महामारीमा मौलाएको राष्ट्रवाद

महामारीमा मौलाएको राष्ट्रवाद

स्टिभन सोडरवर्गद्वारा निर्देशित हलिउड थ्रिलर मुभी ‘कन्टाजिअन’ ले सन् २०११ मा खुब चर्चा पायो। काल्पनिक भाइरसले निम्त्याएको विश्वव्यापी महामारी फिल्मको मुख्य कथावस्तु थियो। उक्त फिल्ममा वेथ इमहोफको भूमिका निर्वाह गरेकी नायिका ग्वोनेथ पाल्ट्रो हङकङको व्यापारिक भ्रमण गरेर अमेरिका फर्केकी हुन्छिन्। अमेरिका फर्किना साथ उनमा कहिल्यै नदेखिएको अनौठो खालको रोग देखा पर्छ र रोग लागेको केही समयमा नै उनको मृत्यु हुन्छ। उनको मृत्युपश्चात एकपछि अर्को गर्दै अन्य मानिसहरूमा उक्त रोगको लक्षण देखा पर्छ र धेरै मानिस मर्छन्। रोगले महामारीको रूप लिन्छ। फिल्ममा संक्रमित मानिसलाई छुँदा या संक्रमित मानिसले छोएको वस्तु अर्को मानिसले छुँदा भाइरस सर्छ। फिल्ममा संक्रमित चमेरोमा भएको भाइरस सुँगुरमा र सुँगुरबाट मानिसमा सरेको देखाइएको छ।

नौ वर्षअघिको काल्पनिक फिल्ममा देखाइएको क्वारिन्टिन, रित्ता सडक, सुनसान एयरपोर्ट, खालि पसलहरू, हतास र भयभित अनुहारहरू आज विश्वभर यथार्थमा देखिएको छ। पर्यटकको अत्यधिक चहलपहल हुने चीनको ग्रेटवाल सुनसान छ, कहिल्यै नसुत्ने सहर भनेर चिनिने अमेरिकाको न्युयोर्क चकमन्न छ, बत्तीको सहर भनेर चिनिने फ्रान्सको पेरिस मौन छ भने अनन्तको सहर भनेर चिनिने इटालीको रोम रोइरहेको छ। आज विश्वका सारा मानिस अदृष्य दुस्मनका कारण उत्पन्न डरसँग लडिरहेका छन्। बहादुरीले नभई कायरताले।

कोभिड—१९ ले व्यक्तिको रोग प्रतिरक्षा शक्तिको मात्र परीक्षण गरेको छैन, देशको व्यवस्थापन क्षमता र नेताको नेतृत्वको पनि परीक्षा लिइरहेको छ। यस परीक्षामा कोही सफल भइरहेका छन् भने कोही असफल। कोभिड—१९ ले निम्त्याएको संकट व्यवस्थापनमा महिला नेतृत्व अब्बल सावित भएका छन्। न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डेन, ताइवानकी राष्ट्रपति त्से इन्ग वेन, डेनमार्ककी प्रधानमन्त्री मैट फ्रेडरिक्सन, जर्मनीकी चान्सलर ऐंगेला मर्केल र फिनल्याडकी प्रधानमन्त्री इर्ना सोल्वर्ग कोभिड— १९ व्यवस्थापनमा सफल महिला नेतृहरू मानिएका छन्। अर्कोतर्फ आफूलाई राष्ट्रवादी भन्न रुचाउने लोकप्रियवादी धारका नेताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्राजिलियन राष्ट्रपति जायर वोल्सोनारो, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यो महामारीलाई व्यवस्थापन गर्न संघर्ष गरिरहेका छन्। कर्तव्यबोधसहितको सहानुभूति, जनताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकता, विज्ञहरूको सुझावको गाम्भीर्यताको बोध, उचित योजना र त्यसअनुसारको काम गरेका कारण महिला नेतृहरू सफल भएको विश्लेषण गरिएको छ। अर्कोतर्फ आम जनभावनाको आफूले प्रतिनिधित्व गर्ने भान हुनु, आशावादी पूर्वाग्रह, नेतृत्वमा देखिएको अस्पष्टता, र विज्ञहरूको सुझावको बेवास्ता गरेका कारण लोकप्रियतावादी नेताहरू यो महासंकटको व्यवस्थापन गन असफल हुनुको निश्कर्ष निकालिएका छन्।

