फेसनका युवा ब्रान्ड

फेसनका युवा ब्रान्ड

फेसनको ब्रान्डिङ बजारमा पछिल्लो डेढ दशक निकै रुचाइएका व्यवसायी हुन्, रुपेश पाण्डे। महिला तथा पुरुषका लागि अत्यावश्यक पहिरनसम्बन्धी अधिकांश अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउन सफल मानिएका पाण्डेलाई ‘फेसन ब्रान्डका युवा सरताज’ को उपमा दिँदा अनुचित नहोला। पलाएको इच्छालाई साकार पार्न उनले गरेको कडा मिहिनेतले नै उनी आज राजधानीको ब्रान्ड व्यवसायीमध्ये एक बन्न सफल भए।

काठमाडौंमा पुस्तौनी कपडाको व्यापार र फेसन सोरुम सञ्चालन गरेका सयौं व्यवसायीसँग प्रतिस्पर्धा गरी छोटो समयमै व्यवसायको उच्च बिन्दुमा पुग्न उनी सफल भएका छन्। वीरगन्जका ४४ वर्षीय युवा ठिटोले उपत्यकाबासीलाई विभिन्न ब्रान्डका पहिरन उपयोग गर्न अहिले सिकाइरहेका छन्। कडा मिहिनेत, व्यवसायप्रति इमान्दारिता र उपभोक्तालाई पूर्ण सन्तुष्टि दिएकै कारण पाण्डे नेपाली फेसन बजारमा ब्रान्डको सरताज बन्न सफल भएका हुन्। साठीको दशकमा काठमाडौंमा व्यापार गर्न रुपेश प्रवेश गरेका थिए। त्यसअघि यो सहर उनका लागि घुमघाममा मात्रै सीमित थियो। वीरगन्ज, हेटौडा र नारायणगढमा व्यवसायको सफल पताका फहराएका पाण्डेलाई काठमाडौंको विशाल बजार र काठमाडौंबासीको अन्तर्राष्ट्रिय ब्रान्डप्रतिको लोभले आकर्षित गर्‍यो। यो आकर्षणले उनलाई काठमाडौंमा पनि आफ्नो व्यवसाय विस्तार गरी विजय पताका फहराउन इच्छा जाग्यो। यो इच्छा पूरा गर्न व्यापारिक प्रयोजनका लागि २०६० मा पहिलो पटक काठमाडौं प्रवेश गरे।

काठमाडौंमा उनले स्थानीय मध्यम वर्गीय घरायसी महिला, सेलिब्रेटी र घरानियाँमा भारतीय ब्रान्डको पहिरनबारे बजार अध्ययन गरे। अध्ययनकै आधारमा सुरुआति समयमा भारतबाट विभिन्न ब्रान्डको सारी, कुर्ता, लेहंगालगायत पहिरन काठमाडौंका ठूला व्यापारिक घरानालाई उपलब्ध गराउन थाले। सुरुवाती दिनमा केही अप्ठ्याराको सामना गरे पनि विस्तारै उनको यो व्यापारले गति लियो। काठमाडौंका व्यवसायीलाई माग अनुरूप समयमै सामग्री उपलब्ध गराउन विभिन्न स्थानमा गोदामको व्यवस्था नै गर्नुपर्‍यो। केही समय यस्तो गोदामको सहयोगमा ब्यापारलाई निरन्तरता दिए। तर, चर्को भाडादरका कारण उनलाई गोदाम व्यवस्थापन निकै खर्चिलो लाग्यो।

गोदामघरको खर्च व्यवस्थापन गर्न उनले काठमाडौंमा आफ्नै घर किन्ने सोच बनाए। यो सोचलाई सार्थक बनाउन उनलाई वीरगन्जकै बैंकले साथ पनि दियो। वीरगञ्जमै व्यवस्था सञ्चालन गर्ने क्रममा विभिन्न बैंकसँग उनको राम्रो सम्बन्ध बनिसकेको थियो। यही सम्बन्धलाई उपयोग गरी काठमाडौंमा आफ्नै घर जोडे। यही घरमा गोदाम बनाउन आफ्नो व्यवसायलाई निरन्तरता दिए।

