म्याग्दीमा विपद्को फरक-फरक तथ्याङ्क

म्याग्दीमा विपद्को फरक-फरक तथ्याङ्क

बेनी :  पन्ध्र दिनसम्म पनि म्याग्दीका विभिन्न ठाउँमा गएको पहिरोले पुर्‍याएको क्षतिको विवरण संकलन हुन सकेको छैन। जिम्मेवार निकाय वडा, स्थानीय तह, सुरक्षा निकाय, प्रशासन र रेडक्रससँग फरक/फरक तथ्याङ्क र विवरण छ। समन्वयको अभावमा क्षतिको विवरण र अभिलेखीकरणमा एकरुपता नभएको हो। 

वास्तविक तथ्याङ्कको अभावमा पीडितको पहिचान, वर्गिकरण गरि राहत, व्यवस्थापन र पुन:स्थापनमा समस्या भएको छ। भौगोलिक विकटता, सडक, पैदलमार्ग र सञ्चार असुविधाको कारण देखाउँदै असार २५ र २६ गते को पहिरोले पुर्‍याएको क्षतिको तथ्याङ्क र विवरण संकलनमा ढिलाई गरेका हुन्। 

पहिरोमा आफन्त गुमाएकाहरुले संघीय र प्रदेश सरकारले घोषणा गरेको राहत अझैसम्म नपाएको गुनासो गरेका छन्। गत जेठ महिना यताको पहिरोका कारण म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका १९, मालिका–७ बिमका ८, रघुगंगा–६ का ३ र अन्नपूर्ण–३ का १ जनाको पहिरो र बाढीले बगाएर मृत्यु भएको छ। 

मराङका २, बिम, मालिका–६ दुखु र अन्नपूर्ण–३ काभ्रेका १ जना अझै बेपत्ता छन्। मृतक र बेपत्ताबाहेक पहिरो र बाढीले निजी आवास, सार्वजनिक सम्पत्ति, पशु र कृषि क्षेत्रमा पुर्‍याएको क्षतिको विवरणमा एकरुपता छैन। 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा धवलागिरी गाउँपालिकाको ६ र ७ नम्बर वडामा ७२ र मालिकाको ७ नम्बर वडामा २० घर पहिरोले पूर्ण क्षति पुगेको उल्लेख छ। धवलागिरीका २ र बिमका ४२ घरमा आंशिक क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले बताए। बिमका ३० घर पहिरोको उच्च जोखिमका कारण १४१ जना विस्थापित भएका उनले बताए। 
धवलागिरी गाउँपालिकाले संकलन गरेको क्षतिको विवरण अनुसार मराङमा २३ घर पहिरोले बगाएको र २२६ घर जोखिममा रहेको उपाध्यक्ष रेशम छन्त्यालले बताए। उनका अनुसार ताकम, धारापानी र काफलडाँडामा १४६ घर विस्थापित भएका छन्। मराङको वडा कार्यालय, ताकम स्वास्थ्य चौकीको दुई वटा र ताकम माविको एक वटा भवन पहिरोले भत्काएको छ। ‘मराङको पुरै वडा पहिरोले छिया, छिया बनाएको छ,’ छन्त्यालले भने ‘धारापानी, ताकम र काफलडाँडामा घर नभत्किएपनि बस्न लायक छैनन्।’

जुरुकुस र खोरीयामा निर्माणाधिन झोलुङ्गे पुलको सामान बगाएको छ। धारापानीको किसानी माविको भवन चर्कीएर भत्किने अवस्थामा पुगेको छ। 

बिमका वडा अध्यक्ष रेशम जुग्जालीका अनुसार पहिरोले बगाएर, भत्काएर र पुरिएर ३५ वटा घर पूर्ण रुपमा क्षति पुगेको छ। ५० घर उच्च जोखिममा भएकाले त्यहाँ बस्न नमिल्ने अवस्थामा छन्। बिमको नौमानेमा रहेको शिव आधारभूत विद्यालयको भवन पहिरोले पुरिएको र शिवरात्री खोलाको ट्रस पुल मराङखोलाको बाढीले बगाएको छ।

