स्टुडियोमै थन्किए पेन्टिङ

स्टुडियोमै थन्किए पेन्टिङ

काठमाडौं : लकडाउनको समय। सरकारले अत्यावश्यक काममा बाहेक सबैलाई घरभित्रै बस्न निर्देशन दिएको थियो। बाहिर निस्कनासाथ सुरक्षाकर्मीले थर्काउने, गाली गर्ने र घरतिर फर्काउर्ने गर्थे। यही बेला चित्रकार भाइराजा महर्जनले सामाजिक सञ्जालमा फरक शैलीको समाचार र फोटो भेट्टाए। फोटोमा कुनै बच्चालाई उनकी आमाले घाँटीमा नेम प्लेट भिराएर पसलमा सामान किन्न पठाएकी थिइन्। नेम प्लेटमा लेखिएको थियो, ‘आमाले नुन किन्न पठाउनुभएको, मलाई नपिट्नुहोला’। यस्तो दृश्यले उनको मन पगाल्यो।

घरमै थुनिएका भाइराजालाई उक्त फोटोले निःशब्द बनायो। कोरोना कहरले जनजीवनमा पारेको असर बुझ्न काफी थियो यो फोटो। उनी पनि लकडाउन र कोरोना बुझाउने केही चित्र कोरिरहेका थिए। यसै क्रममा म्युजियम अफ नेपाली आर्ट ‘मोना’ समूहले कोभिडसम्बन्धी आर्ट कलेक्सन र अनलाइन प्रदर्शनी आयोजना गर्‍यो। यसमा २० जना नेपाली चित्रकार संग्लन थिए। भाइराजाले यही दृश्य उतारे, जहाँ काठमाडांैको पुरानो चोक पृष्ठभूमिमा समेटिएको थियो।

प्रदर्शनीमा चित्रकारहरूले आफूले भोगेको कोरोना त्रास र लकडाउन अनुभवलाई चित्रमा उतारेका थिए। यो प्रदर्शनी मोनाको वेबसाइडमा समेत देख्न सकिन्छ। लकडाउन पूर्णतया खुलेको छैन। कोरोना भाइरसको संक्रमण बढिरहेको छ। यो समयमा आर्टका छलफल, किनबेच, अन्तत्र्रिmया तथा प्रदर्शनी ठप्पै छ। अरूलाई जस्तै चित्रकार, मूर्तिकारलाई पनि लकडाउनले आर्थिक क्षति पुर्‍याएको छ। सधैंजसो केही न केही कार्यक्रम भइरहने ग्यालरी, म्युजियम पनि बन्द छन्। यसले गर्दा सिर्जनामा लागिपरेका कलाकारलाई आर्थिक समस्या पर्न थालिसक्यो। कलापारखी पनि आर्ट किन्ने मनशायमा देखिन्नन्। आर्थिक मन्दीले देशलाई नै अप्ठ्यारोमा पारिरहेको अवस्थामा चित्रकारले बनाएका आर्ट बिक्न छाडेको छ। अनलाइन प्रदर्शनीका नाममा केही कलाकारले प्रदर्शनी त गरेका छन्, कतिपय चित्रकार मिलेर सामूहिक र व्यक्तिगत अनलाइन सो पनि सुरु गरेका छन् तर चहलपहल ठप्पप्रायः छ। 

आर्ट संकलन गर्ने संस्था, आर्ट लभर पनि यति बेला लकडाउनमै थुनिएका छन्। केहीले सोधीखोजी गरिहाले पनि पहिलेजस्तै सजिलो तरिकाले पेन्टिङ बिक्न छाडेको चित्रकारहरू बताउँछन्। सरकारले पनि कला सिर्जनाको क्षेत्रमा काम गर्नेलाई खासै सहयोग नगरेको उनीहरूको भनाइ छ।

चित्रकार तथा क्युरेटर सरिता डंगोल चाकुपाटमा क्लासिक आर्ट ग्यालरी सञ्चालन गर्छिन्। लकडाउन सुरु भएपछि उनको ग्यालरी पूर्ण रूपमा बन्द छ। बुधबारदेखि ‘सोचाइहरूको संगम’ शीर्षकमा अनलाइन आर्ट प्रदर्शनी सुरु भएको छ। यहाँ १० जना कलाकारका सिर्जना समावेश छ। उनका अनुसार लकडाउनले निराश बनेका चित्रकारलाई आफ्नो सिर्जना बेच्ने ठाउँ उपलब्ध गराउन पनि अनलाइन सो सुरु गरिएको हो। आर्ट प्रदर्शनीको लिंक युट्युबमा उपलब्ध छ।

