रानाथारु बस्तीमा 'तीज' पर्वको रौनक
धनगढी : पश्चिम नेपालमा मात्रै बसोवास गर्ने राना थारु समुदायको परम्परागत 'तीज' पर्वको रौनक छ । विश्वव्यापी रुपमा फैलिएको (कोभिड-१९) संक्रमण लाई बिर्सदै उनीहरु तीज पर्वमा रमाएका छन् ।
राना थारु बस्तीमा डोला (पिङ) हालिएका छन् । परम्परागत पोशाकमा सजिएका रानाथारू समुदायका महिला पिङ खेल्दै साउनका परम्परागत गीत गुनगुनाउन सुरु गरेका छन् । विवाहित छोरीचेली माइती फर्किएका छन् । नेपाली समाज भाषा संकृतिले सम्पन्न छ ।
विभिन्न जातजातिका विभिन्न संस्कृति छन् । राना थारु समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक गरी मनाइन्छ । एक महिनासम्म तीज मनाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ । त्यसरी हालिएको पिङलाई डोला भनिन्छ । पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् ।
पिङ हाल्न दाजुभाइ-दिदीबहिनी मिलेर जंगलबाट बाबियो काटेर ल्याउँछन् । र, त्यसलाई बाटेर पिङको लठ्ठा बनाइन्छ । यो पर्वले दाजुभाइ, दिदीबहिनीबीच आत्मीयता थप प्रगाढ बनाउने विश्वास रहेको रानाथारू संस्कृतिकी जानकार जीवन रानाथारूले बताइन् । धनगढी उपमहानगरका-७ देबरियामा पनि राना थारुहरूको बाक्लो बस्ती छ ।
अन्य समुदायजस्तै रहनसहन, परम्परा, रीतिरिवाज तथा खानपिन र कला संस्कृतिमा धनी छन् रानाथारू । हिन्दु धर्मावलम्बीहरूले श्रीमानको दीर्घायु तथा कुमारी केटीले महादेव जस्तै वर पाउँ भनी तीजको ब्रत बस्ने धार्मिक मान्यता छ । तर, राना थारूले समुदायमा भने तीजलाई फरक तरिकाले मनाइन्छ । राम्रो बरका लागि र श्रीमानको दीर्घायुका लागि नभएर दाजुभाइको आरोग्यता र दीर्घायुका लागि तीज मनाइन्छ राना थारु समुदायमा ।
'संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ,' धनगढी-७ का राजमती रानाले भनिन् । श्रावण तृतीयालाई तिजको मुख्य दिन मानिन्छ । यस दिन दिदीबहिनीले निराहार व्रत बस्ने चलन छ । व्रत बसेका दिदीबहिनीले पूजामा चढाउन सिमही, गुलगुला, पपरा, पुरीलगायत परम्परागत परिकार पकाउँछन् ।
व्रतालु महिला साँझ परेपछि नदीकिनारमा गएर पूजा गर्छन् । गडरौदा जातको घाँस वा कुसमा विवाहितले सात र अविवाहितले पाँच गाँठा पारी त्यसको पूजा गर्छन् । पूजा सकिएपछि चाँदीको गहना वा सिक्काले त्यसलाई काट्छन् अनि प्रसादको रूपमा खानाका परिकार राखेर नदीमा बगाउँछन् ।
'विसर्जन गर्ने बेला दिदीबहिनीले दाजुभाइका लागि धन सम्पत्ति, उन्नति र दीर्घायुको कामना गर्छन्,' धनगढी-९ की प्रेममती रानाथारू भन्छिन्, 'दाजुभाइको आयु नदीजस्तै लामो होस् भन्ने कामना गरिन्छ ।' व्रत विसर्जन गर्न नदी किनारमा जाँदै गर्दा दाजुभाइले दिदीबहिनीलाई बाटोमा लामो डोरीमा बेरेर घेर्ने गर्छन् ।
रानाथारू संस्कृतिमा स्नातकोत्तर तहको शोध गरेकी जीवनका अनुसार परापूर्वकालमा बेहमैयाले तिजको व्रत बसेको र त्यहीँबाट यसको सुरुवात भएको विश्वास छ ।
बेहमैयाले गडरौदा जातको घाँस गाँठो पारी आफ्ना भाइभतिजाको नाम लिएर बगाउँदा बग्यो, तर त्यत्तिकै बगाउँदा बगेन । नबगेपछि बेहमैया रुन थालिन्, जुन शिव-पार्वतीले देखे । र, उनलाई रुनुको कारण सोधे । शिव-पार्वतीले बेहमैयालाई आफ्ना भाइभतिजाका लागि व्रत बस्न र दीर्घायु कामनाका साथ गडरौदामा गाँठो पारेर नदीमा बगाउनु भनेपछि व्रत बस्ने चलन सुरु भएको किंवदन्ती छ ।
अन्य समुदायमा श्रीमान्को दीर्घायुको कामना गर्दै तिज व्रत बस्ने चलन छ । यो समुदायमा भने दाजुभाइ र भतिजाको दीर्घायुको कामना गरिने रानाथारू संस्कृतिका जानकार धनीराम बताउँछन् । ‘परापूर्वकालमा हाम्रो समुदायमा दुःख बिमार परेर पुरुषको मृत्यु हुन थाल्यो,' उनी भन्छन्, 'त्यसैले संकटबाट मुक्ति पाउन महिलाले दाजुभाइ र भतिजाको जीवनरक्षा, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै व्रत बस्न थालेको जनविश्वास छ ।'
कैलाली र कञ्चनपुरमा मात्र यो समुदायको मुख्य बसोवास छ । सरकारले यो समुदायलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । नेपाल रानाथारू समाजका अनुसार यो समुदायको जनसंख्या करिब साढे तीन लाख छ । दुई जिल्लामा एक सय ३४ वटा गाउँमा रानाथारूको बसोवास छ । आफ्नो समुदायको भाषा, रीतिरिवाज, चाडपर्व, संस्कृति र जीवनशैली अन्य समुदायको भन्दा पृथक रहेको कृपाराम रानाले बताए ।