यति गरेर पनि उनलाई व्यवसायले सन्तुष्टि दिएन। न्युरोडको सबैभन्दा अग्लो घरमा आफ्नो कार्यालय बनाएर व्यापार विस्तार गर्दै आएका पाण्डेलाई सडकमै और्लेर आम उपभोक्तासँग ‘टच’ मा बसेर काम गर्ने नौलो इच्छा जन्मिएको रहेछ। २०६६ सालमा यो सोचलाई सार्थक बनाउँदै विशालबजार अगाडि इन्द्रचोकमा जय अम्बे साडी सोरुम सञ्चालनमा ल्याउन सफल भए। यसअघिसम्म अन्य ठूला व्यापारिक घरानालाई पहिरन आपूर्ति र खुद्रामा बिक्री गर्दै आएका पाण्डे साडीको यो सोरुममार्फत आफ्नै व्यापारमा हाम फालेका थिए। यो व्यवसाय पाण्डेलाई निकै फलदायी सावित भयो। यो सोरुममार्फत नयाँ व्यवसायमा होमिएका उनलाई राजधानीको बाक्लो बसोबासलाई सस्तो, गुणस्तरीय र ब्रान्डेड पहिरन प्रमुख बजार केन्द्रमा उपलब्ध गराउने नयाँ लोभले आकर्षित गर्‍यो। निकै सचेत भएर खुडकिलो चाल्दै आएका पाण्डेले अबको दिनमा काठमाडौंभरका बासिन्दालाई व्यापारिक सुविधा उपलब्ध गराउन विभिन्न प्रमुख व्यापारिक केन्द्रमा दुई दर्जनभन्दा बढी संख्यामा बहुर्राष्ट्रिय कम्पनीको ब्रान्डेड सोरुम सञ्चालन गर्न सफल भए।

सहरको परिधी बढ्दै गइरहेको अवस्थामा केबल न्युरोडको व्यापारले सन्तुष्ट हुन सकेनन् उनी। सहरको बाक्लो वस्ती भएको सबै क्षेत्रमा सस्तो, गुणस्तरीय र ब्रान्डेड पहिरन पुर्‍याउनसके व्यापार फैलिनसक्छ भन्ने उनको सोचले उनलाई सत्य साबित गर्‍यो। केही वर्षमा नै उनले काठमाडौंका विभिन्न क्षेत्रमा करिब दुई दर्जन सोरुम स्थापना गरे। युवायुवतीमा अन्तर्राष्ट्रिय फेसनप्रतिको मोहलाई ध्यानमा राख्दै उनले दरबार मार्ग, लबिम मल, जावलाखेललगायत स्थानमा चर्चित बहुर्राष्ट्रिय कम्पनीका आधिकारिक सोरुम सञ्चालनमा ल्याए।

दरबारमार्गमा ‘दा मिलानो’ ब्रान्डलाई महत्व दिए भने लबिममलमा ‘लुई फिलिप’, ‘इन्डियन टेरेन’ र जावलाखेलमा ‘एपी’ ब्रान्डका सोरुम आरपी ग्रुपको स्वामित्वमा सञ्चालनमा ल्याए। यो बेला पाण्डेको स्वामित्वमा उपत्यकाभर करिब पाँच दर्जनको संख्यामा यस्ता प्रख्यात कम्पनीको ब्रान्डेड सोरुम सञ्चालनमा छन्। जसमार्फत बच्चादेखि वृद्घसम्म, महिलादेखि पुरुषसम्मको पहिरन, जुत्ताा, ब्याग, लगेजलगायत सुपथ मूल्यमा बजारीकरण भइरहेका छन्।

हालसम्म बहुर्राष्ट्रिय कम्पनीको पहिरनको कारोबार गर्दै आएका पाण्डेलाई नेपाली सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने धोको छ। ‘मौलिक नेपाली उत्पादनको अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्नु आफैंमा ठूलो अवसर हो’, पाण्डे भन्छन्,‘तर, यो योजना सोचेजस्तो सहज छैन। हामीकहाँ चाहिने परिमाणमा उत्पादन छैन। त्यसपछि गुणस्तरको पनि समस्या छ।’ यसबाहेक नेपाली उत्पादनको नियमित आपूर्ति गर्न अर्को कठिनाई रहेको उनको अनुभव छ। ‘यस्ता समस्याका बावजुद यस्तो प्रकृतिको व्यवसाय गर्न तीव्र इच्छा आएको छ’, उनी भन्छन्, ‘बजार अध्ययन गरेर केही समयमै नयाँ व्यवसाय लिएर आउने तयारीमा छु।’

