'गोदी मिडिया' को हर्कत र हाम्रो हार्दिकता
नेपालमा भारतविरोधी भावना र मनोविज्ञानको विकासमा एकथरी भारतीय मिडियाले पहिलेदेखि नै मलजल गर्दै आएका छन्। ती मिडियाको अफवाहका कारण भारत पटकपटक यहाँ अपमानित र आलोचित हुनुपरेको छ।
नेपाल र हाम्रा प्रधानमन्त्रीबारे अफवाह फैलाउने केही भारतीय मिडियाको हर्कतको चर्चा र बहस अझै सेलाएको छैन। पछिल्ला दिनमा एकथरी भारतीय मिडियाले जुन चित्र र चरित्र देखाए, नेपालमा मात्र होइन, भारतभित्रै पनि त्यसको निन्दा र आलोचना भयो। यसलाई 'गोदी मिडिया'को हर्कतका रुपमा सामाजिक संजालमा चर्चा पनि भयो।
भारत र चीन दुवै हाम्रा समान छिमेकी हुन् । दुवैको सहयोग र सद्भाव हाम्रा लागि अपरिहार्य छ। दक्षिणतिर निकटता मात्र होइन, निर्भरता पनि अलि धेरै छ अनि सहयोगको मात्रा र आदानप्रदानको शृखंला पनि बढी छ।नेपाल भारतबीच कूटनीतिक र राजनीतिक सम्बन्ध मात्र होइन, सामाजिक र सांस्कृतिक हिसाबले पनि जनस्तरमा निकै गहिरो सम्बन्ध छ। दक्षिणतिर हाम्रो खुला नाका मात्र होइन, सांस्कृतिक नसा पनि जोडिएको छ।
दक्षिणतिरको परम्परागत निकटता र निर्भरता हाम्रो भूराजनीतिक यथार्थ पनि हो। निर्भरता घटाएर आत्मनिर्भर हुने कुरा अति राम्रो हो, तर यो बोलीले मात्र संभव हुँदैन । त्यसका लागि दरो नेतृत्व र त्यस्तै नीति अनि पद्धति चाहिन्छ। यो रणनीतिक लक्ष्यको कुरा हो। अहिलेको वास्तविकता फरक छ। यसलाई उपेक्षा गर्न मिल्दैन।
सदियौंदेखिको नेपाल भारतबीचको बलियो सम्बन्ध केही मिडियाको हर्कत र हल्लाले हल्लिदैन। यो सत्य दुवै देशका नेतृत्व र नागरिकलाई राम्रोसँग थाहा छ। तर 'गोदी मिडिया' वा अन्य आवरणमा प्रकट हुने यस्ता मिडिया दुई देशबीचको सम्बन्धमा खेल्न चाहनेहरूका लागि मसला हुनसक्छन् अनि अनावश्यक असमझदारी र अलमल पैदा गर्न यसले बल पुग्नसक्छ। अहिले सबैतिरको चासो र चिन्ता यसतर्फ केन्द्रित छ।
भारतीय मिडियाका अफवाह शृखंला
नेपालमा भारतविरोधी भावना र मनोविज्ञानको विकासमा एकथरी भारतीय मिडियाले पहिलेदेखि नै मलजल गर्दै आएका छन्। भारतीय संस्थापन तथा त्यहाँ खुबिया संयन्त्रको स्वार्थमा धक्का लाग्ने खालको कुनै राजनीतिक घट्नाक्रम जब यहाँ हुन्छ, त्यसलाई एकथरी भारतीय मिडियाले मसला बनाएर यसरी उचाल्छन् कि त्यहाँ वास्तविकता पनि छोपिने खतरा हुन्छ। जहाज अपहरण प्रकरणदेखि बिनाशकारी भूकम्पका बेला होस् अर्थात संविधान जारी गर्दाको अवस्थामा होस् मिडियाले फैलाउने अफवाहका कारण दक्षिणको छिमेकी पटकपटक यहाँ अपमानित र आलोचित हुनुपरेको छ।
नेपालसँग जोडिएको विषयलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने र भारतीय संस्थापनलाई उत्तेजित बनाउने एकथरी भारतीय मिडियाको पुरानै परम्परा र चरित्र हो। यसलाई पुष्टि गर्ने विगतका केही प्रकरणलाई यहाँ चर्चा गरौं।