मालिका–५ देविस्थान सहित मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकामा पहिरोले पुर्‍याएको क्षतिको विवरण प्रशासनसँग छैन। मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले वडाका जनप्रतिनिधिबाट संकलित प्रारम्भिक विवरण अनुसार देविस्थानमा १२० घर पहिरोको जोखिमका कारण विस्थापित भएका छन्। ‘वडा, पालिका र प्रहरीको रिपोर्ट मिलेको छैन,’ उनले भने ‘वास्तविक पीडित पहिचान गर्न संकलित प्रारम्भिक विवरणलाई पुष्टिका लागि इलाका प्रहरी कार्यालयलाई अनुरोध गरेका छौ।’ सडक, खानेपानी, लघुजलविद्युत र केन्द्रिय प्रशारण लाइनको विद्युत आयोजना बगाएको छ। 

पहिरोका कारण पैदलमार्ग र सडक अवरुद्ध भएको, झोलुङ्गे पुल समेत बगाएको तथा सञ्चार सम्पर्कविच्छेद भएकाले क्षतिको विवरण संकलनमा कठिनाई भएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले बताए। अन्नपूर्णका सूचना अधिकारी कुलप्रसाद आचार्यका अनुसार पालिकाभर पहिरो, कटान र बाढीका कारण ७० घर परिवार विस्थापित भएका छन्। दानाको काभ्रेमा १ वटा चालु र १ वटा निर्माणाधिन मोटरेबल पुल, १ होटेल, १ बस, १ वटा एक्साभेटर, १ वटा मन्दिर, १ वटा ब्लक उद्योग रुप्सेखोलामा आएको बाढीले बगाएको छ। 

काभ्रेका २२, तितरका ३, दुवारीमा २ परिवार विस्थापित भएका छन्। नारच्याङको कोप्चेपानीमा ३, गाडपारमा ५, घरापमा ४, वडा न. ६ को हल्लेखर्कमा १, धिरच्याङमा १, शिखमा ५, भुरुङ्ग तातोपानीमा १४ परिवार विस्थापित र दोवाका १० घर जोखिममा छन्। अन्नपूर्णको रुप्से खोलामा साउन ५ गते आएको बाढीले बेनी–जोमसोम–सडक अन्तरगत एक वडा चालु अवस्थाको र अर्को निर्माणाधिन मोटरेबल पुलसहित करिब तीन सय मिटर सडक बगाएको छ। 

कालीगण्डकीको कटानका कारण नारच्याङस्थित मृस्ति खोला जलविद्युत आयोजनाको आवासगृह, तातोपानी कुण्ड, दाना–गाडपार जोड्ने झोलुङ्गे पुल बगाएको, सुनारीखोलाको झोलुङ्गे पुल र तल्लो तातोपानी बजार कटानको जोखिममा परेका छन्।  भुरुङ्ग तातोपानीमा बेनी–जोमसोम सडक बगाउनुका साथै धिरच्याङमा कालीगण्डकी कोरीडोर प्रशारण लाइनको टावर, घारखोला जलविद्युत आयोजनाको क्रसर, दानाको सब स्टेशन र क्रसर उद्योग जोखिममा परेको छ। 

रघुगंगा गाउँपालिका-८ कुइनेमंगलेमा ४ घर पहिरोले बगाएको र १२ घर विस्थापित भएका छन्। कुइनेमंगलेका विभिन्न ठाउँमा ४ वटा झोलुङ्गे पुल बाढीले बगाएपछि एक गाउँदेखि अर्को गाउँ आवतजावत बन्द भएको कार्यपालिका सदस्य यमकुमारी घर्तिमिरेले बताइन्।  

वडा न. ३ मा पर्ने राहुघाटका २५ घर रघुगंगा नदीको कटानका कारण विस्थापित भएका थिए। जोखिमयुक्त नदी किनारमा ग्यावीयन पर्खाल लगाएर बस्तीमाथि खस्न लागेको १० मिटर चौडाई र १० मिटर लम्बाई भएको ढुङ्गा बिस्फोटक पदार्थको प्रयोगबाट फुटाएपछि विस्थापितलाई पुनर्स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। 

