बाटो खन्दा खानेपानी बन्द
भक्तपुर : नयाँ बाटो खोल्दा भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित नयाँ बस्तीका करिब एक हजार घरधुरी खानेपानीबाट वञ्चित भएका छन्। नयाँ बाटो खोल्ने क्रममा स्काभेटरले ६ इन्चको डीई पाइपमा क्षति पुर्याएपछि एक महिनादेखि खानेपानी आएको छैन।
सरस्वती टोलदेखि नयाँ बस्ती जोड्ने गरी बागमती प्रदेश सरकारले नयाँ सडक खोल्ने ठेक्का दिएको थियो। चलनचल्तीको गोरेटो बाटोलाई अहिले ६ मिटर चौडा बनाउन लागिएको हो। भीरपाखा भासेर सडकको नयाँ ट्रयाक खोल्ने क्रममा खानेपानी पाइपलाइन उछिट्याएको थियो। ठेकेदारलाई नयाँ बाटो खोल्ने क्षेत्रमा खानेपानीको पाइपलाइन रहेको बताउँदा बताउँदै जथाभावी सडक खन्दा क्षति पुगेको ३ का वडासदस्य घनश्याम भट्टराईले जानकारी दिए। सोही कारण महिना दिनदेखि खानेपानीबाट स्थानीय वञ्चित भएका हुन्। पटकपटक मर्मत गर्न ध्यानाकर्षण गराए पनि बालकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले चासो नदिएको उनले गुनासो गरे। स्थानीयले समेत समितिका पदाधिकारीलाई खानेपानी मर्मत गर्न पटक पटक ध्यानाकर्षण गरेको तर सुनुवाइ नभएको ब्रह्मनगर टोल सुधार समितिका अध्यक्ष ज्ञानप्रसाद चौलागाईंले बताए।
‘क्षति पुगेको खानेपानी पाइपलाइनसँगै अर्को वैकल्पिक पाइपलाइन छ। त्यहाँबाट भए पनि खानेपानी वितरण गर्न माग गर्दासमेत समितिले सुनेन’, चौलागाईंले भने, ‘ठेकेदारले क्षति भएको पाइपलाइन मर्मत गर्न सहयोग गर्छु भन्दा पनि खानेपानी समिति अघि सरेन।’ उपभोक्ता मासिक पाँच हजार रुपैयाँ खर्चेर खानेपानी किन्न बाध्य भएको समितिसचिव दामोदर भट्टराईले सुनाए। ‘समितिले हप्तामा एक दिन पानी दिन्थ्यो’, उनले भने, ‘समितिलाई महिनामा एक सय २५ रुपैयाँ तिरे पुग्थ्यो। अहिले महिनामा पाँच हजारभन्दा बढी खर्च गरेर खानेपानी जोहो गर्नु परिरहेको छ।’ उनले वडाध्यक्षलाई खानेपानी समस्याबारे जानकारी गराउँदा पनि ध्यान नदिएको गुनासो गरे।
वडाध्यक्ष शिवशरण खत्रीले भने नपा र खानेपानी समितिमा क्षति पुगेको पाइप नभएकाले मर्मत गर्न नसकिएको बताए। उनले बाटो खोल्दा स्काभेटरले पाइपलाइन उछिट्टिएकाले ठेकेदारलाई मर्मत गर्न भनिएको तर ठेक्का अवधि सकिएको र काम पूरा नगरेकाले उक्त ठेक्काको बजेट फ्रिज हुने उनको भनाइ छ। बजेट फ्रिज भएसँग उक्त बाटो नबने भएपछि लामो समयसम्म खानेपानीबाट बञ्चित हुने चिन्ता नयाँ बस्तीमा बढेको छ। बाटो कहिले बन्छ ठेगान छैन। ठेकेदारले म्याद थप भएर मंसिरदेखि काम हुने बताएको वडासदस्य भट्टराई बताउँछन्। खानेपानी जस्तो अत्यावश्यक सेवाबाट सर्वसाधारण अनिश्चितकालसम्म वञ्चित हुन नहुने उनको तर्क छ। यता खानेपानीका सचिव हरिशरण अधिकारीले खानेपानी पाइपलाइन भएको जानकारी दिँदादिँदै डाङडुङे शैलीमा नयाँ सडक खोल्दा क्षति पुगेको बताए। उनले मंगलबार मर्मतको सामान ल्याइसकेकाले शनिबारसम्म उपभोक्ताले खानेपानी पाउने जानकारी दिए। ‘मंगलबार काठमाडौंबाट मर्मतको सामान ल्याएका छौं’, उनले भने, ‘शनिबारसम्ममा उपभोक्ताको घरघरमा पानी पठाउँछौं।’ खानेपानी पाइपलाइन भएको भीरपाखाको गोरेटो बाटो भासेर नयाँ बाटो खोलिँदै।