तीन वर्षदेखि एउटै नियति : पानी पर्दा बस्ती छोडि जंगलको बास
बागलुङ : जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाको हुल्दीका बासिन्दा पहिरो गएको तीन वर्षदेखि वर्षायाममा एकै खालको नियतिमा बाच्न विवश छन् । यस गाउँका बासिन्दा अलि ठूलो पानी पर्ना साथ बस्ती छोडेर ज्यान जोगाउन जंगलको खुल्ला चौरमा पुग्ने गरेका छन् ।
२०७४ सालको साउन अन्तिममा आएको पहिरोले एकजनाको ज्यान जानुका साथै निसीखोला गाउँपालिका १ मा पर्ने हुल्दी गाउँका सबै बस्ती चिरा-चिरा परेको थियो । पहिरोमा पुरिएर एकजनाको ज्यान समेत गएको थियो।पहिरोका कारण हुल्दी गाउँका करिब ६५ घर कारण विस्थापित भएका थिए।त्यसपछि जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा भूगर्भविदको प्राविधिक टोलीले गरेको अध्ययनमा बस्ती स्थान्तरण गर्न सुझाव दिएको थियो।
तर, त्यसयता तीन वर्ष बिते पनि सरकारले ठोस योजना ल्याउन नसक्दा पहिरो पीडित हरेक वर्ष उही पुरानै नियति व्यहोर्न बाध्य छन् । यस ठाउँ सामान्य वर्षा हुँदा पनि पहिरो झरिरहने भएकाले २४ सै घण्टा सतर्कताका साथ बस्नुपर्ने स्थानीय बताउँछन् ।
वर्षातको समय यहाँका स्थानीय रातभर जाग्राम बस्ने गर्छन् । गाउँ चारैतिरबाट पहिरोले घेरिएको हुँदा कतै सुरक्षित भएर बस्न सक्ने अवस्था पनि छैन ।लगातार ठूला वर्षा हुन थाले हुल्दी गाउँका अधिकांश मानिस आफ्ना पशु चौपाया लिएर गाउँभन्दा माथिको जंगल दह भन्ने स्थानमा पाल टाँगेर बस्ने गरेको स्थानीय हुमकुमारी मल्ल बताउँछन् । 'भारी वर्षा हुँदा साथ घरबाट खाद्यान्न, बालबच्चा बोकेर जंगलको चौरमा ज्यान जोगाउन, रात काट्न जान्छौं,' उनले भनिन्, 'यस वर्ष त्यति धेरै वर्षा नभएकाले ठुलै सास्ती र पीडाबाट बचेका छौं,नत्र भगवान जपेर बस्छौं ।'
उनीहरु गत वर्षमा दिनभर गाउँमा झरेर बारीमा काम गर्ने र रात पर्न साथ दहनै पुग्ने गर्थे तर यस वर्ष कम वर्षा हुँदा त्यो समस्या खेप्न नपरेको मल्लको भनाइ छ। 'जंगलमा बसेर के खाने, बारी गाउँमा छ, खेतिपाती यही छ,' उनले भने, 'डर लागेर के गर्नु ? बालबच्चा भोकले मर्नु भएन बारीमा काम गर्न त झर्नै पर्यो।'
स्थानीय पवनकुमार सिंजालीले पहिरोले गाउँलेको उठीबास लगाएको भन्दै निकै ठूलो त्रासका बीच गाउँमा बसिरहेको गुनासो गरे । सिंगो गाउँको वस्ती जोखिममा हुँदा र वर्षौ बित्दा समेत गाउँलेका समस्यामा सरकारले नजरअन्दाज गरेको उनले बताए। 'पहिरोले गाउँनै जोखिममा परेको यतिका वर्षसम्म हामीलाई सरकारले पुर्नस्थापित गर्न सकेन,' उनले भने, 'आखिर सरकार केका लागि हो ? यस्तो संवेदनशिल विषयमा रमिते बनेर बस्न मिल्दैन।'
निसीखोला गाउँपालिकाले केन्द्र सरकारसँगको समन्वयमा बस्ती स्थान्तरण गरी एकिकृत बस्ती निर्माण गर्ने भने पनि अझै यसबारे ठोस कदम चाल्न सकेको छैन। गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले गाउँनै पहिरोको उच्च जोखिममा रहेको बारे यसको व्यवस्थापन गर्नका लागि केन्द्र सरकारसँग निर्णय गरेर पठाए पनि अहिलेसम्म कुनै पहल र सहयोग प्राप्त हुन नसकेको बताए। 'हुल्दी गाउँको सबै ठाउँमा पुगेर स्थलगत अनुमगन गरेर यथार्थ अवस्थाको बारेमा सबै जानकारी केन्द्रमा गरायौँ, 'उनले भने, 'यो सबै गाउँपालिकाले मात्र गर्न सक्ने अवस्था पनि छैन।केन्द्र सरकारबाट यस्तो गम्भीर विषयमा पुरै बेवास्ता गर्ने काम गरिएको छ।'
गाउँपालिकाले स्थानीयलाई यो समयमा सतर्कता अपनाउन आग्रह गर्ने बाहेक तत्कालको लागि केही गर्न सक्ने अवस्था नरहेको अध्यक्ष पौडेलको भनाइ छ।