समकालीन राजनीति इतिहासपथबाट गुज्रिन्छ
साउन ६ र ७ गते बीपी (सान्दाजु) र पुष्पलाल (माइल्दाजु) जयन्ती। बीसौं शताब्दीको नेपाली राजनीतिमा सर्वाधिक महत्व राख्ने बीपी कोइराला, पुष्पलाल र महेन्द्र शाह नै हुन्। अब भने कांग्रेस कांगे्रस रहेन। न कम्युनिस्ट कम्युनिस्ट नै रहे। ट्रेडमार्कीय राजनीतिमा अब कोइराला र पीएलको सान्दर्भिकताभन्दा पनि याद ‘सराद्धे’ मात्र हुन पुगे पनि नयाँ फन्डा फ्याँकेर बहसको दिशा मोडिरहिएका बेला बीपी र पीएलको बहस आवश्यकता अहिले अझ बढेको हो।
इतिहासको पुनर्पाठ भइरहन्छ। इतिहासकार रामचन्द्र गुहा भन्छन्- वर्तमानको राजनीति बुझ्नु छ भने इतिहास पढ्न र बुझ्न आवश्यक हुन्छ।’ इतिहासका सन्देश र मर्म इतिहास चेतसहित अध्ययनको माग गर्छ। नत्र घटना, नाम, तिथिमिति, ठाउँबाहेक व्याख्याताको के-कता ढल्को छ भन्नेले धेरै अर्थ र महत्व राख्छ। तत्कालीन राजनीतिक अवस्था, विश्व परिस्थिति, छिमेकीको आपसी सम्बन्ध, सामाजिक मनोदशा, आर्थिक अवस्था र सम्बन्ध, चेतना र राजनीतिक संस्कृतिको स्तर, शक्तिबीच आपसी टसल आदि नियालिनुपर्छ। इतिहास निर्मम हुने भएकाले नायक र खलनायकका चिहान खोतलिन्छन्। आजको चेतना र अवस्थाले तत्कालीन अवस्था बुझिँदैन।
नायक ‘देवता’ हैनन्। उनका पनि सीमा र समस्या हुन्छन्। ‘महामानव’ त भक्तिशास्त्र मात्रै हो। सत्ता राजनीतिभित्र त्यसबेला असली द्वन्द्व बीपी र महेन्द्रबीच थियो। अस्तु ल्याइएका पुष्पलालको त लाससमेत ल्याउन प्रतिबन्ध लाग्यो। बीपी र महेन्द्र दुवैको द्वन्द्वमा समकालीन राजनीति मात्रै हैन, क्षेत्रीय शक्ति सन्तुलनका साथै शीतयुद्धको झझल्को, रडाको र असरसमेत देखा परे। बीपी, पीएल र महेन्द्र तीनैजनाका समान गुण भनेका आआफ्ना सिद्धान्त, संस्कृति, मान्यता र आदर्शअनुरूप राजनीतिक अभ्यास हो। उनीहरू तीन वर्गका प्रतिनिधि थिए। आआफ्नै विश्व दृष्टिकोण र बुझाइ थियो। अहिले सबभन्दा खट्किएको विषय भनेकै उनीहरूका अनुयायी मौलिक सिद्धान्तमा टिक्न नसक्दा पनि पार्टीको नाम र झन्डा छाड्न नसक्नु हो। चिन्तन, दर्शनभन्दा जब राजनीति व्यवसाय हुन्छ तब विवेकले नभई आवश्यकताले भूमिका निर्धारण गर्छ।
गम्भीर मोडमै आफ्नै गौरवताको बोझ धान्न नसकेकाले पनि इतिहास र नायक याद गर्छन्। सिद्धान्तहीन राजनीतिले भने विषय, व्यक्तित्व, इतिहास र संवेदनशील घटनालाई सरल तरिकाले बुझ्ने माग गर्छ। इतिहास र राजनीतिका टेढामेडा विषय बुझ्न भने सरल तरिकाले कठिन हुन्छ।