सन् १९८९ मा बर्लिनको पर्खाल ढलेसँगै फैलिएको भूमण्डलीकरण तीन दशकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिमानामा पर्खाल बनाउने नीतिले कमजोर बनिरहेको अवस्थामा कोरोना महासंकटले झन् खुम्चिने आकलन गरिएको छ। ट्रम्पको अमेरिका पहिलो नीति, बेलायतको युरोपियन युनियनबाट अलग्गिने कदम, वोल्सोनारोको ‘सबैभन्दा माथि ब्राजिल’ अर्थात् प्रधानमन्त्री मोदीको मेक इन इन्डियाजस्ता राष्ट्रवादी नाराले संरक्षणवादलाई प्र श्रय दिँदै आएको अवस्थामा हालको परिस्थितिले राष्ट्रवादलाई झन् मजबुत बनाइदिएको छ। चीन निर्भर सप्लाइ चेन अर्थात् आपूर्ति शृंखलाका कारण महामारीसँग लड्न आवश्यक पर्ने सामग्रीको अभाव भोगेका अमेरिकालगायत युरोपेली राष्ट्रहरूले स्वदेशी उत्पादनलाई बढाव दिन दबाब परेको छ। कोरोना संक्रमित देशहरू प्रायको हालको पहिलो प्राथमिकता संकटलाई व्यवस्थापन गर्ने र खस्किएको अर्थतन्त्र कसरी उकास्ने भन्ने रणनीतिमा केन्द्रित छन्। अमेरिका, चीन, रूस, बेलायत र अन्य युरोपेली राष्ट्रहरू कोरोनाविरुद्धका खोप र औषधि कसले पहिले बजारमा ल्याउने भन्ने दौडमा केन्द्रित छन्। कोरोनाविरुद्धको खोपको अविष्कारलाई राष्ट्रिय गौरव र अर्थतन्त्र मजबुतीकरणको मानकका रूपमा यी राष्ट्रहरूले हेरेका छन्।

कोरोना महासंकटसंग विश्वका राष्ट्रहरू सहकार्य र सामूहिक प्रयासमा भन्दा पनि एक्लाएक्लै लडेका छन् र धेरै राष्ट्रहरू असफल भइरहेका छन्। जुन असफलताको दोषबाट उम्कन कतिपय राष्ट्रवादी नेताहरूले आन्तरिक राजनीति र अन्तर्राष्ट्रिय भूराजनीतिसँग जोडेर जनताको ध्यानलाई डाइभर्ट गर्ने कोसिस गरिरहेका छन्। महामारीको वाइप्रोडक्टका रूपमा मौसमी राष्ट्रवादको खेती गरिरहेका छन्। अमेरिका चीनको आरोप÷प्रत्यारोप,भारत चीनको सिमाना विवाद, चिनियाँ टेलिफोन कम्पनी हुआवेसँग बेलायतले गरेको फाइव जिनेट वर्क सम्झौता रद्द, चीनको हङकङ सुरक्षा नीति, इरान र चीनबीचको नयाँ सम्झौता केही यसका उदहारण हुन्।

नेपालमा मौलाएको मौसमी राष्ट्रवाद अरूको भन्दा भिन्न छ। अरू राष्ट्रको राष्ट्रवाद कोरोना नियन्त्रण, स्वदेशी उत्पादन र अर्थतन्त्रको व्यस्थापनमा केन्द्रित छ भने नेपालमा सत्ताकेन्द्रित र छिमेकीहरूसँगको सम्बन्धसँग जोडिएको छ। त्यसो त नेपालको राष्ट्रवाद भारतसँगको सम्बन्धसँग मात्रै जोडिन्थ्यो तर विगत केही महिनायताको घटनाक्रम हेर्ने हो भने राष्ट्रवादका विभिन्न आयाम देखिएका छन् र जनमत पनि सोहीअनुसार विभिन्न कित्तामा विभाजित छ। प्रधानमन्त्री ओलीको समर्थन गर्नेले आफूलाई राष्ट्रवादी कित्तामा उभ्याएका छन् र उनीहरूको नजरमा ओलीको विरोध गर्ने र उनको राजीनामा माग्ने लम्पसारवादी, एमसीसीको विरोध गर्ने राष्ट्रवादी र उनीहरूको नजरमा त्यसको समर्थन गर्ने अमेरिकी एजेन्ट, चिनियाँ राजदूत हाउयन्छीको राजनीतिक दौडधुपलाई सहज लिनेहरू राष्ट्रवादी र उनीहरूको नजरमा त्यसको विरोध गर्नेहरू भारतीय दलाल। नागरिकता विधेयकको समर्थन गर्ने राष्ट्रवादी र उनीहरूको नजरमा यसको विरोध गर्ने कम राष्ट्रवादी।

