तराईको बाढी, जीवनभर भारी
जनकपुरधाम : बाढी भन्ने बितिकै जीउ सिरिङ हुन्छ। मनमा चिसो पस्छ, निन्द हराउँछ। बेचेनी बढ्छ। त्यही बाढीको डुवानमा डुब्दैछ यस वर्ष तराई। लगातार दुई दिनदेखि वर्षात हुदैँछ। बस्ती नजिकैको खोलामा पानीको सतह ह्वातै बढेको छ। बाढी बढेसंगै खोला नजिकको बस्तीमा त्रास बढेको छ।
बेजोड वर्षा हुन थालेपछि खुल्ला आकाशमा स्थानीयको नजर छ, खोलातिर ध्यान छ। असार, साउन, भदौ प्रदेश-२ का बासिन्दालाई संकटको घडी हो, आर्थिक, भौतिक, मानविय क्षतिको दृष्टिकोणले। चुरेका खोलामा बाढी उर्लेर आउँछ। उक्त बाढीले स्थानीयको जीवन त्राहिमाम मात्रै बनाउँदैनन् दर्जनौंको ज्यान पनि लिन्छ। परिवारका सदस्य गुमाउने परिवारले पीडा खेप्नु परेको छ।
विगत १० वर्षयता बाढीको प्रकोपमा परि प्रदेश-२ का ८ जिल्लामा १५६ जनाले ज्यान गुमाए। बाढीमा परेर ३० जना अझै बेपत्ता छन्। गृह मन्त्रालय अनतर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस प्रदेशमा ०६७/०७७ असार २५ गतेसम्ममा बाढीबाट ४ हजार ५ सय २१ परिवार विस्थापित भएका छन्। त्यसैगरी ४ हजार ७ सय १० घरमा पूर्ण र आंशिक क्षति पुर्याएको बाढीले करिब ५५ करोड ४५ लाख १० हजार बराबरको धनमाल क्षति हुन पुगेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।
गत वर्ष असार २३ देखि ३१ गतेको बीचमा आएको बाढीले बगाउँदा प्रदेश-२ का ८ जिल्लामा ३२ जनाले ज्यान गुमाए। बाढीले महोत्तरीको बर्दिबासस्थित राजमार्गको भब्सी पूल पनि बगायो भने थुप्रै घरहरु डुवानमा पर्यो। वर्षा अघि बाढीको जोखिम न्यूनीकरण गर्न स्थानीय, प्रदेश र संघीय सरकार चुक्छ। जब क्षति भइहाल्छ अनि च्युरा, चामल, दाल राहत दिन सरकार कसिन्छ। त्यसमा पनि बाढी पीडितले समयमा एक गाँस खाने खाना र एउटा त्रिपाल पनि सरकारले पुर्याउन सक्दैन। राहत दिएर प्रत्येक वर्ष पन्छिने सरकार बाढीको जोखिम न्यूकीकरणमा योजना अनुसार काम गर्दैन।
सरकार बाढी जोखिम न्यूनीकरण योजना कार्यान्वय फितलो भएको जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीका अध्यक्ष परमेश्वर महतोले बताए।‘वर्षा लाग्ने बितिकै हाम्रो जीवन त्रासमै बन्छ। राति सुतेपछि भोली सबै परिवार सकुशल ब्युँझिन्छौं कि निन्द्रैमा बाढीले बगाएर लान्छ भन्ने त्रासमा खोला नजिकका स्थानीयले रात काट्नु पर्छ,’उनले भने।
प्रदेश २ का जिल्ला भएर बग्ने त्रियुगा, खाँडो, बलान खुट्टी, माउली, रातु, बिगही, झिम खोला, हर्दी खोला, मरहा खोला, लखन, लालबकैया, बागमती, चादी, झाझ देहीलगायत साना तथा ठुला नदीको बाढीले बस्ती डुब्दै आएको छ। खेतियोग्य जमिन मरुभूमी बनाउने गर्छ। महोत्तरीको रातु खोला, धनुषा र सिरहाको साँधमा बग्ने कमला नदी, सिरहाको खाँडो खोला रौतहटको लालबकैया, बागमती नदीमा आउने बाढीले प्रत्येक वर्ष ताण्डव देखाउँछ। रातु, बाँके, मरहा खोलाको बाढीले महोत्तरीको सदरमुकाम जलेश्वर सहित चालिस गाउँ प्रत्येक वर्ष डुबानमा हुन्छ। बाढी तथा जोखिमको अवस्था नहेरी सीमानामा भारतले लगाएको बाँध, पछिल्ला वर्षहरुमा निमार्ण भइरहेको नाला, सडक, रेलमार्ग, हुलाकी सडक निमार्ण गर्दा वर्षाको पानीको निकास बिनाको विकासले बस्ती डुवानमा पार्ने गरेको स्थानीयको भनाइ छ।‘बाढी, पहिरो नियन्त्रणका गर्न सरकारले सञ्चालन गरेको कार्यक्रममा चुवाहट भएकोले सरकारका योजना प्रभाव कारी बन्न सकेको छैन’ नेकपा प्रदेश-२ का सदस्य शंकर महतो भन्छन्,‘चुरेमा पहिलो, चावर क्षेत्रमा कटान र तल्लो क्षेत्रमा डुवानको जोखिम मधेसको नियत्ति जस्तै छ।’नदीको व्यवस्थान गर्न सरकारले ठोस कदम चलानुपर्ने उनले माग गरे।