चोरी मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ
भक्तपुर : भक्तपुर प्रहरीले चोरी तथा बैंकिङ कसुरमा फरार रहेका अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न सफल भएको छ। भक्तपुर प्रहरीले गएको एकसातामा मात्रै तीनजना चोरी मुद्दा र एकजना बैंकिङ कसुर मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले बिहीबारमात्रै दुईजना चोरी मुद्दाका फरार अभियुक्त सुजन दाहाल र मिलन पाण्डेलाई नियन्त्रणमा लिएको छ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले सञ्जय ठिमीको जाहेरीले चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७५ असार ११ गते एक वर्ष ६ महिना कैद र दुई लाख सत्ताइस हजार एक सय रुपैयाँ जरिवाना फैसला भएका दाहाल र पाण्डे फरार रहँदै आएको बताए।
भक्तपुरको सूर्यविनायक नपा ५ सुवर्णचोक बस्ने २५ वर्षीय दाहाल र सूर्यविनायक नपाकै वडा नं. ६ बनाचौर बस्ने ३२ वर्षीयलाई परिसरबाट खटिएको प्रहरी टोलीले बिहीबार भक्तपुरबाटै नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए।
त्यस्तै परिसरबाटै खटिएको प्रहरी टोलीले चोरी मुद्दामै फरार काभ्रेपलाञ्चोकको नाग्रेगगर्चे गाविस ९ रुपकोट घर भई हाल भक्तपुर नगरपालिका २ बस्ने रामबहादुर भन्ने कृष्णबहादुर प्रधानलाई पनि पक्राउ गरेको छ।
उनलाई साउन ६ गते नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनी प्रेमलाल भँडेल, अमिता ब्याञ्जु, मनमाया माकजूको जाहेरीमा भक्तपुर जिल्ला अदालतबाट २०७४ चैत १५ गते ६ वर्ष ९ महिना २५ दिन कैद र चौहत्तर हजार एक सय सन्तानब्बे रुपैयाँ जरिवाना फैसला भई फरार रहँदै आएका थिए।
यसैबीच कृष्णगोपाल राजलवटको जाहेरीले बैकिङ कसुर मुद्दामा ललितपुरको पाटनस्थित उच्च अदालतबाट २०७५ चैत २४ गते २ महिना कैद र ५० लाख रुपैयाँ जरिवाना फैसला भएर फरार भक्तपुरको सूर्यविनायक नपा ५ वासुटोल निवासी भुपेन्द्र गोराजूलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले पक्राउ गरेका चारैजनालाई भक्तपुर जिल्ला अदालतमा पेश गरेको थियो। जिल्ला अदालतले फैसला कार्यान्वयनको लागि चारैजनालाई काठमाडौंको सुन्धारा जगन्नाथ देवलस्थित केन्द्रीय कारागार पठाउने आदेश दिएको छ। सोहीअनुसार उनीहरु सबैलाई केन्द्रीय कारागार पठाइएको भक्तपुर प्रहरीले जनाएको छ।