बाजुराका ९ स्थानीय तहको २९ करोड बढी बेरुजु
बाजुरा : हरेक वर्ष जिल्लाका स्थानीय तहमा बेरुजु बढ्दो क्रममा रहेको छ।अघिल्लो वर्षको तुलनामा यो वर्ष ९ वटै स्थानीय तहमा निकै बढी बेरुजु आएको महालेखा नियन्त्रको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
दुई आर्थिक वर्षमा मात्र २९ करोडभन्दा बढी बेरुजु रहेको महालेखाको प्रतिवेदनले देखाएको छ।केही कागज नमिलाएको र केही अनियमित तरिकाले भ्रष्टाचार भएको रकम असुल गर्ने महालेखाको कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७४।०७५ र ०७५।०७६ मा ९ वटै स्थानीय तहको २९ करोड ११ लाख ९२ हजार बेरुजु रहेको देखाएको छ ।
सबै भन्दा बढी बुढिनन्दा नगरपालिकाको रहेको छ भने सबै भन्दा कम बडिमालिका नगरपालिकाको रहेको छ । बुढिनन्दा नगरपालिकाको ६ करोड २९ लाख ५२ हजार रहेको छ भने बडिमालिका नगरपालिका ९५ लाख २१ हजार मात्र रहेको छ ।
त्यसैगरी दोस्रोमा हिमाली गाउँपालिकामा ६ करोड २३ लाख ७ हजार रहेको छ । जगन्नाथ गाउँपालिकामा २ करोड २९ लाख ३ हजार रहेको छ । त्यस्तै गौमुल गाउँपालिकामा २ करोड ३३ लाख ९० हजार,त्रिबेणी नगरपालिकामा १ करोड ८२ लाख २५ हजार, बुढिगंगा नगरपालिकामा १ करोड ४२ लाख ४३ हजार, स्वामीकार्तिक खापर गाउँपालिकामा ४ करोड ८९ लाख ८३ हजार बेरुजु रहेको छ भने खप्तड छेडेदह गाउँपालिकामा ३ करोड १२ लाख ७८ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
विनियोजित बजेटको आधारमा सबैभन्दा बढी हिमाली गाउँपालिकामा रहेको छ । हिमाली गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी १३ दशमलव ०३ प्रतिशत बजेट निकासी भएको छ भने दोस्रोमा स्वामीकार्तिक खापर गाउँपालिका रहेको छ। जसमा ७ दशमलव ७८ प्रतिशत रहेको छ । सबैभन्दा कम बजेट सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकामा रहेको छ
सो नगरपालिकामा १ दशमलव २४ प्रतिशत रहेको छ । त्यसैगरी बुढिनन्दा नगरपालिकामा ७ दशमलव १७ प्रतिशत रहेको छ । जगन्नाथ गाउँपालिकामा ४ दशमलव ७४ प्रतिशत, गौमुल गाउँपालिकामा ४ दशमलव ६२ प्रतिशत, खप्तड छेडेदह गाउँपालिकामा ४ दशमलव १३ प्रतिशत, बुढिगंगा नगरपालिकामा १ दशमलव ८७ प्रतिशत र त्रिबेणी नगरपालिकामा २ दशमलव ६६ प्रतिशत बजेट आएको छ ।