बाढी पीडित भन्छन् : ' सधैं डुबानको पिरलो, बस्ती जोगाइ दिने कोही भएन '

बाढी पीडित भन्छन् : ' सधैं डुबानको पिरलो, बस्ती जोगाइ दिने कोही भएन '

बुटवल : लुम्बिनी सांस्कृतिक नगरपालिका- २ भर्थापुरकी भुलही धुनियाको परिवार सुतिरहेको थियो । मंगलबार बिहानपख घरभित्र पानी छचल्किन थाल्यो । भुलही हत्तपत्त उठिन् । परिवारका सदस्यलाई उठाइन् । एकैछिनमा बाढीले उनको घरभित्रका सबै सामान डुबायो । निकाल्ने फुर्सद पनि भएन् ।

उज्यालो भएपछि आफूहरु कालिकचोकमा ओत लाग्न निस्किए । वस्तुभाउ, अन्नपात, खेतीपाती सबै डुबेको छ । मंगलबार साँझसम्म पनि घरभित्रको पानी कम भएको छैन । आकाशबाट पानी दर्किरहेकाले मनभित्र डरले ढ्याङग्रो बजाएको छ ।
भर्तापुर गाउँ तिनाउ र दानव नदी मिसिएर नदीको तटमा छ । चारैतर्फ नदीले घेरिएको यो वस्तीमा ८७ घर परिवार छन् । वर्षौंदेखि यहाँका बासिन्दाले यसैगरी कष्ट सहनुपरेको छ ।

भर्तापुरको ज्ञानकुञ्ज आधारभूत विद्यालयको आधा भाग चुर्लुम्म डुवेको छ । विद्यालय नखुलेको लामै समय भयो । वर्षा सुरु भएपछि तिनाउ नदीमा बाढीको भेल उर्लियो । अघिल्ला वर्षमा पनि भेल उर्लिएसँगै कक्षा कोठामा पढिरहेका बालबालिकाहरुले बिदा पाउथे ।

बाढीको सूचना पाएपछि शिक्षक विद्यालय बन्द गर्न बाध्य हुन्थे। विद्यालयका कक्षाकोठा झ्यालसम्म बाढीले डुबिरहेको छ । भर्थापुरको विद्यालयमात्रै होइन सिंगो गाउँ नै डुवानमा छ । 

लगातार पानी आउँदा गाउँका कुमार मल्लाह, भुलही धुनिया, निपद धुनिया, चिनक धुनियाको घर पुरै डुबानमा छ । शिवकुमार मल्लाह, भुलई धुनिया, बगेदु मल्लाह, बीपत धुनिया उदय मल्लाह, भदई मल्लाह, तीजा मल्लाहको परिवार विस्थापित भयो । 

'बर्खा लागेपछि घर बस्न कहिल्यै पाइँदैन, गाउँका शिवकुमार मल्लाह भन्छन्,' बस्ती जोगाइ दिने कोही भएन ।' भर्थापुरका केही घर र खेत त दशकअघि नै बगर भइसकेका थिए । अहिले बस्दै आएका ८७ परिवार पनि चैनले बस्न पाएका छैनन् ।

भर्थापुरमा बाढी आउने खबर बुटवलमा तिनाउ उर्लेको देखेपछि पुग्छ । विपत व्यवस्थापनका स्वयमसेवक सूचनाका लागि खटिएका छन् । सूचना पुगेपछि भर्थापुरको करिब सात सय जनसंख्या बाढी नपस्ने अग्लो स्थानतर्फ दौडिन्छन् । अन्न वस्तुभाउ लैजान सक्ने कुरा भएन गाउँमै कुहेर जान्छ ।

चार वर्षअघि बस्तीमा बाढी पस्यो । मानिस त भागेर बाचे । वस्तुभाउ र खेतीबाली नष्ट भयो । किसानीमा जिविको चलाउने भर्थापुरबासीको लाखौं नोक्सान भयो ।

भर्थापुरको  गाउँमा २००७ सालदेखि नै बाढी पस्न थालेको हो । त्यसयता तीन पटकसम्म बस्ती सर्‍यो । पहिले पश्चिमतर्फ बस्ती थियो । बाढीले काट्दै तिनाउ नदी पूर्वतर्फ मोडियो । स्थानीय बगेदु मल्लाह भन्छन्, '०२८ सालमा नदी पहिलेकै स्थानमा फर्कियो, बस्ती फेरि पश्चिम सारियो ।' अहिले भरथपुरलाई वरीपरीबाटै बाढी घेरा हाल्छ ।
भरथपुरको निकास सम्मरीमाई गाउँपालिकाको खडौर हो । 

त्यहाँ पुग्ने कच्चीबाटो बाढी बगाएपछि भर्थापुरबासी अरुबस्तीबाट अलग्गिएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकतर्फका अन्य गाउँमा जाँदा हिउँदमा पनि डुंगाको यात्रा गर्नुपर्छ ।

सधै डुबानमा परेपछि बस्ती सार्ने पक्षमा नगरपालिका छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी भन्छन, 'स्थानीयले बस्ती सार्न मान्दैनन्, अब अरु उपाय खोजेर समस्या निदान गर्दैछु ।'

वडा नम्बर दुईका वडाध्यक्ष रमेश निशादले पनि गाउँ  जोगाउने गरी केही काम हुने बताए । तटबन्धन गर्‍यो भने बस्तीमा पानी पस्न कम हुने स्थानीयको भनाइ छ ।  

'तटबन्ध गर्न ठूलो रकम चाहियो, नगरपालिकाले थेग्न सकेन, उनले भने । ६ दशक अघिदेखि डुबानमा परेको बस्ती जोगाउन सरकारले कुनै योजना नल्याएकोमा स्थानीय आक्रोशित छन् । 'हाम्लाई सरकारले हेरेन, मरे बाँचेको पनि वास्ता गरिएन,' स्थानीय असर्फी मल्लाहले दुखेसो पोखे।'

नदीभन्दा दुई सयमिटर टाढा रहेको बस्तीका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । कच्ची झपडी घरहरु कतिखेर भत्किन्छन ठेगान छैन । बाढी आएको खबरपछि केही पक्‍की घरका छतमा सर्वसाधारण सुरक्षित ठानेर बस्छन् । गाउँमा रहेको सार्वजनिक भवन सबैको आश्रयस्थल बनेको छ ।

बाढीकै कारण बालबालिकाले नियमित पढ्न पाउँदैनन् । कक्षा ५ सम्म रहेको विद्यालयमा ३ सय ३० जना बढी विद्यार्थी छन् । सम्मरीमाई गाउँपालिकाका चार गाउँबाट समेत त्यहाँ पढ्न विद्यार्थी आउँछन् ।

नदीमा बाढी आउन सुरु भएसँगै विद्यार्थीको संख्या घटेर १ सय ५० हुने वडाध्यक्ष निसाद बताँछन् । 'बाढी आएपछि अरु गाउँबाट विद्यार्थी आउन सक्दैनन,'उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.