यसैबीचमा व्यवहारिक राष्ट्रवादको केही राम्रा दृष्यहरू पनि देखिए। भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक सम्मिलित नक्सा सार्वजनिक गर्नु। संसद्मा सर्वसम्मतिले संविधान संशोधन गरेर उक्त नक्सालाई निशान छापमा समावेश गर्नु। भारतीय सञ्चारमाध्यमले नेपालका प्रधानमन्त्री र चिनियाँ राजदूतलाई जोडेर तल्लो स्तरको सामग्री बनाएर प्रस्तुत गरेको प्रपोगान्डाको एकै आवाजमा विरोध गर्नु, ती अराजक सञ्चारमाध्यम बन्द गर्नु र त्यसमा जनताले ऐक्यबद्धता जनाउनु।

दलभित्र राजीनामाको दबाब बढ्दै गर्दा प्रधानमन्त्री केपी ओलीले पछिल्लो पटक सांस्कृतिक राष्ट्रवादको कार्ड प्रयोग गरेका छन्। नक्कली अयोध्या बनाएर भारतले नेपालमाथि सांस्कृतिक अतिक्रमण गर्‍यो। राम नेपालमा जन्मिएका हुन् र अयोध्या नेपालमा पर्छ भन्ने प्रधानमन्त्रीको भनाइ अहिले नेपाल र भारत दुवै देशमा चर्चाको विषय बनेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपालमा समर्थन र विरोधमा जनमत विभाजित छ। समर्थनमा भन्दा विरोधमा धेरै जनमत देखिएको छ। भारतमा गोदी मेडिया र भाजपाले प्रधानमन्त्रीको भनाइको चर्को विरोध गरेका छन्।

नेपालको सबैभन्दा ठूलो समस्या विकृत राजनीति नै हो। विकृत राजनीति मौलाउनुको कारण सहीलाई सही र गलतलाई गलत भन्न नसक्ने कार्यकर्ता र सही नेतृत्वलाई चुन्न नसक्ने जनता नै हो।

प्रधानमन्त्रीको अभिव्यक्तिको समय सन्दर्भलाई हेर्ने हो भने कोरोनाको कहरले आक्रान्त भएका जनता प्राकृतिक कहरसँग जुधिरहेका बेला आएको थियो। अविरल वर्षाका कारण पहाडमा बाढी र पहिरोले जनताको ज्यान लिइरहेको थियो भने तराई डुवानमा थियो। प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिसँगै सञ्चारमाध्यममा बाढीपहिरोले क्षति गरेको जनधनको अपडेटहरू पनि आइरहेका थिए। बाढीपहिरोले सिन्धुपाल्चोकको बाह्रविसेमा २० जना, जाजरकोटको बोरेकोटमा ११ जना, संखुवासभामा ११ जना, म्याग्दीमा ३२ जना, कास्कीमा सातजना बेपत्ता भएका खबर आइरहेका थिए। कोशी र गण्डकी बाँधको ढोका भारतले नखोलिदिँदा त्यसवरिपरिका क्षेत्र जलमग्न भएका थिए। जनता भारतले बाँधको ढोका खोल्छ कि भन्ने आश र बाढीले सखापै पार्छ कि भन्ने त्रासमा बाँचेका थिए। जनताले जनधनको क्षति व्यहोरिरहेको समयमा पौराणिक कालका रामको जन्मसम्बन्धी आएको विवादित अभिव्यक्तिलाई कुन राष्ट्रवाद मान्ने आफैंमा अहं प्रश्न हो। यसको आलोचना पनि भएको छ।