सन् १९९९ डिसेम्बर २४ मा काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको बिमान अपहरण पर्दा पनि भारतीय मिडियाको प्रहार नेपालप्रति केन्द्रित थियो। नेपाली सुनिल ताम्राकारलाई जोडेर जी न्युजलगायतका टीभी च्यानलले अपहरणको विषयलाई यसरी अतिरंजित गरे, त्यसले दुई देशबीचको सम्बन्धमा शंकाको बादल मडारियो। नेपालको सुरक्षा व्यवस्थाबारे अनेक नकारात्मक टिप्पणी भए।
मिडिया विकासको इतिहास भारतसँग तुलना गर्ने हो भने हामी झण्डै तीन सय वर्ष पछाडि थियौं। तर त्यो इतिहास र उमेरलाई अहिलेको व्यवसायिक अभ्याससँग दाँज्ने हो भने हाम्रो मिडिया अहिले कुनै पनि हिसाबले कमजोर र पछाडि छैन। यसको प्रमाण हाम्रो व्यवसायिक अभ्यासले प्रस्तुत गरिसकेको छ।
यही प्रकरणपछि नेपाल र भारतको सम्बन्धमा सुरक्षा अवधारणा केन्द्रमा राखियो। भारतीय मिडियाले फैलाएको अफहवाको सिकार भए एकजना नेपाली युसुफ नेपाली भनिने भुपालमान दमाई। अपहरणमा संलग्न भएको अभियोगमा १४ वर्ष पञ्जावको पटियाला केन्द्रीय जेलमा दण्डित भएका भूपालमानलाई अन्तत:अदालतले निर्दोष ठहर गर्यो। रेलमा गोरखपुर हुदै नेपाल पठाइएका उनी अहिले गुमनाम छन्।
भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको हत्यामा तत्कालीन रानी ऐश्वर्य र एडीसी आदित्य शमशेरसम्म जोडेर केही भारतीय मिडियाले सनसनी फैलाएका थिए। त्यसमा नेपालले औपचारिक आपत्ति जनाएपछि भारतका तत्कालीन राजदूत केभी राजनले प्रष्टीकरण दिनुपरेको थियो।
२०५८ जेठ १९ को दरबार हत्याकान्डमा पनि भारतीय मिडियाको भूमिका विवादित र आलोचित रह्यो। वास्तविक सूचनाभन्दा भ्रम फैलाउने काम बढी भयो। मुलुक नै शोकमा रहेका बेला केही भारतीय टीभी च्यानलले उत्ताउला र आपत्तिजनक सामग्री र दृश्यका पस्केपछि घरघरबाट नेपाली दर्शकले भारतीय च्यानललाई बहिष्कारसमेत गरेका थिए। त्यतिबेला देखि नै नेपाली दर्शकको नजरमा भारतीय मिडियाको विश्वसनियता गिरेको हो।
२०७२ मा भुकम्पका बेला एकथरी भारतीय मिडियाले नेपालबारे यस्तो अतिरंजित र नकारात्मक तस्बिर प्रस्तुत गरे कि नेपालीहरूले सामाजिक सञ्जालमा ‘ब्याक अफ इन्डियन मिडिया' ‘गो होम इन्डियन मिडिया’ भनेर ह्यासट्याग नै चलाए। एकछिनमै भाइरल बन्यो र ट्रेन्डिङमा आयो। भारतले भूकम्पका बेला गरेको सहयोगलाई पनि यसले फिक्का बनाइदियो।
त्यसैगरी नाकाबन्दीका बेला केही भारतीय मिडियाले नेपाल चीनसँग जोडेर अनेक प्रपोगान्डा गरेका थिए। संविधान जारी गर्दासम्म त्यो प्रपोगन्डा निरन्तर चल्यो। दुई देशबीच उत्पन्न असमझदारीमा यसबाट पनि मलजल मिल्यो।
