लकडाउनको भर्चुअल पीडा

लकडाउनको भर्चुअल पीडा

भर्चुअल जमघटमा उपस्थित हुन नसकेकोमा आयोजकमध्येका एकजनाले व्यंग्य हाने, ‘यस्तो फुर्सदका बेला पनि तपाईं त उपस्थित हुनुभएन ! घरैमा बसीबसी पनि सहभागिता नजनाइदिने ? लकडाउनमा पनि केको व्यस्तता हो ? ’ जबाफ थिएन मसँग। किनकि फुर्सद भएन भन्न पनि सक्दिनथें। कार्य क्षेत्र खुलेको छैन। अन्यत्र जान पनि सम्भव देखिँदैन। उनले भनेजस्तै म घरमै रहन्छु तर फुर्सदै छ पनि कसरी भनूँ ? दैनिक दुईचारवटा भर्चुअल कार्यक्रमको निम्ता ! अघिल्लो व्यस्ततामा थन्किएका धेरै काम सम्पन्न गर्नुपर्ने, साथमा आफ्नो दैनिकी त छँदै छ। त्यसैले म अहिलेको भर्चुअल संसारमा रमाउन सकिरहेकी छैन। सहभागिता केवल बाध्यात्मक मात्र !

कोरोना महामारीले धेरै नकारात्मक असर पारेको भए पनि प्रविधिका सम्बन्धमा भने यो समय निकै उपलब्धिमूलक देखियो। यसले धेरैलाई प्रविधिसँग परिचित हुने तथा त्यसको प्रयोग गर्ने मौका प्रदान गर्‍यो। विद्यालय-विश्वविद्यालयका अनलाइन कक्षादेखि अन्य कार्यालयका काम पनि प्रविधिकै माध्यमबाट हुन थाले। विभिन्न संघसंस्था, राजनीतिक दल, तिनका भ्रातृसंगठनलगायत गुट-उपगुट हुँदै व्यक्ति-व्यक्तिले कुनै न कुनै विषयमा विचार आदान-प्रदान गर्ने तथा आफ्ना धारणा सार्वजनिक गर्ने सरल माध्यम बनिरहेछ अहिले प्रविधि। त्यसैले धेरैको दैनिकी अचेल मोबाइल तथा ल्यापटपसँगै चलिरहेको देखिन्छ। पाकाहरूको त कुरै छाडौं, किशोर-किशोरी तथा बालबालिकाका पनि अधिकांश समय मोबाइलमा नै बित्ने गरेको छ। प्रविधिसँगको यस्तो परिचय तथा सामीप्य सकारात्मक हो तर त्यसभित्रको अर्को पाटो पनि छ, जसलाई नदेखे भैंm गर्नु उपयुक्त नहोला !

एक मित्रको भनाइ सम्झन्छु, ‘विद्यालय बन्द भएपछि त मेरो ड्युटी झनै थपिएको छ। एकछिन फुर्सद छैन।’ मैले सोधेकी थिएँ, ‘केटाकेटी अनलाइन कक्षा लिँदैनन् र ? ’ ‘त्यही अनलाइन पढाइ त हो नि टेन्सनको विषय !’ मेरो कुरा पूरै नसुनिकन उनले भनेकी थिइन्। यथार्थमा यो उनको मात्र चिन्ताको विषय नभएर हामी सबैको सरोकारको विषय बनेको देखिन्छ। विद्यालय बन्द भएपछि सरकारले अनलाइन शिक्षाको अवधारणा ल्यायो। इन्टरनेटको पहुँच हुने ठाउँमा त्यसको प्रयोग पनि भयो। यसका लागि सर्वाधिक सजिलो साधन मोबाइल फोन बन्यो। सूचना आदानप्रदानका लागि, कक्षा-शिक्षक तथा साथीभाइका समूह आपसमा आबद्ध हुनुपर्ने आवश्यकताका कारण विद्यार्थीले फेसबुक, म्यासेन्जर आदि चलाउने अनुमति पाए। कस्तो अचम्म ! केही दिन अघिसम्म सामाजिक सञ्जालमा समय बिताउने विद्यार्थीलाई गाली गर्ने शिक्षकहरू अहिले त्यसैलाई प्रोत्साहित गर्नुपर्ने अवस्थामा पुगे। केटाकेटी मक्ख परे। किनकि उनीहरूका लागि मोबाइलमा निर्धक्कसँग समय बिताउने योभन्दा उत्तम मौका अर्को हुँदैन्थ्यो !