बीपीले सत्ता र संघर्ष दुवै मोर्चाको अभ्यास गरे। पुष्पलालले नेपाली समाजको वर्ग विश्लेषण, नेपाली इतिहासको भौतिकवादी अध्ययन, सिद्धान्त, संस्कृति, आचरण, प्रतिबद्धता, संगठन र संघर्षमै जीवन बिताए। महेन्द्र त राजा थिए नै, उनलाई शीतयुद्धकाल वरदान र चीन-भारतको टसल राजनीतिक उपहार बन्यो। ‘कमजोरले आँखा तरे उसको औकात देखाइदिनुपर्छ। शक्तिशालीले चुटे बुद्धिले काम लिनुपर्छ। तुरुन्त जवाफ दिँदा लिनुको दिनु पर्न सक्छ’ भन्ने उनको चतुर राजनीतिक अभ्यास रह्यो।
बीपी पार्टीको प्रत्यक्ष वा परोक्ष वैचारिक र संगठनात्मक सदावहार केन्द्रमै रहे। प्रजातान्त्रिक कांग्रेसको अगुवामा सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्याय भूमिकामै देखिए पनि कालान्तरमा ती ओझेल परे। सत्ताबाट बाहिरै रहँदा पनि देशको राजनीतिक केन्द्रमै रहे। उनको टकराहट एकातर्फ महेन्द्रवादी सत्तासँग थियो भने अर्कातर्फ शीतयुद्धको चरमकालमा कम्युनिस्टविरुद्वको उग्र चिन्तन।
सत्ता संरचनालाई ध्यान नदिए वर्गीय समाजमा सोचजस्तै इतिहास पनि वर्गीय हुन्छ भन्ने बुझ्न सकिँदैन। महेन्द्र आधुनिककालको सामन्ती सक्रिय राजतन्त्रात्मक सिद्धान्त अभ्यास गर्थे। बीपीको सामाजिक प्रजातन्त्र अभ्यास थियो र पुष्पलालको कम्युनिस्ट। महेन्द्र प्रजातन्त्र र राष्ट्रियताका नाममा एकअर्काका अन्तरविरोधमा खुब खेल्थे। आदर्शले पार्टी चल्ने, आन्दोलन बन्ने र अन्तर्राष्ट्रिय द्वन्द्व पनि सिद्धान्तकै कारणले प्रयोग भएको यस भूसंवेदनशील क्षेत्रमा ती सामाजिक, राजनीतिक सांस्कृतिक द्वन्द्व बनेर देखा पर्थे। द्वन्द्व कतिपय सन्दर्भमा विपरीत सिद्धान्तबीच कार्यनीतिक एकतामा पनि देखिन्थ्यो भने मूलतः संघर्षमा।
बीपीबारे चर्चा गर्दा समयको नाडी छामेर कार्यनीतिमा फेरबदल गरिरहन नेताका रूपमा हेर्नुपर्छ। त्यसै आधारमा एउटा कार्यनीति असफल हुने लक्षण देख्नेबित्तिकै अर्को तरिका अपनाउनु र शत्रु पक्षसँग कलामय तरिकाले संघर्षरत गर्नु, दुई शत्रुबीच छान्नुपर्दा देशभक्तिलाई प्रधानता दिनु, आन्दोलनको राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्बन्धको भरपूर उपयोग गरेको देखिन्छ। त्यो बुझ्न राजा र भारतप्रतिको दृष्टिकोणलाई सुक्ष्म नियाल्नुपर्छ। सात सालको सशस्त्र संघर्ष, मातृका, महेन्द्र र उनीबीचको द्वन्द्व, पहिलो निर्वाचित सरकार, १७ सालको कू, जेल जीवन र संघर्ष, १८ साल र ओखलढुंगा सशस्त्र संघर्ष, राष्ट्रिय मेलमिलाप, जनमत संघर्षजस्ता विषयमा उनको रणनीतिमातहत कार्यनीतिलाई जोडेका देखिन्छन्। अझ सिक्किम र बंगलादेश घटनापछि भारत प्रवास त्यागेर राष्ट्रिय मेलमिलाप नीति दिँदै देश फर्कनु एउटा गम्भीर निर्णय थियो।
