सहमति विपरित पुष्पलालको शालिक नराख्न कांग्रेसको ध्यानाकर्षण
स्याङ्जा : नेपाली कांग्रेस सदरमुकामस्थित सहिदचोकमा सहमति विपरित कम्युनिष्ट पार्टीका नेता पुष्पलाल श्रेष्ठको शालिक राख्न नदिन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको छ।
मन्त्रिपरिषद बैठकले गणेशमान सिंहको सालिक स्थापनाको निर्णय हुँदा तत्कालिन समयमा राजनीतिक सहमति नजुटकाले कांग्रेस पछि हटेको कांग्रेसको भनाई छ। अहिले एकाएक पुष्पलालको शालिक स्थापना गर्ने भन्दै प्रचार गरिएपछि सहमति बेगर मुख्य चोकलाई राजनीतिकरण नगर्न आग्रह गर्दै सो चोकमा जिल्लाको पहिचान दिने कुनै एक वस्तु राख्नुपर्नेमा कांग्रेसलगायत अन्य पार्टीको पनि जोड छ।
जनआन्दोलन समन्वय समितिले घोषणा गरेको सहिदचोक नामाकरणको निर्णय, तत्कालिन शान्ति समितिको निर्णय, मन्त्रिपरिषद बैठकद्धारा सिंहको सालिक स्थापना गर्ने निर्णय, जिल्लास्थित राजनीतिक पाटीका सर्वदलिय बैठकको सहमति साथै सामाजिक सांस्कृतिक संघसंस्थाले गरेका आग्रहहरुलाई पुनः स्मरण गराउँदै सो स्थानमा श्रेष्ठको सालिक नराख्न ज्ञापनपत्रमा उल्लेख छ। कहिँ कतैबाट जबरजस्ति सालिक स्थापना गरे कांग्रेस बिरोधमा उत्रने चेतावनी दिएको छ।
‘समग्र स्याङजाको विकासका निम्ति यहाँका राजनीतिक दल, सामाजिक अभियन्ताहरुको साझा सत्प्रयासले अघि बढीरहेको अवस्थामा विगतका परम्परा र सहमतिलाई पुतलीबजार नगरपालिकाले तोड्न लागेको छ’कांग्रेस कावा सभापति बुद्धिबहादुर राना (कुमार) द्धारा हस्ताक्षरित पत्रमा लेखिएको छ 'सिद्धार्थ राजमार्गमै पर्ने स्याङजा सदरमुकामको मुटुमा अवस्थित ऐतिहासिक जनआन्दोलनको साझा म्यानडेटले सहिदचोक घोषणा गरेको स्थानमा पुष्पलाल श्रेष्ठको सालिक राख्ने निर्णय गर्दै पटकपटक हाम्रो पार्टी कांग्रेसलगायत जिल्लाका अन्य सामाजिक सास्कृतिक संघसंस्थाले सहमति भंग नगर्न र सालिक नराख्न लिखित एवं मौखिक आग्रह गर्दा समेत चुनौती दिने ढंगले कार्य अगाडि बढाएकाले गम्भीर ध्यानाकर्षण भएको छ।' ज्ञापनपत्र बुझ्दै प्रजिअ क्षेत्रीले छिटै सर्वदलिय बैठक बोलाएर छलफल गर्ने बताए।