केही समयअघि नेपाली कलाकार मनिषा कोइरालाको ट्वीटमा भारतीय मिडियाको त्यही रवैया देखियो। भारतबाट अतिक्रमित भूमि समेटिएको नक्सा पारित गरेपछि मनिषाले त्यसको प्रशंसा गर्दै ट्वीट गरेकी थिइन्। त्यसको विरुद्ध भारतीय मिडिया खनियो। ‘खाति भारतकी ओर गाति चीनकी’जस्ता अभद्र भाषा र अपशब्द प्रयोग गरेर समाचार प्रसारण भए।
नेपालबारे अफवाह फैलाउने भारतीय मिडियाको हर्कत हाम्रो हार्दिकतासामु बारम्बार झुक्नुपरेको छ। सधै पराजित र लज्जित पनि हुनुपरेको छ। यसपटक पनि त्यही हालत ती मिडियाले भोग्नुपर्यो। केही टीभी च्यानलले फैलाएको भ्रममा भारतीय पाठकले पनि भरासा गरेनन् । त्यहाँका व्यवसायिक संचारकर्मीले पनि आलोचना गरे र नागरिकस्तरबाट पनि यसको निन्दा भयो।
चीनसँग तर्सिने रोग
प्रधानमन्त्रीले आफूलाई हटाउन भारत सक्रिय भएको अभिव्यक्ति दिएपछि 'गोदी मिडिया' नेपालमाथि खनिएको थियो। नेपाललाई च्याप्ने, पेल्ने र हेप्ने भारतको एउटा तप्काको रवैयाविरुद्ध प्रधानमन्त्रीको आक्रोशका रुपमा पनि यसलाई एउटा कोणबाट विश्लेषण गरिएको छ। तर त्यो आक्रोश उहाँले सार्वजनिक फोरममा त्यसरी पोख्नु उचित थियो कि थिएन? प्रधानमन्त्रीले नै यसरी मुख खोल्नुपर्ने वाध्यता किन आइलाग्यो ? यो प्रश्न आफ्नो ठाउँमा छ। त्यस बारेमा पर्याप्त बहस भइसकेको छ।
भारतीय मिडियाको प्रहार चिनियाँ सक्रियतातिर लक्षित देखिन्छ। नेपालस्थित चिनियाँ राजदूतको राजनीतिक भेटघाटलाई लिएर उनीहरू जे जस्ता दृश्य र शब्दावली प्रयोग गरे, आपत्तिजनक मात्र होइन, पत्रकारिताको एउटा अश्लिल अभ्यास पनि थियो त्यो। 'ओली की इश्किया', 'अतरंगी मुलाकात और नेपाल हार गए ओली' र हनी ट्रयापजस्ता शीर्षक र शब्दावली उनीहरूले प्रयोग गरेका छन्।
नेपालमा चीनको सक्रियता वा प्रभाव बढेको भारतीयहरूलाई पटक्कै मन पर्दैन।चीनसँग तर्सिने वा डराउने एउटा डरलाग्दो रोग भारतीयमा देखिन्छ। त्यसलाई सामाजिक संजालमा 'सिनोफोबिया'का रुपमा चर्चा गर्ने गरिएको छ। अहिले त्यसको सिकार भारतका गोदी मिडिया भएका छन्। चीनविरुद्ध विष औकल्ने क्रममा केही भारतीय मिडिया उत्ताउलो मात्र होइन, नांगो रुपमा प्रस्तुत हुन्छन्। यसपटक त्यसरी त्यही स्तरमा उनीहरु ओर्लिए।
सबै भारतीय मिडियालाई एउटै बास्केटमा राखेर हेर्नु हुँदैन। प्रेस स्वतन्त्रताको अधिकतम उपयोग गर्दै पत्रकारिताको राम्रो व्यवसायिक अभ्यास गर्ने थोरै मुलुकमध्ये भारत पनि पर्छ। भारतको लोकतन्त्रको बलियो आधारस्तम्भका रुपमा रहेको छ त्यहाँको सक्रिय र स्वतन्त्र प्रेस। केही भारतीय मिडियाले देखाउने चित्र र चरित्रलाई लिएर सम्पूर्ण भारतीय मिडियालाई गाली गर्नु वा धारणा बनाउनु गलत हो । केही मिडियाको अतिरंजनालाई भारतीय संस्थापनको नीति र नियतसँग जोडेर हेर्नु पनि उचित होइन। तर छिमेकीविरुद्ध आफ्नो मुलुकका मिडियाले यस्तो अफवाह फैलाउँदा सरकार चुप लाग्दा स्वभाविक रुपमा प्रश्न र आशंका उठ्छ।
