ज्यानकाे भन्दा दाउराकाे चिन्ता (फाेटाे फिचर)
महेन्द्रनगर : सुदूरपश्चिमका पहाडी जिल्लामा भएको अत्यधिक वर्षाका कारण महाकाली नदी उर्लिरहेको थियो। महाकाली नदीको उर्लंदो भेलमा ज्यान जोखिममा राखेर दाउरा संकलन गर्दै थिए भीमदत्त नगरपालिका–१२ का १९ वर्षीय गणेश विक।
'घरमा ग्यास छैन खाना पकाउन त दाउरा चाहियो नि', विकले भने, 'अहिले दाउरा संकलन गरे वर्षभर आगो बाल्न पुग्छ केही बेचेर रासन पनि आउँछ।' अहिले डरले घरमै बसे चुलो बाल्न मुस्किल पर्ने र आफ्नो आम्दनीको स्रोत भनेकै महाकाली नदी भएको उनले सुनाए। नजिकैको विद्यालयमा कक्षा ९ मा अध्यनरत उनले आफ्नो पढाइखर्च समेत दाउरा बेचेरै गर्ने गरेका छन्।
'दाउरा बेचेको पैसा जम्मा गर्छु', उनले भने, 'केही खाने मन लागे चाउचाउ आदि खान्छु नत्र कापी किताब किन्छु।' सोमबार महाकाली नदीमा पानीको बहाव २ लाख क्युसेक थियो । गणेशजस्तै ज्यानको कुनै प्रवाह नगरी दाउरा संकलनमा व्यस्त थिए वृद्धदखि बालकसम्म। भीमदत्त नगरपालिका वडा नं १३, ११ र १४ का स्थानीय उर्लंदो भेलको प्रवाह नगरी ट्युवको सहाराले काठ र दाउरा संकलन गर्न व्यस्त छन्। पहाडी जिल्लामा भइरहेको वर्षाका कारण एक सातायता महाकालीमा बाढीले काठ-दाउरा बगाएर ल्याउइ रहेको छ।
दाउरा संकलन गरे हिउँदभरिका लागि खाना पकाउने दाउरा हुने र दाउरा बिक्री गरेर नै रासन जोहो गर्ने गरेको भीमदत्त नगरपालिका–१२ का रमपती सार्किले बताए। 'नोकरी केही छैन महाकालीको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्छौं', उनले भने, 'वर्षभर बाल्न दाउरा हुन्छ । बिक्रीबाट आएको रकमले रासन लत्ता ल्याउँछौं।' उनले वर्षौदेखि महाकाली नदीमा आएको बाढीमा दाउरा संकलन गर्ने गरेर बताए।
कञ्चनपुरको भीमदत्तनगरपालिका–९ बह्मदेव, ११ भुजेला, १२ ऐरी ओदाली, वडा नं. १३ बडैपुर, पिपरिया लगायतका गाउँका सयौं स्थानीय दाउरा संकलनमा सक्रिय छन्। 'राती १२ बजेसम्म नदीमै दाउरा संकलनमै हुन्छौं', सार्कीले भने, 'बच्चादेखि वृद्धसम्म यहाँका सबै परिवार नै दाउरा संकलनमा हुन्छन्। यहाँका स्थानीयको दैनिकी नै दाउरा संकलन बनेको छ।'
दाउरा संकलनका लागि महाकाली नदीमा हरेक दिन बिहानैदेखि राती अबेरसम्म स्थानीयबासी नदी किनारामै पहरा दिने गरेका छन्। दाउराका लागि वन जंगल नहुँदा बाढीले बगाएको दाउरा संकलन गर्न बाध्य भएको स्थानीयको भनाइ छ। दैनिक एक हजारभन्दा बढी स्थानीय दाउरा संकलनका लागि महाकाली नदी पुग्ने गरेका छन् भने दाउराकै लागि नदी किनारमा रातभरि जागारामसमेत बस्ने गरेका छन्।
दाउरा संकलन गर्नेमा महिला र बालबालिकाको संख्या धेरै छ। बाढी आएका बेला दाउरा निकाल्नेको मेला नै लाग्ने गरेको छ। यहाँका स्थानीयको लागि महाकाली नदी रोजगारीको केन्द्र बनेको छ। वर्षातमा दाउरा र हिउँदमा बालुवा, गिट्टी र ढुंगा संकलन गरेर जिविको पार्जन गर्दै आएका छन्।