अनलाइन कक्षा जोडतोडका साथ चल्न थाल्यो। प्रविधिसँग राम्रो दक्खल नभएका शिक्षक वर्ग पनि मेहनत गरी सिकेर आफ्नो कक्षा लिन सक्ने भए। सहरी क्षेत्रका अभिभावकले विद्यालय बन्दको पीडा बिर्सन मात्र के लागेका थिए, उनीहरूसामु भर्चुअल पीडाले पो टाउको उठाउन थाल्यो। अधिकांश विद्यार्थी मोबाइल, ल्यापटप, ट्याब आदि खोलेर कक्षा लिएजस्तो त गर्ने तर काम भने साथीहरूसँग च्याटिङ, गेम तथा अन्य मनोरञ्जन गर्ने ! अभिभावकले छेउबाट यसो चियायो। शिक्षकले पढाइरहेका छन्। कक्षा चलिरहेकै छ। बोल्ने कुरै भएन ! कक्षा सकिएपछि पनि मोबाइल आदिमै झुम्मिएका छोराछोरीलाई प्रश्न गर्दा गृहकार्य तथा पढाइमा नै लागेको जबाफ आउने। यस्तै परिस्थितिको सामना थियो मेरी मित्रको तनाव। उनलाई पलपल आफ्ना छोराछोरीको गतिविधिमा निगरानी गरिरहनुपर्ने रहेछ।

बालबालिका तथा किशोर-किशोरीलाई पूरै इन्टरनेटको सञ्जालबाट जोगाउन सरकार, विद्यालय-व्यवस्थापन तथा अभिभावकको साझेदारीमा अनलाइन शिक्षालाई प्रभावकारी बनाउने वा त्यसको विकल्प खोज्नेमा ढिलाइ गरिनु हुँदैन।

यस्तै अर्का आफन्तको मोबाइलमा फोन गर्दागर्दै हैरान भएँ सम्पर्क नभएर। ल्यान्डलाइनमा सम्पर्क भएपछि गुनासो गर्दा उल्टै उनले नै दुखेसो पोखे, ‘अचेल मोबाइल हामीसँग कहाँ रहन्छ र ? त्यो त छोराछोरीको स्कुल पो बनेको छ त ! हरेकलाई छुट्टाछुट्टै मोबाइल, कसैलाई ल्यापटप। आफ्नो त कामै ठप्प। दुइटा त मोबाइल नै किन्नुपर्‍यो। यति मात्र त ठिकै थियो, केटाकेटीका आँखै बिग्रने पो हो कि भन्ने पिर !’ उनको दुखेसो मनासिब थियो। किनभने हामीकहाँ विनाअनुभव र विनातयारी अनलाइन कक्षा आरम्भ गरियो। विकसित मुलुकमा यस्ता कक्षा सातामा दुई-तीन दिन सञ्चालन गरिन्छ। त्यसमा विद्यार्थीको प्रत्यक्ष सहभागिता रहन्छ। उनीहरूलाई गृहकार्य दिँदा पनि सिर्जनात्मक क्षमता विकास हुने तथा आफैंले केही खोजेर, अनुभव गरेर तयार गरिने ‘प्रोजेक्ट वर्क’ दिइन्छ।

विद्यार्थीले केही समय लगाएर सम्पन्न गर्छन् अनि शिक्षकलाई पठाउने वा कक्षामा प्रस्तुत गर्छन् तर हामीकहाँ एकै दिन तीन-चारवटा विषयका कक्षा लगातार चलाइयो। प्रत्येक दिन कक्षा चलाउने र ती सबै विषयका गृहकार्य पनि दिइयो। विद्यार्थीले कापीमा लेख्ने अनि फोटो खिचेर मोबाइलबाट पठाउने ! यो आफैंमा न सहज प्रक्रिया थियो न त प्रभावकारी नै ! साना कक्षाका केही विद्यार्थी मात्र यो काम आफैं गर्दथे बाँकी अभिभावकले गरिदिनुपर्ने। विशेषगरी निजी विद्यालयका शिक्षकका लागि यस प्रकारको शिक्षण सिकाइ सहज थिएन। किनभने उनीहरू एकै दिनमा एउटै विद्यार्थीका आठ-दस पेज गृहकार्यको फोटो प्राप्त गर्दथे। सबैको गृहकार्य हेरेर प्रतिक्रिया पनि दिनुपर्ने। यसका लागि उनीहरू प्रविधिसँग निरन्तर जोडिइरहनुपर्ने। हामीकहाँको कमजोर इन्टरनेट सेवा, बेलाबेला बन्द हुने विद्युत् आपूर्ति ! शिक्षक तथा विद्यार्थी दुवैका लागि असहज बनिरहेकै अवस्थामा हाल यस्तो कक्षा स्थगन गरिएको छ। यसलाई नयाँ किसिमले प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको भए त ठिकै हो, तर निजी विद्यालयका शिक्षकलाई बेतलबी बिदा दिनैका लागि यस्तो निर्णय आएको हो भने यो सोचनीय विषय हो।

