फसी देगमा अन्यत्रकै दक्षिणामूर्ति प्रतिस्थापन गरिएको भन्दै विरोध
भक्तपुर : भक्तपुर दरबार क्षेत्रस्थित सिलु महादेव रहेको फसी देग मन्दिर पुननिर्माण भइरहेको छ। २०७२ सालको भूकम्पमा क्षति पुगेको मन्दिर पुरानै ग्रन्थकुट शैलीमा पुनर्निर्माण भइरहेको हो। पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको उक्त मन्दिरभित्र अन्यत्रकै दक्षिणामूर्तिको प्रतिस्थापन गरिएको भन्दै विरोध गरिएको छ।
फसी देगको बीचमा उत्तराभिमुख महादेवको शिवलिङ्ग रहेको छ। उक्त शिवलिङ्गको पश्चिममा अन्यत्रकै मन्दिरको दक्षिणामूर्तिको मूर्ति प्रतिस्थापन गरिएपछि विरोध भएको हो। दक्षिणामूर्तिको मूर्ति फसी देगको नभएको संस्कृतिकर्मी विनोदराज शर्माले जानकारी दिए।
उनले उक्त दक्षिणामूर्तिको मूर्ति फसी देगकै पूर्वमा रहेको तत्कालीन गुठी संस्थान भक्तपुरको कार्यालय बसेको भवनस्थित मन्दिरको भएको स्पष्ट पारे। उक्त भवनको भूईतलामा दक्षिणामूर्तिको मन्दिर र सबैभन्दा माथिल्लो तलामा भक्तपुरको दिगु तलेजुको मन्दिर रहेको उनको भनाइ थियो।
छुट्टै मन्दिर हुँदाहुँदै दक्षिणामूर्तिलाई फसी देगभित्र प्रतिस्थापन गरिएकोमा उनले आपत्ति जनाए।
‘वि.सं. १८९० सालको भूकम्पले उक्त भवनमा क्षति पुर्यायो’, संस्कृतिविद् शर्माले भने, ‘उक्त भूकम्पले भक्तपुरका धेरै सम्पदाहरुलाई माटोमा मिलाएको थियो। जुन सम्पदाहरुले अहिलेसम्म जीवन पाएको छैन।’
त्यस्तै सन् १९९० मा आएको अर्को महाभूकम्पले उक्त भवनमा थप क्षति पुर्यायो। दिगु तलेजु मन्दिर पूर्ण नष्ट भयो। दक्षिणामूर्ति मन्दिरलाई भने यथावत रहेको उनले सुनाए।
भूकम्पले क्षति पुर्याएको उक्त भवनमा मर्मतसम्भार गरेर शाह तथा राणाकालमा छेंभडेल अड्डा राखिएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले सुनाए। नेपालमा प्रजातन्त्र आएपछि उक्त भवनमा तहसीलदार कार्यालय राखिएको उनको भनाइ थियो। पञ्चायतका आएर उक्त भवनमा गुठी संस्थानको भक्तपुर शाखा राखिएको थियो। २०४५ सालको भूकम्पले उक्त भवनमा पूर्ण क्षति पुर्याएको थियो। उक्त भूकम्पले भवनको भूई तलामा रहेको दक्षिणामूर्ति मन्दिरलाई समेत पूर्ण रुपमा क्षति पुर्याएको संस्कृतिविद् शर्मा बताउँछन्।
भूकम्पले क्षति पुर्याएपछि दक्षिणामूर्तिको चोरी हुनबाट जोगाउन नजिकै रहेको फसी देगमा राखिएको उनले स्पष्ट पारे।
‘२०४५ सालको भूकम्पले मन्दिर भत्काएपछि मूर्ति जोगाउन दक्षिणामूर्तिलाई फसी देगमा राखिएको थियो’, उनले भने, ‘फसी देगमा राखिएकै आधारमा अहिले त्यहीं प्रतिस्थापन गर्न पाइँदैन। दक्षिणामूर्ति पहिले जहाँ थियो त्यहीं प्रतिस्थापन गर्नुपर्छ।’
