भूकम्प पीडितसँग रकम असुली
बेंसीसहर : भूकम्प पीडितसँग गैरकानुनी रुपमा रकम असुली गरेको अरोपमा उजुरी परेपछि लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कार्यरत तीन प्राविधिकको जागिर खोसिएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट मर्स्याङ्दी गाउँपालिकामा खटिएका इन्जिनियर भुपेन्द्रकुमार मण्डल, सब इन्जिनियर राजकुमार गौतम र सब इन्जिनियर टिकाप्रसाद गुरुङलाई जागिरबाट बर्खास्त गरिएको हो।
उनीहरु २०७५ सालबाट लमजुङमा कार्यरत थिए। उनीहरु तीनै जनाले भुकम्प पीडितसँग घुस लिएको प्रमाणित भएपछि बर्खास्त गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरण लमजुङका प्रमुख जगदिश मिश्रले बताए।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–१ घनपोखरा सेने गाउँका आठ भूकम्पपीडितसँग प्राविधिक भूपेन्द्रकुमार मण्डलसहितले रकम लिएको पाइएको हो । स्थानीय बुद्धिबहादुर गुरुङ, मनबहादुर गुरुङ, जीवन गुरुङ, हस्तबहादुर गुरुङ, चक्रबहादुर गुरुङ, बाङ्ग्रे विक, खेमबहादुर गुरुङ र रसिराम गुरुङसँग प्राविधिक टोलीले प्रतिव्यक्ति ५०-५० हजार रुपैयाँ गरी चार लाख रुपैयाँ लिएका थिए । सरकारले दिएको अनुदानबाट बनाएको घर मापदण्डअनुसारको नभएको भन्दै आफूहरूसँग रकम असुलेको पीडितहरूको गुनासो छ ।
पीडितले आफूहरूसँग प्राविधिक मण्डलले रकम असुलेको भन्दै उनीविरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । लमजुङ सदरमुकाम बेसीशहरमा रहेको ग्लोवल आईएममी बैंकमा गत असार २९ गते अन्तिम किस्ता निकाल्ने क्रममा प्राविधिकले रकम असुलेका हुन्।
प्राविधिकले तपाईको घर मापदण्ड अनुसार भएको छैन्, त्यसैले ५० हजार दिनुपर्ने भनेपछि रकम दिएको बुद्धि बहादुर गुरुङले बताए। हामी गाउँका कसैलाई पनि प्राविधिकलाई रकम दिनुहुन्न भन्ने थाहा नपाएरै रकम दिएको उनले बताए।
गाउँका पूर्ण क्षतिमा परेका सबै भूकम्प पीडितहरु रकम बैंकमा आएको खबर पाएसँगै बेसीशहर आएका थिए। पीडितहरु जिल्ला प्रशासन कार्यालय लमजुङमा उजुरीका लागि आउँदै गर्दा सब इन्जिनियर टिकाप्रसाद गुरुङले बाटोमा रोकेर ४ लाख रुपैयाँ रकम फिर्ता गरेका थिए।
उजुरी दिनका लागि पीडित ८ जनामध्ये ५ जना बेसीशहर झर्दै गर्दा विन्दाबेसी गाउँमा आइपुग्दा एक जना बाइकमा आएर उजुरी नदिन दवाव दिएका थिए।
प्राविधिक मण्डलले भने आफूले पैसा नलिएको दाबी गरेका छन् । लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले पीडितहरूले आइतबार जिल्ला प्रशासन कार्यालयमा प्राविधिकले रकम लिएको भन्दै उजुरी दिएकाले अनुसन्धान भइरहेको बताए । ‘प्रहरी मार्फत प्राविधिकलाई झिकाएर अनुसन्धान भैरहेको छ, प्रमाणित भए कानुनबमोजिम कारबाही गरिनेछ,’ उनले भने ।