कान्छो तर काँचो छैनौं
भारतीय गोदी मिडियाको हर्कतबारे आलोचना हुँदा नेपाली मिडिया र पत्रकारिताको व्यवसायिक स्तरबारे पनि एक खालको बहस भयो। यसका लागि इतिहासतिर फर्केर थोरै चर्चा गर्नु आवश्यक हुन्छ। पन्ध्रौं शताब्दीको मध्यतिर युरोपमा जोन गुटेनबर्गले छापाखानाको विकास गरेपछि सुरू भएको छापा पत्रकारिताको परम्परागत अभ्यास रेडियो र टेलिभिजन हुँदै डिजिटल चरणमा आइपुगेको छ। यसबीचमा मिडियाको चित्र र चरित्र धेरै फेरिएको छ। भारतको मिडिया विश्वकै पुरानो र ठूलो मिडिया मानिन्छ। जसले निरन्तर स्वतन्त्रताको उपभोग गर्न पाएको छ।
ब्रिटिश उपनिवेशको विस्तार र प्रवर्द्धनकै क्रममा भारतमा छिटो नै मिडियाको विकास भयो र प्रविधि पनि विस्तार भयो। १६ औं शताब्दीको मध्यतिर भारतमा प्रिन्ट मिडिया भित्रियो र अठारौं शताब्दीको अन्त्यतिर त्यहाँ पत्रकारिता सुरु भइसकेको इतिहास पाइन्छ। त्यसको तुलनामा हाम्रो मिडिया धेरै कान्छो हो। गुटेनबर्गले युरोपमा प्रेस विकास गरेको चार सय वर्षपछि जंगबहादुर राणाले बिस १९०८ मा बेलायतमा गिद्दे प्रेस ल्याए। त्यसको पचास वर्षपछि मात्र पत्रपत्रिका प्रकाशन तथा पत्रकारिताको अभ्यास सुरु भयो।
मिडिया विकासको इतिहास भारतसँग तुलना गर्ने हो भने हामी झण्डै तीन सय वर्ष पछाडि थियौं। तर त्यो इतिहास र उमेरलाई अहिलेको व्यवसायिक अभ्याससँग दाँज्ने हो भने हाम्रो मिडिया अहिले कुनै पनि हिसाबले कमजोर र पछाडि छैन। इतिहास र उमेरले कान्छो भए पनि हामी काँचो छैनौं भन्ने प्रमाण हाम्रो व्यवसायिक अभ्यासले प्रस्तुत गरिसकेको छ। भारतका केही मिडियाले निकै उत्ताउलो ढंगले प्रहार गर्दा पनि नेपाली मिडिया निकै संयमित र शालिन ढंगले प्रस्तुत भए । हाम्रो मिडियाको यो परिपक्कता र व्यवसायिक स्तरको समाजिक संजालमा प्रशंसा पनि भयो। नेपाली मिडियाले आफूलाई सच्चाउनुपर्ने वा सुधार्नुपर्ने थुप्रै पक्ष होलान् तर संकटको घडीमा र राष्ट्रिय स्वार्थ एवं हित रक्षा गर्ने मामिलामा नेपाली मिडियाले आफूलाई परिपक्क ढंगले प्रस्तुत गर्दै आएको छ।
अन्त्यमा,
केही मिडियाको चित्र र चरित्र हेरेर दुई बीचको सम्बन्धको आयु र आकार अनुमान वा अशंका गर्नु भूल हो। केही टिभी च्यानलको मसलावाला कन्टेन्टले सदियौंदेखिको न्यानो सम्बन्ध चिसिन सक्दैन। दुई देशबीच देखिएका असमझदारी र अस्पस्टतालाई जतिसक्दो चाँडो टुंग्याउनुपर्छ। यसका लागि दुवैतर्फबाट राजनीतिक तहमा सुझबुझ र कूटनीतिक संयमसहितको सक्रियता अनि सम्वादको खाँचो छ।