आँट गर्ने बेला भएन र ?

आँट गर्ने बेला भएन र ?

 हो, सबै पार्टीका नयाँ पिढी र पुस्ताका नेताहरूले झर्ला र खाउँला भन्ने मानसिकताबाट माथि उठी केही गर्नुपर्ने बेला आइसक्यो


अपवादबाहेक आम नेपाली विनाथांक्रो उभिनै सक्तैनन्— यो सौरभको भनाइ हो। यो लहरे प्रवृत्ति हो, विशेषतः बाहुन जातिमा (ब्राह्मण भन्न चाहिनँ मैले) बढी पाइने, यो पनि उनकै भनाइ हो (पुस्तक–असंगति)। आज देशले नेपालकै सबभन्दा योग्य अर्थमन्त्री पाएको छ— योग्यतामा पीएचडी, योजना आयोगका उपाध्यक्ष र राष्ट्रबैंकको गभर्नरसमेतको अनुभव बटुलेका। तर, असारे विकासले उनका पालामा पनि निरन्तरता नै पायो, लहरे प्रवृत्तिकै कारण। पूर्वएमाले (हाल नेकपा ? ) का विचारक, सिद्धान्तकार ‘आइडियोलग’ अहिले कृषिमन्त्री छन्। तर, किसानले यसपटक पनि समयमै मल पाउन सकेनन् रोपाइँका बेला योजना र जोगाहटका लागि मन्त्रालयले पर्याप्त समय पाउँदापाउँदै पनि। विचारक र सिद्धान्तकार मात्र भएर नहुने रहेछ कार्यान्वयन गर्ने क्षमताका लागि। यो पनि लहरे प्रवृत्ति र ‘आइडियोलग’ मात्र हुनुकै प्रभाव हो।

यी प्रतिनिधि पात्र र उदाहरण मात्र हुन् तर यसले जन्माएको प्रश्न भने अहम् हुन पुगेका छन् अहिले। के नेपाली जनताको नियति यस्तै हो त ?  यो कदापि होइन र हुन सक्तैन। यी त लादिएका र भोग्न बाध्य पारिएका नियति हुन् दोषी गैरजिम्मेवार नेताहरूका कारण। जनता कम जिम्मेवार छन् यसमा तर जिम्मेवार बनाउँछन् जनतालाई नै ‘आइडियोलग’ भनाउँदा लोकतन्त्रवादीहरू। प्रजातन्त्र र साम्यवाद दुई पूर्ण विपरीत विचारधारा र अभ्यास हुन्। नेपालमा यी दुईलाई फ्युजन गरी प्रजातान्त्रिक–साम्यवाद नामको वर्णसंकर अभ्यास र प्रजातन्त्रभन्दा पनि उन्नत जातको लोकतन्त्र सिर्जना गरिएको छ। ‘रा’ वर्णमालासँग जोडिएको शब्द नै सुन्न नचाहने विचारकहरूले ‘राजहंस’ लाई ‘लोकहंस’ मात्र भन्न बाँकी रह्यो अहिले।

हामीकहाँ जति राजनीतिक विश्लेषकहरू सायदै पाइन्छ होला अन्यत्र। चियापसलदेखि प्रतिष्ठान र थिंकट्यांकसम्म र अरूका लागि बुद्धि बेची रवाफी जीवन चलाउन अभ्यस्त बडाबडा राजनीतिक विद्वान्देखि लहरे र अवसरवादी आ श्रय भक्त विश्लेषकसम्म बग्रेल्ती छन् यहाँ। नेता र झन् मन्त्री नै भएपछि त ज्ञान बुद्धिको सिङ–जुरो नै उम्रिन्छ उनीहरूमा, प्रधानमन्त्री भएपछिको त कुरै अर्को—सर्वज्ञानी सर्वज्ञाता। शक्तिको पूजा नेपालीको अर्को गहिरो कुसंस्कारगत अवसरवादी प्रवृत्ति हो। दरबारका उपल्लो तहका हस्ती र निर्णायक सल्लाहकार पदाधिकारीहरू २०४७ पछि नेपाली कांगे्रसका उच्च नेताको भाषण सुन्न  श्रोता–दीर्घाको पहिलो पंक्तिमा देखिनु र २०६५ सालमा धर्म निरपेक्षतासँगै हिन्दु राजालाई विस्थापित गरेपछि इसाई धर्म अभियानकर्ताका कार्यक्रममा पहिलो पंक्तिमा देखिनु (सौरभ) दरबारिया हस्तीहरूका प्रतिनिधि पात्रहरू मात्र हुन्। यही प्रवृत्ति र पात्रहरूका कारणले राजा र दरबारलाई डुबाए झैं अहिलेको राजनीतिक अभ्यास र सम्भावना बोकेका नेताहरूलाई पनि यस्तै प्रवृत्तिका पात्रहरूले कदापि सफल हुन दिने छैनन्।