प्रायः चित्रकारले स्टुडियोमा बसेर एकान्तमा काम गर्ने हुँदा उनीहरूलाई खासै समस्या छैन। तर बनाएका चित्र नबिक्दा भने दैनिक जोहोको पिरलोले सताएको छ। सरिता भन्छिन्, ‘व्यक्तिगत रूपमा अनलाइनकै माध्यमबाट कलेजको कक्षा सञ्चालन गर्ने, आर्ट सिकाउने र फुर्सदको बेला चित्र बनाउँदै समय बिताएकी छु। समय प्रशस्त भएकाले पनि अरू बेलाभन्दा अलि धेरै आर्ट बनाएकी छु। तर आर्ट किन्न आउनेको संख्या भने निकै कम छ। करिब चार महिनादेखि आर्ट बिकेकै छैन भन्दा पनि हुन्छ।’

यस्तै तारागाउँ म्युजियमका निर्देशक रोशन मिश्र भने लकडाउनको समयमा म्युजियमको आन्तरिक कार्यमा व्यस्त रहे। उनका अनुसार म्युजियममा सधैंभरि केही न केही कार्यक्रम भइरहने हुँदा पनि उपलब्ध आर्ट, आर्किटेक्चर र सामग्री डकुमेन्टेड गर्न सकिएको थिएन। उनले केही सामग्रीलाई प्रविधिमैत्री पनि बनाएका छन्। म्युजियम खोल्न हतार नगरेका मि श्र म्युजियममा छुटेका काम पूरा गर्न लागिपरेका छन्। उनले म्युजियमलाई पनि अनलाइनमा सार्वजनिक गर्न आफूलाई व्यस्त बनाए। लकडाउनले चित्रकारका लागि विभिन्न विषयमा रचनात्मक काम गर्ने अवसर पनि मिलेको उनको धारणा छ।

भाइराजाले पनि स्टुडियोमै काम गरेर लकडाउनलाई सदुपयोग गरेका छन्। चित्र बनाउन प्रायः एकान्त परिवेश चाहिने हुँदा उनलाई फुर्सदको समयले समस्या पारेन, बरु अरू बेलाभन्दा धेरै काम गर्न सके। प्रायः परम्परागत आर्टमा रमाउने उनले यो समयमा कोरोना, ऐतिहासिक आर्ट, प्रकृति जस्ता विषयलाई सिर्जनामा उतारे। अलिअलि सोधीखोजी गर्ने भेटिए पनि ग्यालरी बन्द हुँदा आर्ट बिक्रीमा निकै कमी आएको जानकारी उनले दिए।

चित्रकार बाबुछोरा किरण मानन्धर र सागर मानन्धर भने यलकडाउनमा केही चित्र बेच्न सफल भए। सागरका अनुसार नियमित ग्राहकले केही घरमै आएर चित्र लगे भने केहीले अनलाइनमा माग गरे। अन्य बेला चित्रकै मात्र कुरा हुने गरेकामा यसपटक भने ससाना घरायसी विषयमा पनि उनीहरूले संवाद गर्न भ्याए। बाबुछोरा दुवै मिलेर डोयट चित्र पनि बनाए। सागर भन्छन्, ‘समय अभावमा हामीले परिवारभित्रका सम्बन्ध र संवेदनामा ध्यान नै नदिने रहेछौं। यसपटक कामसँगै चित्र नियाल्ने मौका पनि प्राप्त भयो।’

लकडाउन कहिले पूर्ण रूपमा खुल्छ भन्ने यसै भन्न सकिन्न। ग्यालरी खुल्ने, आर्ट गतिविधि सुरु हुने कहिले हो टुंगो छैन। कला सिर्जना गरिरहे पनि बिक्री नहुँदा कलाकार तनावमा छन्। एनबी गुरुङ, दीपेन्द्र बनेपाली, एरिना ताम्राकार, केशव खनाल, देवेन्द्र थुम्केली, मनिषलाल श्रेष्ठ, ईशान परियार, रवीन्द्र श्रेष्ठ, बाबु साइँला, सबिता डंगोल, प्रमिला राजभण्डारी लगायतका चित्रकार अनलाइन प्रदर्शनीमा पनि सक्रिय छन्। उनीहरूका अनुसार फाट्टफुट्ट केही चित्र बिके पनि सजिलै बिक्री भएको छैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.