नवदुर्गा मन्दिरमा बाँधियो ‘खःमेय्’
भक्तपुर : भक्तपुर नगरपालिका ९ स्थित नवदुर्गा मन्दिरमा बिहीबार खःमेय् (राँगो) बाँधिएको छ । विजया दशमीअन्तर्गत महानवमीको दिन नवदुर्गा मन्दिरबाट उक्त खःमेय् दौडाएर जात्रा गरिन्छ । सोही जात्राको लागि आवश्यक पर्ने खःमेय् नवदुर्गा मन्दिरमा बाँधिएको हो ।
नेपालभाषामा खःमेय् भनेको निख्खर कालो राँगो हो । सोही निख्खर कालो राँगोलाई दौडाएर गरिने जात्रालाई स्थानीय नेपालभाषामा खःमेय् ब्वाकेगु जात्रा भनिन्छ ।
नवदुर्गामा ल्याइएको खःमेय् मन्दिरकी नकीं न्हुछेमाया बनमालाले स्वागत गर्दै पूजाआजा गरेकी छन् । नकीं न्हुछेमायाले नै अब दसैंको नवमीसम्म उक्त खःमेय्को रेखदेख तथा हेरचाह गर्नेछिन् ।
जात्राको विधानअनुसार गाथामोग चतुर्दशीको दिन नवदुर्गा मन्दिरमा खःमेय् बाँध्ने किलामा डोरी बाँध्नुपर्ने प्रचलन रहेको नवदुर्गा देवगणका नाइके बुद्धिकुमार बनमालाले जानकारी दिए । उक्त डोरी बाँधिसकेपछि खःमेय्को लागि योग्य राँगो खोजी हुने उनले बताए ।
सोहीअनुसार यसवर्ष भक्तपुर नपा २ बालाखु निवासी विजेन्द्र पुँलाछेंले उक्त खःमेय् चढाएका हुन् । उनले काठमाडौंको गोकर्णबाट करिब ९० हजार रुपैयाँमा उक्त खःमेय् ल्याएको जानकारी दिए ।
विजेन्द्रले चार वर्षअघि नै खःमेय् चढाउने इच्छा व्यक्त गरेका थिए । जसअनुसार पाँचौं वर्षमा उनले नवदुर्गालाई खःमेय् चढाउने पालो पाएका छन्।
खःमेय्लाई महिषासुर राक्षसको रुपमा लिइन्छ । त्यसैले वडा दसैंको महानवमीको दिन तुलजा भवानीले महिषासुर वध गरेको मानेर त्यहीं दिन उक्त खःमेय्को जात्रा गर्दै भक्तपुर नपा ९ ब्रह्मायणी पीठमा त्यसको बलि दिइन्छ ।
नवमीको दिन जात्रा गर्नुपर्ने भएकाले खःमेय् निख्खर कालो, मोटोघाटो र जीउमा कुनै घाउ तथा चोटपटक नलागेको हुनुपर्ने प्रचलन रहँदै आएको छ ।
नवदुर्गा मन्दिर भित्र्याइएको खःमेय्लाई नकींले दिनहुँ तोरीको तेल डलिदिनुपर्छ । मीठोमीठो खानेकुरा खुवाइन्छ । जाँडरक्सीसमेत खुवाइन्छ । जसले गर्दा खःमेय् मोटोघाटो हुनुका साथै उग्र स्वभावको बन्दै आउने नवदुर्गा गणका नाइके बनमाला बताउँछन् ।
उनका अनुसार देवगणले पनि पालैपालो खःमेय्लाई घाँस, दानापानीको व्यवस्था गरिदिनुपर्छ । यस वर्ष तलेजूका रकमी खड्गीहरु पछि हटेपछि भक्तपुरकै श्याम नकर्मीले खःमेय् बाँधेका छन् ।