एउटा कम्युनिस्‍ट आदर्शको अन्त्य : ‘गुडबाई’ बर्मन ‘बा’

एउटा कम्युनिस्‍ट आदर्शको अन्त्य : ‘गुडबाई’ बर्मन ‘बा’

रोल्पा : बुधबार बिहान नेपाली कम्युनिस्ट आन्दोलनका एक आदर्शको अन्त्य भएको छ। कम्युनिस्ट आन्दोलनका धरोहर मानिने सादगी नेता बर्मन बुढामगरको बुधबार बिहान साढे चार बजे राजधानीमा उपचारकै क्रममा निधन भएको हो।  रोल्पाको थबाङ गाउँपालिका–२ का ९० वर्षीय बुढामगरको निधनले थबाङी मात्र होइन, कम्युनिस्ट नेता, कार्यकर्ता र शुभचिन्तक गहिरो शोकमा छन्। 

‘कम्युनिस्ट इतिहासका खम्बा बुढामगरको निधनले सिंगो थबाङी र शुभचिन्तक शोकमा डुबेका छौं’, थबाङका रैथाने एवं पत्रकार मौसम रोकामगर भन्छन्, ‘उहाँको निधनले पार्टी र थबाङलाई गहिरो क्षति पुगेको छ।’ 

शोकको घडीमा परिवारका सदस्य, आफन्त र इष्टमित्र निःशब्द बनेका छन्। कम्युनिस्ट आचरण र जीवनशैली अपनाएका पूर्वसांसद समेत रहेका नेता बुढामगरको निधनले आफू स्तब्ध बनेको आफन्त ऋषिकेशव बुढामगर ‘सविन’ बताउँछन्। 

‘कम्युनिस्ट इतिहासमा इमान्दार र आदर्शका प्रतिक बर्मनहरु मर्दैछन्, ब्रह्मलुट मच्चाउने जन्मिदैछन्’, एउटै भाइबन्धु रहेका सविनले भावुक हुँदै भने, ‘फेरि इमान्दार बर्मनहरु जन्मिनु आवश्यक छ।’ 

क्यान्सर रोगबाट पीडित बुढामगरको ९० वर्षको उमेरमा निधन भएको हो। गत वर्ष आन्द्रामा रहेको क्यान्सरको शल्यक्रिया गराएका थिए। पछिल्लो समय उपचारका लागि उनी राजधानी मै थिए। राजधानी गएका बेला ललितपुरको कुसुन्तीमा रहेको छोरीको घरमा बस्थे। बुढामगरका तीन छोरा र दुई छोरी छन्।

थबाङ घरमै रहेकी जेठी बुहारी ससुराको निधनको खबरले शोकमा छन्। जेठो छोरा गणेश बुबाको उपचारका लागि राजधानीमा थिए। माहिला छोरा समेश र कान्छा छोरा नरेश जापान छन्। छोरीहरु विजया र शरद हुन्। तत्कालीन नेकपा (माओवादी)ले गरेको सशस्त्र युद्धका बेला छोरी विजयाका पति ढाँट बुढामगरलाई तत्कालीन शाही सेनाले हत्या गरेको थियो। अस्वास्थ्य भएपछि बाग्लुङ विवाह भएकी छोरी विजयाको कुसुन्तीमा रहेको घर नै बुढामगरको निवास बनेका थियो।

थबाङ र बर्मन
थबाङमा कम्युनिस्ट विजारोपण हुनुको श्रेय बुढामरलाई नै जान्छ। सशस्त्र युद्धताका माओवादीको गढ नै थबाङ रह्यो। अहिले पनि थबाङ दुवै कम्युनिस्टको गढ मानिन्छ। त्यसैले बुढामगरको निधनमा रोल्पालीले सामाजिक सञ्जालमा शोक व्यक्त गरेका छन्। 

थबाङ गाउँपालिकाले शोकसभाको आयोजना गरेको छ। सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटीले श्रद्धाञ्जली सभा आयोजना गरेको छ। थबाङस्थित नमूना वीर बलभद्र उच्च माविको संस्थापकसमेत मानिने बुढामगरको निधनले विद्यालय परिवार शोकाकुल बनेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढामरको निधनले स्तब्ध बनाएको जनाएका छन्। रोल्पाका कम्युनिस्ट नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराले पनि शोक विज्ञाप्ति जारी गर्दै बुढामगर कम्युनिस्ट आदर्श, अडिक र निडर व्याक्तित्वको रुपमा स्मरण गरेका छन्। नेकपा नेता एवं ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले पनि शोक व्यक्त गरेका छन्। कम्युनिस्ट नेताले काठमाडौंमै बुढामगरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। 
    