आम भन्ने गरिएजस्तो पहिलो युवा पुस्ताका काँधमा जिम्मा दिनुपर्‍यो अनि युवा पुस्ताले देशको विकास र निकास दिन्छन्। यहाँनेर के भुलियो भने बीपी र किसुनजीदेखि लिएर अहिले भएका र देखिएका सबैजसो नेतृत्वहरूले युवावस्थामै देशको बागडोर सम्हाल्न पाएका थिए र अहिले पनि कतिपय युवा पुस्ता नै छन् नेतृत्वमा, तर भयो के त ?  यसैले यो पनि मिथ्या नै हो। पञ्चायती व्यवस्थालाई ३० वर्ष गालीगलौच र विरोध गरियो। अहिले पञ्चायती व्यवस्था गएको पनि ३० वर्ष भइसक्यो। स्वतन्त्रताका नाममा प्रजातन्त्र छाडातन्त्रमा परिवर्तन भएको छ। अराजकता, भ्रष्टाचार र अव्यवस्थामा व्यापक वृद्धि हुनुका साथै जिम्मेवार र जवाफदेही कसैलाई हुनुपरेको छैन भने दण्डहीनताको अवस्था पराकाष्ठामा पुगेको छ। आम जनता यी भाषा र शब्दाबलीहरू सुन्दै—भोग्दै अभ्यस्त र संवेदनहीन भइसकेका छन्, केही गर्दैनन् र कसैले गरिदेलान् भनेर कुरिबसेका छन् ‘आशामरु’ भएर। यसैले कोरोना महामारी र देशव्यापी बाढीपहिरोकोे महाप्रकोप घटिरहँदा पनि भागबन्डाको फोहोरी राजनीतिले यतिविघ्न प्राथमिकता पाइरहेको खेल हेर्न र सुन्न जनता लाचार र अम्बली भइसकेका छन्। कति हेपेका जनतालाई !

उल्लिखित, बेलिविस्तार वर्णन फगत खुराफात र आलोचनाका लागि मात्र गरिएका हैनन्। उद्देश्य हो– सही निकास, उपाय र सम्भावनाको खोजी नेपाली जनताको नियतिमा परिवर्तन ल्याउन। माथिका उदाहरण र विद्यमान अस्वस्थ राजनीतिक अभ्यासबाट सिक्ने हो भने निकास, उपाय र सम्भावना सबै छ यहाँ। हो, नयाँ पिढी र पुस्ताका राजनीतिकर्मीले सोच्ने र आँट गर्ने बेला आयो अब। कुनै पनि राजनीतिक व्यवस्था आफंैमा खराब होइनन्। खराब त यसका सञ्चालक र अभ्यासकर्ता हुन् र भएका छन्। फोहोरको किरा फोहोरमै रमाए झैं नयाँ पिढी र पुस्ताका राजनीतिकर्मीहरू पनि अहिलेकै राजनीतिक फोहोरमा रमाउने हो भने देश र जनताले दुःख पाउने त भएभए अनि यी नयाँ पिढी र नयाँ पुस्ताका नेताहरूको नियति पनि मोहनविक्रम सिंह, मोहनचन्द्र अधिकारी, मोहन वैद्यजस्तै हुनेमा ठोकुवा गर्न सकिन्छ, हराएर जानेको कुरै भएन। यो तथ्य नेकपा, नेपाली कांग्रेस र अरू पार्टीका सबै नेतामा पनि लागू हुन्छ। यति सचेतना उहाँहरूमा आउने हो भने एकपटक राष्ट्रिय हितका मुद्दामा सबै पार्टीका नयाँ पिढी र नयाँ पुस्ताका नेताहरूले एकमत भई विद्रोहभन्दा पनि नयाँ आन्दोलनको थालनी गर्नुपर्‍यो अब। आखिर सबैको एजेन्डा राष्ट्रिय हितका एजेन्डा नै हुन्।

