विभाग भर्दै देउवा, पौडेल असन्तुष्ट

विभाग भर्दै देउवा, पौडेल असन्तुष्ट

काठमाडौं : पार्टीको महाधिवेशन प्रक्रिया सुरु भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागलाई क्रियाशील बनाउन थालेका छन्। सभापति देउवाले असन्तुष्ट पक्षको विरोधका बाबजुद विभागलाई पूर्णता दिने काम सुरु गरेका हुन्। १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि कुनै पनि नियुक्ती वा मनोनयन गर्न नपाइने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग छ। चार वर्षे कार्यकाल सकिन दुई दिन अघि मात्रै देउवाले ४८ मध्ये २० विभाग गठन गरेका थिए। त्यतिबेला विभागको संयोजक मात्रै तोकेका उनले अहिले विभागलाई पूर्णता दिन सदस्य मनोनयनको कामलाई तीब्रता दिएका छन्।

सभापति देउवाले सोमबार केन्द्रीय महिला विभागमा सचिवसहित ३८ सदस्य मनोनित गरेका छन्। उनले सचिवमा पार्टीको महासमिति सदस्य एवं नेपाल तरुण दल नेतृ लक्ष्मी खतिवडालाई मनोनित गरेका छन्। विभाग संयोजकमा भने ईश्वरी न्यौपानेलाई अघिल्लो वर्ष १९ फागुनमा मनोनयन गरेका थिए। पछिल्लो एक सातामा मात्रै देउवाले तरुण विभाग र खेलकुद विभागमा पनि दुई दर्जन बढी सदस्य मनोनित गरेका छन्।

महाधिवेशनको मिति तोकिसकेपछि सभापति देउवाले विभाग गठन, विभिन्न समिति र विभागलाई पूर्णता दिने काम गरेको भन्दै बिहीबार बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए। उनीहरुले ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने विधानको व्यवस्था विपरीत सभापति देउवाले विभाग गठन गरेको आरोप लगाउँदै आएका छन्।

वरिष्ठ नेता पौडेलले महाधिवेशनलाई प्रभावित पार्ने गरी सभापतिले विभागमा सदस्य मनोनित गरेको आरोप लगाए। ‘यो तदर्थ समिति भइसक्यो। सभापतिज्यूलाई अब कार्यकारी अधिकार प्रयोग गर्ने अधिकार विधानले दिएको छैन। त्यसकारण जथाभावी काम गर्न पाउनुहुन्न भन्ने हाम्रो भनाई हो,’ पौडेलले अन्नपूर्णसँग भने। तर देउवाले भने विभागमा असन्तुष्ट समूहका नेता कार्यकर्ताहरुलाई पनि जिम्मेवारी दिएर उल्टै दवाव दिएका छन्। महिला विभागको सचिवमा मनोनित खतिवडा महामन्त्री कोइराला निकट मानिन्छन्। सदस्यमा पनि असन्तुष्ट समूहलाई समेटिएको संस्थापनपक्षको भनाई छ।

यसैबीच विभागहरु पनि सक्रिय हुन थालेका छन्। तरुण विभाग र खेलकुद विभागले आफ्नो छुट्टै कार्यालय खोलेर काम सुरु गरिसकेका छन्। तरुण विभागले काठमाडौंको पानीपोखरीमा सम्पर्क कार्यालय स्थापना गरेको छ भने खेलकुद विभागले नयाँ बानेश्वर कार्यालय खोलेको छ। ‘कांग्रेसलाई सांगठानिक रुपमा बलियो बनाउन देशभरका युवाहरुलाई परिचालन गर्ने उद्धेश्य यो विभागको हो। चाँडै विभागलाई पूर्णता दिने काम हुन्छ,’ तरुण विभाग प्रमुख शंकर भण्डारीले भने, ‘तरुण दललाई सक्रिय बनाउने र पार्टीभन्दा बाहिर रहेका युवाहरुलाई पनि पार्टीमा ल्याउन काम विभागले गर्छ।’ उनले तरुण विभागको एक साताभित्रै बस्ने बैठकले आगामी कार्यक्रम तय गर्ने बताए। सहमतिमै विभाग गठन गर्न खोज्दा समय लागेको दावी गर्दै केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख भण्डारीले भने, ‘ढिलै भएपनि विभाग गठन भएका छन्, यसले पार्टी संगठनलाई नै फाइदा गरेको छ। धेरै साथीहरुले भूमिका पाएका छन्।'