१६ घर जोखिममा परेको घुमाउने तालमा कालीगण्डकी नदी कटान रोकथामका लागि तटबन्ध र खोला डाइभर्सन गराउन थालेको बताए। बादुकमा दुई घर विस्थापित भएका र बेगमा सयौँ रोपनी बारी, खेत र खरबारी पहिरोले बगाएको अध्यक्ष भण्डारीले बताए।  मंगला गाउँपालिका–५ मा ५ घरमा पूर्ण क्षति भएको छ। ९५ घर पहिरोको जोखिममा रहेको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले बताए। 

म्याग्दीको धवलागिरी गाउँपालिका–६ कल्लेनीमा खसेको पहिरो र वेपत्ता खोज्दै प्रहरी। तस्बिर  : सौजन्य कृष्णराज पौडेल

गृह मन्त्रालयको विपद् सम्बन्धी प्रारम्भिक द्रुत लेखाजोखा फारम भर्ने जिम्मेवारी पाएको नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको तथ्याङ्क अनुसार म्याग्दीमा पहिरोले ११२ घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको छ। रेडक्रसका कार्यालय प्रमुख धनञ्जयकुमार श्रेष्ठले आंशिक क्षति भएका ९९ र उच्च जोखिममा रहेका ५०४ सहित ७२५ घर पहिरोबाट प्रभावित भएका छन्। ‘रेडक्रसले हालसम्म घर गुमाएका ४२ परिवारलाई एक/एक सेट लत्ताकपडा र भाडाकुडासहितको राहत सामग्री उपलब्ध गराएका छौ,’ उनले भने ‘पीडितको पहिचान र विवरणमा एकरुपता नहुँदा राहत वितरणमा जटिलताका साथै पाउनुपर्नेले नपाउने र नपाउनेले पाउने अवस्था आउन नदिन समिक्षा हुनुपर्छ।’

विपदबाट ज्यान गुमाएकाको परिवारलाई संघीय सरकारले हालै प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। गण्डकी प्रदेश सरकारले प्रतिव्यक्ति पचास हजार रुपैँयाका दरले दिँदै आएको छ। धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले ज्यान गुमाएका ९ परिवारलाई किरिया खर्च बापत पालिकाको तर्फबाट दश/दश हजार रुपैयाँ उपलब्ध गराएको बताइन्। ‘संघीय र प्रदेश सरकारले मृतकका परिवारलाई राहत दिने भएकाले हामीले घर पुननिर्माणमा सघाउने योजना छ,’ उनले भनिन्।
पहिरोबाट ९ जनाको ज्यान गएको राम्चे गाउँका प्रेम लामगाडेले राहत रकम र सामग्री जति सक्दो छिटो उपलब्ध गराउनुपर्ने बताए। ‘सामान बेनीमा छ भन्ने सुनेका छौ,’ उनले भने ‘यहाँ पाल नभएर एउटै टहराको चिसो भुईमा तीन/चार परिवार बस्नुपरेको छ।’ प्रशासनका अनुसार प्रदेश सरकारले २७ जना मृतकको लागि पचास हजार रुपैयाँका दरले १३ लाख ५० हजार रुपैयाँ पठाएको छ। 

संघीय सरकारले घोषणा गरेको राहत दिन जिल्ला विपद् ब्यवस्थापन समितिको कोषमा पैसा अपुग भएको छ। कोषमा १५ लाख रुपैयाँ मात्र छ। थप रकम आएको छैन। प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले पहिरो प्रभावित क्षेत्रमा पैसाको भन्दा खाद्यान्न र सुरक्षित आवासको आवश्यकता भएको बताए।  ‘पहिरो प्रभावित बस्तीमा पैसाभन्दा खाने कुरा र बस्ने ठाउँको व्यवस्थापनमा प्राथमिकता दिएका छौ,’ उनले भने ‘खाने र बस्ने ठाउँ भएपछि राहत बाँड्ने काम गछौ।’सडक र पैदलमार्ग अवरुद्ध भएकाले पहिरो प्रभावित क्षेत्रमा महँगो खर्च गरेर हेलिकप्टर मार्फत खाद्यान्न लगायत राहत सामग्री ढुवानी गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.