बुढामगरको राजनीतिक जीवन
बुढामगर २०४८ सालको आम निर्वाचनमा तत्कालीन जनमोर्चाको तर्फबाट प्रतिनिधि सभाको सांसद बनेका थिए। त्यसपछि उनी राष्ट्रिय राजनीतिकमा उदाएका हुन्। 

संसद भवनमा मगरको पहिरन गाडो र कछाडसँगै गएर उनले आफ्नो पहिचानलाई राष्ट्रिय मान्यता दिलाए। मुढामगर मगर पहिरनमा खाली खुट्टा संसद भवन छिर्न खोजेपछि उनलाई सुरक्षाकर्मीले रोकेका थिए। जनताको पोशाक नै आफूलाई प्रिय लाग्ने भएर आफू त्यही पहिरनमा संसद जाने गरेको उनले सुनाउँथे। 

आर्थिक लोभ नभएका र सधै जनताको पक्षमा काम गर्न रुचाउने बुढामगरले जीवनकालमा कहिलै भड्किलो पहिरन लगाएनन्। ‘साधारण मौलिक पहिरना, खानपान र जीवनशैली उनको पहिचान बनिरह्यो’, उनलाई नजिकबाट चिन्ने यसै भन्छन्। 

थबाङ कम्युनिस्टमय हुनुमा बुढामगरको योगदानलाई विशेष मान्ने गरिन्छ। थबाङमा २०१३ सालमा किसान संगठन गठन गरिएको थियो। त्यस संगठनमा बुढामगर आवद्ध भए। रोल्पाली कम्युनिस्टका संस्थापक उनै हुन्। उतिबेला मोहनविक्रम सिंहको नेतृवको पार्टीमा सक्रिय रहे। जेलजीवनकै बेला सिंह र खगुलाल गुरुङको सम्पर्कमा रहेका बुढामगर कम्युनिस्ट प्रतिबन्धित अवस्थामा किसान संगठनको नामबाट सक्रिय थिए। 

बुढामगर पञ्चायतकालमा पटकपटक प्रधानपञ्चसमेत भए। थबाङी एकतासहित पञ्चायतको विधिको उपयोग गर्दै थबाङीको सल्लाहमा उनले बहिनीलाई समेत प्रधानपञ्चमा निर्वाचित गरेका थिए।

२०१५ सालको पहिलो आमनिर्वाचनमा थबाङीले सबै भोट कम्युनिष्टलाई दिए। यसमा बुढामगरको सक्रिय भूमिका थियो। २०३७ सालको जनमत संग्रहका वखत सबै मत बहुदलको पक्षमा खसाए। २०३८ मा निर्वाचनको सशक्त बहिष्कारमा बुढामगर नै खरो उत्रिए। उतिबेला नै थबाङमा सेनाले मेजर अप्रेशन गरेको थियो। जहिलै सत्ता विरोधी मानिने थबाङमा विरेन्द्र राजासमेत हेलिकोप्टरबाट पुगेका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनमा थबाङमा चार मत मात्र खस्यो। २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध थालनी भएपछि बुढामगर कम्युनिस्ट राजनीतिको निकटमै रहे। तत्कालीन माओवादीको सल्लाहकारसमेत रहेर उनले काम गरे। कम्युनिस्ट फुटबाट असन्तुष्ट बुढामगर सबै कम्युनिष्ट एकतको पक्षमा थिए।

दश वर्षे युद्धको समाप्ती पश्चात् २०६४ को संविधान सभाको निर्वाचनमा थबाङमा शतप्रतिशत मत माओवादीको उम्मेदवार ‘प्रचण्ड’लाई दिइयो। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा थबाङमा शून्य मतदान भयो। यी सबै विरासतका जग बुढामगर नै मानिन्छन्। यिनै राजनीति विरासत्का कारण थबाङ पुग्ने जोकोही कम्युनिस्ट नेता मात्र होइन, पत्रकार, अनुसन्धानकर्ताले थवाङ पुगेपछि बुढामगरलाई भेट्थे। बुढामगर कम्युनिस्ट मात्र नभएर देश र समाजकै एक आदर्श व्यक्ति भएकाले उनको निधनले देश शोकमा छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.