गठन भएका विभागमध्ये सक्रिय विभाग खेलकुद विभाग पनि एक हो। खेलकुद विभागको सोमबार बसेको बैठकले खेलकुद क्षेत्रमा गर्नुपर्ने कामबारे योजना तयार गरेको छ। ‘खेलकुद परिषद् ऐन संशोधन भएको छ, यसबारे हामीले छलफल गरेका छौं, खेलकुद मन्त्रालय अन्तर्गत १३ देखि २५ वर्षसम्म काम गरेका धेरै कर्मचारीको प्रमोसन भएको छैन, खेलकुदमा लागेर जीवन समर्पण गरेका खेलाडीहरुको भविष्य कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा हामीले एउटा निर्णय गरेका छौं। समग्र खेलकुद र खेडालीको जीवनलाई सम्मानित बनाउनेबारे हामी छलफल गरिरहेका छौं,’ विभाग प्रमुख मोहन बस्नेतले भने। त्यस्तै खेलकुद विभागले पार्टीका दिवंगत भएका नेताहरुको नाममा खेलकुद कार्यक्रम आयोजना गर्ने तयारीसमेत गरेको छ भने सार्कमा मेडल जित्ने खेलाडीलाई पार्टीका तर्फबाट नगदसहित सम्मान गरिने संयोजक बस्नेतले जानकारी दिए।

नेपालमा कोरोना भाइरस संक्रमण सुरु भएको समयमा विभाग गठन गरिएकाले अपेक्षाकृत काम गर्न नसकेको संयोजकहरुको भनाई छ। ‘कोभिड १९ को महामारी सुरु हुने बेला विभाग गठन भयो। त्यसले गर्दा विभाग पूर्णता हुन पाएन। अब चाँडै विभागले पूर्णता पाउँछ,’ श्रमिक तथा ट्रेड युनियनमा शिवप्रसाद हुमागाईंले भने, ‘तर पनि यो बीचमा कोरोनाका कारण समस्यामा परेका श्रमिकहरुको उद्धार र राहतमा हामी सक्रिय भयौं। औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत मजदूरलाई राहत दिन विभागले आफ्नो स्रोत साधनले भ्याएसम्म काम गरेको छ।’

पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा संयोजक रहेको सूचना, सञ्चार तथा प्रचार विभागले कोरोना महामारी सुरु भएदेखि नै निरन्तर सचेतनामूलक श्रव्यदृश्य सामग्रीको व्यापक प्रचार गरेको थियो भने नेपाली जनसम्पर्क समिति समन्वय विभागका संयोजक गोविन्द भट्टराईले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धारका लागि सरकारलाई दवाव दिनुका साथै छुट्टै एपसमेत निर्माण गरेका थिए। केन्द्रीय सदस्य बीरबहादुर बलायर संयोजक रहेको निर्माण व्यवसायी समन्वय विभागले असारे विकासका बारेमा निर्माण व्यवसायी र सरोकारवाला पक्षसँग छलफल गरेको थियो।

कांग्रेस विधानमा एउटा विभागमा संयोजकसहित ५१ सदस्य रहने व्यवस्था छ। सबै विभाग गठन भए करिव २५ सय कांग्रेस नेता कार्यकर्ताले भूमिका पाउँछन् तर पार्टीभित्र भागबण्डा नमिल्दा चार वर्षसम्म विभाग गठन हुन सकेनन्। देउवाले फागुन दोस्रो साता २० विभाग गठन गरेपनि तिनिहरुले पूर्णता पाएका छैनन्। २० वटै विभागलाई चाँडै पूर्णता दिने गरी नाम संकलनको कार्य भइरहेको संस्थापननिकट एक केन्द्रीय पदाधिकारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.