बाजुरामा बाढी पहिरोको वितण्डा : गाउँनै विस्थापित, खेतीयोग्य जमिन बगर
बाजुरा : अविरल वर्षासँगै आएको बाढी पहिरोले बुढीगंगा नगरपालिकाको कुडी, बजेडी, नडाङ, मुशी ताँप्रीसेराका पूरै बस्तीहरु विस्थापित भएका छन्। आइतबार राति पानीमुल खोला र ठाँडो खोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताँप्रीसेराका खेतीयोग्य जमिन बगरमा परिणत भएको बुढीगंगा नगरपालिका- २ का वडाध्यक्ष हिरालाल थापाले जानकारी दिए।
बजेडीमा घर माथिबाट पहिरो आएर घर चर्केपछि विस्तापित भएका ६ परिवार छिमेकीको घरमा सरेका छन्। पहिरोले पूरैगाउँ जोखिममा रहेको वडा अध्यक्ष थापाले बताए। उनले भने, 'नडाङका १० परिवारका घर चर्किएपछि शिवशंकर प्राविमा बसिरहेका छन्।'
यता ताँप्रीसेरा बजारभित्रै बाढी पसेर लाखौंको क्षति भएको छ। घट्टे खोलाबाट आएको बाढीले ताप्रीसेराका व्यापारी गोपाल थापाको पसल बगाएर लाखौंको क्षति गरेको छ। 'एक्कासी आएर पसल भित्र छिर्यो आफू भागेर बच्यौं, पसल पुरै बगायो' व्यापारी थापाले भने।
लगातारको वर्षासँगै आएको बाढीले साफे मार्तडी सडकखण्डको घट्टे खोलाको पक्की पुलमा बगाएर ल्याएका ढुंगामुढा अट्किएपछि बाढी ताँप्रीसेरा बजार पसेको हो। बाढी बजारसँगै धान रोपेको महिना दिन पुगेको छैन सबै बगरमा परिणत भएका स्थानीय रमेश थापाले बताए। साफे मार्तडी सडकखण्डको घट्टे खोलाको पक्की पुलसमेत बगाएको छ। पक्की पुल बगाउँदा यातायात रोकिएका छन्।
यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले बुढीगंगा नगरपालिकामा ठुलो क्षति भएको खबर आएको बताएका छन्। आफैँ बाढी पहिरो प्रभाबित क्षेत्रमा जादैँछु पुगेपछि मात्र यकिन थाहा हुने उनले बताए।