भारतीय प्रधानमन्त्री मोदीले बुद्ध भारतमा जन्मिएको हो भन्न हुने नेपालका प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मिएका हुन् भन्न किन नहुने जिकिर समर्थकहरूको छ। राम नेपालमा जन्मेका हुन् भन्ने दलिल पेस गरिएका छन्। ठोरीमा संसारकै सबैभन्दा ठूलो राममन्दिर निर्माण गर्ने उद्घोषका आवाजहरू पनि सुनिएका छन्। रामको जन्म कहाँ भएको हो भन्ने कुरा धार्मिक र पुरातात्विक बहस र खोजतलासको विषय बन्न सक्ला तर प्रधानमन्त्रीले राजनीतिक रंग दिएर धार्मिक आस्थासँग सम्बन्ध राख्ने संवेदनशील विषयमा अभिव्यक्ति दिनु कुनै पनि हालतमा सही हुन सक्तैन। मोदीले बुद्ध भारतमा जन्मेको भन्न हुने तर ओलीले राम नेपालमा जन्मेको हो भन्न किन नहुने भन्ने तर्क आफैंमा कुतर्क हो। बुद्धको जन्मस्थलका सम्बन्धमा मोदीको झुठलाई गलत सावित गर्ने अकाट्य प्रमाण नेपालसँग हुँदाहँुदै रामको सहारा लिन आवश्यक किन पर्‍यो ? मोदीको झुठको विरुद्धमा देश विदेशमा रहेका नेपालीले ‘बुद्ध वाज वोर्न इन नेपाल’ भन्ने प्लेकार्ड बोकेर प्रदर्शन गरिरहँदा सरकारले आफ्ना कूटनीतिक निकायमार्फत मोदी भ्रमलाई चिर्ने प्रयास किन गरेन ? भारतले नक्कली लुम्बिनी बनाइरहँदा सक्कली लुम्बिनीको संरक्षण, संवद्र्धन र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विश्वव्यापी प्रवद्र्धन गर्न कसले रोक्यो। यहाँसम्मकी विकिपेडियामा गौतम बुद्ध प्राचीन भारतमा जन्मिएका हुन् भनिएको छ र भारतको उत्तर प्रदेशको सर्नाथकस्थित बुद्धको मूर्ति विकिपेडियामा राखिएको छ। सरकारका तर्फबाट किन त्यसको खण्डन भएको छैन ? विकिपेडियालाई आधिकारिक तथ्य समावेश गर्न किन पहल गरिएको छैन। साँच्चिकै सांस्कृतिक राष्ट्रवादको कुरा गर्ने हो भने पहिले बुद्ध र लुम्बिनी विकासका लागि इमानदारी देखाउँदा, पशुपतिमा नेपाली पुजारी राख्ने हिम्मत गर्दा,त्यसपछि मात्र राम र अयोध्यको कुरा गर्दा मुनासिव होला।

नेपालमा हाल सुनिएको राष्ट्रवादका केही आवाजहरूमा २० औं शताब्दीका बेलायती जिंगोइज्म र १९ औं शताब्दीको फ्रान्सेली काउभेनिज्मको प्रतिध्वनिहरू मिसिएका छन्। परिआए भारतसँग लड्नुपर्छ, सतलजदेखि टिस्टासम्मको भूभाग फिर्ता लिनुपर्छ,,परमाणु बम बनाउनुपर्छ भन्नेसम्मका आवाजहरू सुनिएका छन्। यी आवाजहरू सुन्नमा मिठो सुनिए पनि व्यवहारिक शून्य छन्। नेपालको राष्ट्रवाद शक्तिशाली भन्दा पनि समृद्धशाली बन्नेतर्फ नै उन्मुख हुनुपर्छ।