बीपी पार्टीको प्रत्यक्ष वा परोक्ष वैचारिक र संगठनात्मक सदावहार केन्द्रमै रहे। प्रजातान्त्रिक कांग्रेसको अगुवामा सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्याय भूमिकामै देखिए पनि कालान्तरमा ती ओझेल परे। सत्ताबाट बाहिरै रहँदा पनि देशको राजनीतिक केन्द्रमै रहे। उनको टकराहट एकातर्फ महेन्द्रवादी सत्तासँग थियो भने अर्कातर्फ शीतयुद्धको चरमकालमा कम्युनिस्टविरुद्वको उग्र चिन्तन। सोभियत रूससमर्थित भारतीय हेपाहा शक्तिको विपक्षमा रहँदा अर्को महाशक्ति अमेरिकाको सहयोगी बन्न पुर्यायो। त्यसैले उनी एसियामै इजरायललाई पहिलो समर्थन दिन पुगे भने इन्डोनेसियाको सैनिक कू र तानाशाह सुहार्तोलाई समर्थन दिन डीएन अडिट (दीपा नुसान्तारा अडिट नोभेम्बर २२, १९६५ मा सैन्य कुमा हत्या) अर्थात् कम्युनिस्टको हाउगुजीमा अडिटवाद खडा गर्दा सोसल डेमोक्रेट छविमा असर पुर्यायो। आफ्नो औचित्य सावित गर्न नयाँ सिद्धान्त बनाउनुपर्छ भने भयसिर्जित गर्दै समर्थन लिनु राजनीतिक खेलै हो। अडिट फर्मुला पनि त्यस्तै रह्यो। उनले इन्डोनेसियाका सोसलिस्ट सुकार्नो र चिलेका एलेन्डे सरकारको अमेरिकी प्रायोजित सैनिक कुको विरोध गरेनन्। त्यसले प्रजातान्त्रिक अन्तर्राष्ट्रिय पक्षधारितामा बात लाग्ने मौका दिए।
अब पुष्पलालको चर्चा गरौं। प्रजातान्त्रिक कांग्रेसबाट राजनीति सुरु गरेका सहिद गंगालालका भाइ पुष्पलाल नेपाली कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली इतिहासको भौतिकवादी धारका पहिलो विश्लेषक हुन्। नेपाली समाजको वर्ग विश्लेषण, अन्तरविरोध र शत्रु एवं मित्र किटान गर्दै संघर्षको दिशा निर्धारक अग्रणी नेता। समय गुज्रँदै जाँदा पार्टीमा स्वत्वका टकराहट बढेर सत्ता संघर्षमा हुत्याइँदै गए पनि आन्दोलनबाट कटाउन भने नसकिएका र राजतन्त्रसँगको संघर्षप्रधान मान्ने पुष्पलाल राजतन्त्रप्रति नरम धारणा राख्ने साड्दाजु मनमोहन अधिकारीसँग जीवनपर्यन्त मेल खाएन। प्रजातान्त्रिक आन्दोलन कांग्रेस र कम्युनिस्ट सहकार्यमा मात्रै राजनीतिले कोल्टे फेर्छ भन्ने धारणा रहिरह्यो। १७ सालको महेन्द्रशाही ‘कू’ पछाडि त अझ दृढ रहे। आफन्तबाट प्रताडित हुँदै जाँदा मोहनविक्रमबाट ‘गद्धार पुष्पलाल’ भनिए। त्यसलाई सहयात्री जीवराज आ िश्रत, मोदनाथ प्र िश्रत, मदन भण्डारी र