सबै पार्टीका नयाँ पिढी र पुस्ताका नेताले झर्ला र खाउँला भन्ने मानसिकताबाट माथि उठेर केही गर्नपर्ने बेला आइसक्यो। राष्ट्रिय सोचसहित पाँचबर्से एजेन्डा यी–यी हुन्, यसरी प्राप्त गरिन्छ र यति–यति त्याग सबैले गर्नुपर्छ भन्ने प्रस्ट खाकासहित अगाडि आउने हो भने आम समर्थन र सहयोगमा समस्या हुने छैन। आँट भने गर्नुपर्‍यो र नआउनेलाई छाड्नु पनि पर्‍यो।

यसैले केही वर्ष पार्टी एजेन्डालाई थाती राखी राष्ट्रिय एजेन्डा मात्र बोक्नुपर्‍यो र कम्तीमा पनि पाँच वर्ष राष्ट्रलाई कठोर ढंगबाट जोती विकासका लागि उर्वर भूमिमा परिणत गर्नुपर्‍यो देशलाई। यस्तो आँट गर्ने राजनीतिक समूहलाई राष्ट्रिय शक्तिका अंगहरूले पनि साथ दिने नै छन्। यो ठूलो अवसर पनि हुनेछ राजनीतिक उद्देश्य र आकांक्षा राख्ने (महत्वाकांक्षा होइन) राजनीतिकर्मीका लागि। यो अभ्यासको दौरान क्षमतावान् नेतृत्वहरू पनि निस्कने नै छन्। तर, थांक्रोविना उभिनै नसक्ने लहरे प्रवृत्तिका नेताहरूबाट यो हुनै सक्तैन र असम्भव छ। यस्ता नेता भनाउँदाहरूको औकातचाहिँ झोले कार्यकर्ताको हैसियतभन्दा माथि हुनै सक्तैन। तर इमानदार झोले कार्यकर्ता, राजनीतिक बुद्धिकर्मी र निष्पक्ष बुद्धिजीवीका लागि पनि सम्मानित स्थान भने हुनैपर्छ। कानुनी राज्य, असल शासनको अभ्यास र विकासको बाटोमा देशलाई लैजाने अभ्यासको दौरान अनेक सम्भाव्य नेतृत्वहरूको पहिचान पनि हुने नै छ। एकपटक देशले बाटो पक्रिएपछि पुनः उपयुक्त र आआफ्नो राजनीतिक व्यवस्था र अभ्यासमा देशलाई लैजानैपर्छ। देशलाई धेरै लामो समयसम्म कडीकडाउ राज्यव्यवस्थाले लाभ पनि गर्दैन।

अहिले देशको अस्तित्व संकटमा पर्लाजस्तो भएको छ। विदेशी चलखेल सतहमै देखिन थालेको छ। व्यक्तिगत लाभका लागि ‘पपुलिस्ट राजनीति’ को अभ्यासले छिमेकी राष्ट्रसँगको सम्बन्धमा चिसोपन बढेको छ। आम जनतामा देखिएको राजनीतिक पार्टीहरूप्रतिको वितृष्णा, जनतामा छाएको व्याप्त असन्तुष्टि र हतोत्साही मानसिकता राम्रा लक्षण होइनन् राजनीतिक सुरक्षाका लागि। ढिलो भने भइसकेको छैन र अवस्थाले उपयुक्त अवसर पनि दिएको छ अहिले। तर यो अवस्थालाई अब थप लम्बिन दिन हुँदैन। समान राष्ट्रिय सोच र चासो राख्ने तर असंगठित बुद्धिजीवी तथा समूहहरू धेरै छन् समाजमा देखिने र नदेखिने गरी। यी समूह पनि संगठित हुने बेला आयो यतिखेर अनि कसैले पहल गर्नैपर्‍यो यसमा। सबै पार्टीका नयाँ पिढी र नयाँ पुस्ताका नेताहरूले झर्ला र खाउँला भन्ने मानसिकताबाट माथि उठी केही गर्नुपर्ने बेला आइसक्यो। राष्ट्रिय सोचसहित पाँचबर्से एजेन्डा यी–यी हुन्, यसरी प्राप्त गरिन्छ र यति–यति त्याग सबैले गर्नुपर्छ भन्ने प्रस्ट खाकासहित अगाडि आउने हो भने आम समर्थन र सहयोगमा समस्या हुने छैन, आँट भने गर्नुपर्‍यो र नआउनेलाई छाड्नु पनि पर्‍यो। हैन भने अरू कसैले यही गर्न चाह्यो या गर्‍यो भने अन्यथा मान्नु पनि भएन।

—पूर्वजर्नेल भण्डारी नेपाल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका सचिव हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.