अतिथि सत्कारमा लगानीको योजना
लामो समयदेखि गर्दै आएका ब्रान्डेड कारोबारलाई निरन्तरता दिँदै पाण्डेमा नयाँ क्षेत्रको व्यवसायमा लगानी गर्ने इच्छा विस्तारै पलाउँदै थियो। कोभिड १९ को महामारीपूर्व पाँचतारे होटेलमा लगानी गर्न झण्डै पुगिसकेका उनी अहिले ‘पर्ख र हेर’ को अवस्थामा छन्। ‘तारे होटेलमा लगानी गर्ने तयारी अन्तिम समयमा पुगेको थियो’, पाण्डे भन्छन्, ‘कोभिड १९ को प्रकोप सुरु भयो। सञ्चालनमै रहेका सम्पूर्ण होटेल व्यवसाय बन्द भएर समस्या परेपछि तत्कालका लागि यो योजना पर्ख र हेरको अवस्थामा छ। अवस्था सामान्य भएपछि यो योजनालाई फेरि अघि बढाउने सोच छ।’

सफलताका कारक
उनको सफलताको राज के हो, जो कोहीलाई कौतुहलता लाग्न सक्छ। उनी सहज रूपमा जवाफ दिन्छन्, ‘यसको सम्पूर्ण श्रेय मेरो लगनशीलतालाई जान्छ। व्यापारमा इमान्दारिता र परि श्रमलाई निरन्तरता दिन सकिए सफलताको चुचुरोमा पुग्न सकिन्छ।’ बिहान साढे चार बजे उठने उनी दैनिक गणेश मन्दिर जाने र हनुमान चालिसाको पाठ गर्छन्। परेवालाई दैनिक गहुँ चामल खुवाएर मात्रै उनको दैनिकी सुरु हुन्छ। पाण्डे थप्छन्, ‘व्यवसायमा वचनको पक्का हुनु पनि एक प्रकारको गुण हो। विश्वसनीयता हरेक क्षेत्रमा आवश्यक छ।’ धार्मिक आस्थाले पनि आफूलाई व्यापार व्यवसाय गर्न आँट पुर्‍याएको उनको अनुभव छ। पाण्डेले काम गर्ने सहयोगीलाई कामदार र तलबसँग जोडेर दाज्न नहुने सुझाव दिन्छन्। व्यवसायमा प्रतिस्पर्धा गरेर आफू कमाउने तर कामदार र सहयोगीलाई उचित तलब सुविधा उपलब्ध नगराउने व्यवसायी थोरै समयमा ओरालो बाटोमा लाग्ने उनको भनाइ छ। व्यापक र सघन भेटघाट पनि उनको सफलताको कडीको रुपमा छ। उनको यो भनाइलाई नकार्न सकिन्न। दरबारमार्गको विभिन्न कफी सपमा गफिँदै गरेको उनलाई सहजै भेट्न सकिन्छ।

व्यक्तिगत जीवन
२०३३ साल असोज १० गते वीरगन्जको निम्नवर्गीय परिवारमा जन्मिएका पाण्डेका खलक सय वर्षअघि उतै बसाइ सरेका हुन्। उनका पिता स्कुलका प्रधानाध्यापक थिए। पिताले छोरालाई पढाइमा केन्द्रित हुन जोड नदिने कुरै थिएन। पिताको आग्रह मान्दै व्यवसायसँगै बीकमसम्म अध्ययन गरे, उनले। १७ वर्षअघि साथीको विवाहमा सरिक भएका पाण्डेले सप्तरीको छिन्नमस्ता भगवतिको दर्शनपछि आफूमा ‘नवितनम’ ऊर्जाको सञ्चार भएको र सोही ऊर्जाका कारण आफू हरेक क्षेत्रमा सफल भएको पाण्डेको दाबी छ। मंगलबार ब्रत बस्ने यीनलाई रक्सी र चुरोटको स्वाद आजसम्म थाहा छैन। बिल्कुल सादा जीवन उच्च विचारका धनी मानिन्छन् उनी। पुस्तक अध्ययन र सिनेमा हेर्नु उनको ठूलो सोख हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.