वामदेव गौतमले मुक्ति मोर्चा समूह बनाएर निरन्तरता दिए। बीपी राष्ट्रिय मेलमिलाप नीति लिएर फर्किएपछि पीएललाई पनि राजाको राष्ट्रवादी अभियानमा सहयोग पुर्याउन सन्देश लिएर बनारस पुगेका टंकप्रसाद आचार्यको प्रस्ताव स्विकारेनन्। पीएलले प्रजातान्त्रिक आन्दोलनमा कांग्रेस-कम्युनिस्ट सहकार्य गर्नुपर्छ भन्ने आफ्नो विचारको सफलता जीवनकालमै देख्न भने पाएनन्।
यी दुवै राजनीति सिद्धान्त निर्देशित आचरण, आदर्शलाई जनताले स्पष्ट अनुभूति गर्न पाए। त्यसैले निरन्तरता दिएरै सार्वजनिक अपिल गर्ने नैतिक हक बन्यो। गाली गरेर नथाक्नेले समेत कालान्तरमा उनीहरूलाई पछ्याउनु वा प्रशंसा गर्नुपर्यो।
अन्त्यमा,
१. बीपीले सत्ताअभ्यास गरे तर पुष्पलालले गर्न पाएनन्।
२. शीतयुद्धको प्रभावबाट ग्रसित तीनैजनाको सम्बन्ध र राजनीति अभ्यासमा देखिन्छ।
३. भीड नायकको खोजीमा हुन्छ। इतिहास कहिलेकाहीं महाठट्टा पनि गर्छ। फेरिएको अवस्थामा गाली पण्डितहरू आफैंलाई हकवाला सावित गर्ने कोसिस पनि गर्छन्।
४. संगतले कता लागिन्छ भन्ने धेरै निधो गर्छ। वातावरण तयार गर्छ। पार्टीभित्रका सदावहार विरोधी चुनाव हारेका सूर्यप्रसाद उपाध्यायलाई बीपीले गृहमन्त्री त बनाए तर अत्यन्तै विश्वास पात्र डा. तुलसी गिरी र विश्वबन्धु थापाका भूमिका र चालबाट सचेत हुन भने सकेनन्।
५. बीपीका राजनीतिक अगुवा जयप्रकाश नारायणसँग निरन्तरता रहे पनि घघडान सोसल डेमोक्रेट चिन्तक र नेता डा. रामनारायण लोहियासँग भने बीपीको उत्तरार्धमा सम्बन्ध चिसियो। यसका कारण र परिणाम अध्ययनका विषय हुन्।
६. अमेरिकी लबीमा बीपीको राजनीतिक अभ्यास, इजरायलको मान्यताले जवाहरलाल नेहरू र माओत्से तुङलाई मन परेन। यस भूसंवेदनशील देशबाट अमेरिकी सक्रियतादेखि उनीहरू होसियार थिए। १७ सालको महेन्द्र ‘कु’ मा महत्व राख्छ। किन चीन र भारतको महेन्द्रलाई मौन सर्मथन भयो ? सन् १९५४ मा चीनप्रति अमेरिकाको फेरिएको दृष्टिकोण, नेपाललाई आधार बनाएर तिब्बतमाथि अमेरिकी सक्रियताबारे अरफेन अफ कोल्ड वार (शीतयुद्धका टुहरा) केनेथ नसले अझ विस्तारमा व्याख्या गरेका छन्।
७. पुष्पलालको संयुक्त मोर्चाको प्रस्ताव बीपीकालमा कांग्रेसले स्विकारेन। बीपी र पुष्पलालको मृत्युपछि मात्र गणेशमान सिंहको अगुवाइमा ०४६ सालमा स्विकारियो। ०६२/६३ बीपीभ्राता गिरिजाप्रसादले त्यसलाई निरन्तरता दिए। जीवनकालमा पुष्पलालको उछितो खन्ने माले, मनमोहन र चौथो महाधिवेशनका कम्युनिस्टहरू उनको मृत्युपछि भने अनुयायी बने।