कोरोनाबाट जोगिएका युवकलाई पहिरोले घर पुग्न दिएन
बेनी : विदेशबाट आएर सदरमुकामको क्वारेन्टाइनमा बसेर घर फर्कदै गरेका म्याग्दीका एक युवकको मंगलबार पहिरोमा पुरिएर मृत्यु गएको छ। बेनी–जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा खसेको पहिरोले पुरिएर सोही पालिकाको ३ नम्बर वडामा पर्ने काभ्रेका ३२ वर्षीय झलक पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी किरनजंग कुँवरले जानकारी दिए।
बेनीबाट काभ्रे स्थित घरतर्फ जाने क्रममा हिडिरहेको अवस्थामा भिरबाट खसेको पहिरोले पुरिएका पुनको घटनास्थलमै मृत्यु भएको उनले बताए। पुनसँगै रहेका अर्का एक जना पुरुषले भागेर ज्यान बचाएका छन्।
प्रनाउ कुँवरका अनुसार पुन १४ दिन बेनीको क्वारेन्टाइनमा बसेर घर जाँदै थिए। कुवेतबाट आएका उनलाई पिसिआर विधिबाट परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको थियो।
वडा सदस्य समेत रहेका काभ्रेका हस्तबहादुर पुनका अनुसार झलक दुई वर्षअघि कुवेत गएका थिए। ‘क्वारेन्टाइन अवधि पुरा गरेर भोली घर आउँछु भन्दै हिजो फोन गरेका थिए,’ उनले भने ‘विश्वव्यापी महामारीको रुप लिएको कोरोनाबाट जोगिएपनि पहिरोले घर आइपुग्न दिएन।’
पुनको घरमा दुई जना छोरा, श्रीमति, बुवा र आमा छन्। सिमा प्रहरी चौकी भुरुङ्ग–तातोपानीका प्रहरी र स्थानीयबासीले शव निकालेका थिए। पहिरो खसिरहेको अवस्थामा जोखिम मोलेर शव निकालेको उद्दारमा खटिएका प्रहरी जवान लक्ष्मण क्षेत्रीले बताए।
सो ठाउँमा कालीगण्डकीले कटान गरेर सडक साँघुरिएको छ। यसैबीच कालीगण्डकीको कटानका कारण भुरुङ्ग–तातोपानीको तल्लो बजारका करिब तीस घरधुरी विस्थापित भएका छन्। बस्तितर्फ कटान गर्न थालेपछि जोखिममा रहेका घरका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताए।
अन्नपूर्ण–३ काभ्रेको भजेनी खोलामा आएको बाढीले सोमबार स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई वेपत्ता बनाएको थियो। गर्बुजा अझै भेटिएका छैनन्। पहिरोको जोखिमका कारण काभ्रेका १५ घर र ठाडाका सात घर विस्थापित भएका स्थानीय सुनबहादुर बिकले बताए।
बेनी–जोमसोम सडकको नागढुङ्गाको कालीगण्डकीको कटान र पहिरोले सडक बगाएपछि भिरबाट वारपार गर्दै।