थप ३४,८८४ संक्रमित पाइएका थिए । यो अवधिमा ६७१ जनाले ज्यान गुमाएका थिए।
दक्षिण अफ्रिकामा दैनिक वृद्धिमा कीर्तिमान भइरहेको छ। युरोपेली देशहरूमा बिस्तारै संक्रमण नियन्त्रित हुँदै गर्दा स्थानीय स्तरमा भने कतिपय ठाउँमा संक्रमण बढिरहेका छन्।