छिमेकीहरूसँगको सम्बन्ध बिग्रनुमा नेपाल कमजोर भएर भन्दा पनि शासक वर्गको कमजोरीले गर्दा हो। राणा हुन् या राजा र त्यसपछिका राजनीतिक दलका नेताहरू जोजो सत्तामा रहे, सत्तामा टिकिरहन छिमेकीकै साथको अपेक्षा गरिरहे। सोहीअनुरूप छिमेकी विशेष गरी भारतले नेपालका शासकहरूलाई आफ्नो स्वार्थअनुरूप प्रयोग गरयो। नेपालका शासकहरूले भारतको ज्यादती देखे पनि नदेखे झैं गरे। कतिपय नसुल्झिएका मुद्दाहरूलाई, कूटनीतिक भाषामा प्रयोग हुने भनाइ ‘लेट द स्लिपिङ डग’ लाई अर्थात् सुतिरहेको कुकुरलाई नउठाउँ भन्ने सूत्रको प्रयोग गरे। कालापानीको समस्या त्यसैको परिणाम हो। अहिले दुईतिहाइको सरकार पनि किन अस्थिर देखिन थालेको छ त भन्दा, सत्ताको बागडोर सम्हाल्नेले देश विकासभन्दा एकलौटी ढंगले शक्तिको अभ्यास गर्न लागे भने सत्ताको शक्ति अभ्यास गरिसकेका तर हाल सत्ताबाहिर रहेकाहरू पाँच वर्षसम्म धैर्य गर्न सकिरहेका छैनन्। यसै बेलामा छिमेकीले सत्ता राजनीतिमा खेल्ने मौका पाएका छन्। समस्या आन्तरिक नै हो। त्यही समस्याको फाइदा बाहिकाले लिने हुन्।

नेपालको सबैभन्दा ठूलो समस्या विकृत राजनीति नै हो। विकृत राजनीति मौलाउनुको कारण सहीलाई सही र गलतलाई गलत भन्न नसक्ने कार्यकर्ता र सही नेतृत्वलाई चुन्न नसक्ने जनता। उदाहरणका लागि नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले म त चारपटक प्रधानमन्त्री भइसकेको मान्छे तपाईंहरू यस्तै हिसाबले प्रधानमन्त्री हुन सक्नुहुन्छ ? लाज पनि छैन भनेर गाली गर्छन् उपस्थित कार्यकर्ता गज्जबले ताली पिट्छन्। राजनीति गर्नुको उद्देश्य केवल प्रधानमन्त्री बन्नुमात्र हो र ? भनेर प्रश्न गर्दैनन्। कोरोना महामारीमा प्रधानमन्त्रीको राजीनामा माग्ने सही समय होइन भनेर एमालेका कार्यकर्ताहरू प्रचण्ड, माधव र झलनाथ खनाललाई भन्न सक्तैनन्, प्रधानमन्त्रीले सभामुख, विपक्षी दलका नेता कसैलाई नसोधी संसद् अधिवेशन अन्त्य गर्छन्, कांग्रेस बोल्दैन, चिनियाँ राजदूतको राजनीतिक दौडधुप आन्तरिक राजनीतिमा हस्तक्षेप हो भनेर भन्नुभन्दा उनको सक्रियता फुटाउन नभई जुटाउन हो भनेर व्याख्या गरिन्छ। अमेरिकी रंगभेदविरुद्धका नागरिक अभियन्ता मार्टिन लुथर किडले भने झैं ‘असल मानिसहरूको मौनता दुष्ट मानिसहरूको क्रुरताभन्दा खतरनाक हुन्छ’ जबसम्म राजनीतिक दलका असल कार्यकर्ताले नेतृत्वको खराब क्रियाकलापविरुद्ध बोल्ने आँट गर्दैनन् विकृत राजनीतिले बिदा पाउने छैन। तसर्थ अबको राष्ट्रवाद राजनीतिक इमानदारीतामा अडिएको व्यवहारिक राष्ट्रवाद हुनुपर्छ। जुन राष्ट्रवादले सिमानाको मात्र होइन सिमान्तकृतहरूको पनि ख्याल गर्छ, शक्तिमा होइन समृद्धिमा विश्वास गर्छ, अहंमतालाई होइन सभ्यतालाई आत्मासात् गर्छ, खुट्टा तानेर ढलाउने होइन हात समातेर उठाउने प्रवृत्तिको विकास गर्छ, पुर्खामा भन्दा पौरखमा गर्व गर्छ, फुटाउनमा होइन, जुटाउनमा लागि पर्छ, परनिर्भर होइन आत्मनिर्भर बनाउन सिकाउँछ। तर ती सबै राम राष्ट्रवादले होइन,काम राष्ट्रवादले मात्र सम्भव हुन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.