निजी विद्यालयको जागिरकै भरमा डेरा लिएर परिवारको गुजारा गरिरहेका असंख्य शिक्षकको बाँच्ने आधार के ? महामारीको विषम परिस्थितिमा सर्वत्र मानवीय व्यवहारको अपेक्षा गरिरहँदा निजी विद्यालयको रोजगारमा आ िश्रतका लागि यस्तो अमानवीय व्यवहार किन ? उनीहरूले सरकार हुनुको अनुभूत गर्न नपाउने ? वर्तमानको विषम परिस्थितिमा विद्यार्थीको पठनपाठन शून्यमा नराख्ने तथा शिक्षक-कर्मचारीको गाँस पनि नकाटिने गरी प्रभावकारी कार्यक्रम ल्याउन सकिँदैन ? देशमा सरकार, त्यसअन्तर्गत शिक्षा मन्त्रालय, प्याब्सनलगायतका संघसंस्था अनि शिक्षाविद् र बौद्धिक वर्गको आवश्यकता यस्तै विषम परिस्थितिका लागि होइन र ?

हो, अनलाइन शिक्षा प्रभावकारी भएन, तर यसको आरम्भ र स्थगनले बालबालिका अवश्य प्रभावित भएका छन्। अनलाइन कक्षा आरम्भका लागि बालबालिकालाई पनि विद्युतीय उपकरण अनिवार्य बन्यो। चार-पाँच कक्षामा पढ्ने विद्यार्थी पनि फेसबुक, म्यासेन्जरलगायत गुगल अकाउन्ट खोल्न बाध्य भए। किशोर-किशोरीका समस्या आफ्नै ठाउँमा छन्। ती ससाना नानीका थरीथरीका साथी बने। उनीहरूबीच विभिन्न सामग्री आदानप्रदान र पोस्ट गर्ने क्रम बढ्यो। कतिसँग घनिष्टता बढ्यो, कतिसँग सम्बन्ध टुट्यो। कति समय तनावमा बिताए। दिनभरजस्तै च्याटिङ हुन थाल्यो।

अभिभावकका आँखा छलीछली म्यासेज लिनेदिने गरियो। घन्टौंसम्मको म्यासेन्जर-भाइबरमा कुराकानी, गेमिङ यस्तै-यस्तै। यो भर्चुअल संसार यतिमा नै सीमित भएन, किशोरावस्थामा प्रवेश गरेका छोराछोरीका अभिभावकका लागि त झनै चुनौतीपूर्ण बन्यो। सामाजिक सञ्जाल तथा युट्युबमा खुला रूपमा आउने विभिन्न सामग्री उनीहरूले निर्बाध हेर्न सक्ने भए। हेरे, प्रभावित पनि भए। नकारात्मक कुराको असर तुरुन्त पर्ने हुनाले कतिपय बालबालिका तथा किशोरकिशोरी गलत बाटोमा अग्रसर हुन थालेको गुनासो पनि सुनियो। त्यसैले सचेत अभिभावकका लागि यो समय हरपल छोराछोरीको निगरानी गर्ने दायित्व थपियो। अहिले हामीमध्ये धेरैले यस प्रकारको भर्चुअल पीडा झेलिरहेका छौं।

सामान्यतः विद्यालय शिक्षा पूरा नगरेका बालबालिकाका हातमा मोबाइल आवश्यक हुँदैन र त्यसको प्रयोग पनि सकारात्मक देखिँदैन। भर्खर प्रविधिसँग परिचित हुँदै गरेका हामीले एकाएक यसैमा निर्भर हुने प्रयास गर्‍यौं अतः सफल हुन सकेनौं। कोठा-कोठामा र व्यक्ति-व्यक्तिले सञ्चालन गर्ने भर्चुअल कार्यक्रम उपलब्धिमूलकभन्दा समयको बर्बादी बनिरहेको यथार्थ एकातिर छ भने अर्कातिर यसले बालबालिकालाई नराम्ररी प्रभावित पारिरहेको देखिन्छ। अब उनीहरूले यथार्थ संसारमा नभएर भर्चुअल संसारमै रमाउन सिकिरहेका छन्। अनलाइन कक्षा केही समय सञ्चालन भएर बन्द भएपछि त उनीहरूको पूरै समय ग्याजेट र इन्टरनेटमा बितिरहेको देखिन्छ। सबै अभिभावकसँग न उनीहरूको पछिपछि लाग्ने समय हुन्छ न त उनीहरूले हेर्ने, सुन्ने सामग्री तथा साइट पछ्याउने र बुझ्ने क्षमता नै ! फेरि उनीहरूका हातमा परिसकेको डिभाइस खोस्न पनि सकिँदैन। त्यसैले यस्तो जटिलताबाट बालबालिका तथा किशोर-किशोरीलाई जोगाउन सरकार, विद्यालय-व्यवस्थापन तथा अभिभावकको साझेदारीमा अनलाइन शिक्षालाई प्रभावकारी बनाउने वा त्यसको विकल्प खोज्नेमा ढिलाइ गरिनु हुँदैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.