तर उक्त मूर्ति रहेको गुठी भवन अहिलेसम्म बन्न सकेको छैन। भवन पुनर्निर्माण गर्न गुठी संस्थानले २०४८ सालमै उक्त भवन जगैसम्म भत्काएको थियो। गुठीले गएको वर्ष उक्त भवन पुनर्निर्माण गर्न भनी भक्तपुर नपामा नक्सा पेस गरेको थियो तर पहिलेकै स्वरुपमा नभएको भन्दै नपाले उक्त नक्सामा आपत्ति जनायो।
अहिले नक्सा संशोधन भएर नपाबाट पुरातत्व विभाग पुगेको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जानकारी दिए।
उनले उक्त भवनमा पहिले के के मन्दिर थियो आफूलाई जानकारी नभएको तर गुठीले आफ्नै कार्यालय भवनको रुपमा उक्त भवन बनाउन नक्सा पेस गरेको सुनाए।
उक्त भवन र फसी देगमा प्रतिस्थापन गरिएको दक्षिणामूर्तिको मूर्तिबारे पुरातत्व विभागले समेत अनभिज्ञता जनाएको छ। विभागकी निमित्त महानिर्देशक सौभाग्य प्रधानाङले गुठी भवन र दक्षिणामूर्तिको लगत नभेटिएसम्म केही भन्न सकिने बताइन्।
उनले दक्षिणामूर्ति गलत ठाउँमा प्रतिस्थापन गरिएको भए पहिलेकै स्थानमा राख्न विभागले पहल गर्ने स्पष्ट पारिन्।
‘गुठी भवन बन्दैछ। दक्षिणामूर्ति त्यहाँको हो भने त्यहाँ नै राख्छौं’, निमित्त महानिर्देशक प्रधानाङले भनिन्, ‘एक ठाउँको मूर्ति अर्को ठाउँमा राख्न मिल्दैन। प्रमाण जुटेसम्म जहाँको हो, त्यहीं राख्नुपर्छ।’
उनले फसी देगमा प्रतिस्थापन गरिएको दक्षिणामूर्तिको ढुंगे मूर्ति प्राचीन स्वरुपको नभएको बताइन्। उनका अनुसार दक्षिणामूर्तिको मूर्ति र मूर्ति विराजमान भएको कमलको आशनको ढुंगा फरकफरक छन्। आशनको ढुंगा प्राचीन शैलीको देखिने तर दक्षिणामूर्तिको ढुंगा प्राचीन नदेखिएको उनको भनाइ थियो।
विभागले तयार गरेको भक्तपुर नगर क्षेत्रको सम्पदाहरुको इन्भेन्ट्रीमा भने गुठी भवन र दक्षिणामूर्तिको लगत उल्लेख छैन।
दक्षिणामूर्ति ?
संस्कृतिविद् शर्माका अनुसार दक्षिणामूर्ति पशुपति महादेवका गुरु हुन्। त्यसैले काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि दक्षिणामूर्तिको मन्दिर रहेको छ।
‘दक्षिणामूर्ति पशुपति महादेवका पनि गुरु हुन्। उनी ऋषि हुन् तर सप्तऋषिभित्र नपर्ने भएकाले दक्षिणामूर्ति त्यति चर्चामा छैन’, उनले भने, ‘उनी गोप्य ऋषि मानिन्छ। तान्त्रिक पूजाआजा तथा तन्त्रमन्त्रको प्रयोग हुने ठाउँमा दक्षिणामूर्तिको नाम लिइन्छ।’
धेरै प्रचार गरिँदा आफ्नो सिद्धि खिइन्छ भन्ने विश्वासले दक्षिणामूर्तिलाई गोप्य राख्दै आएको शर्मा स्पष्ट पार्छन्। दक्षिणामूर्तिको प्रत्येक वर्ष गुरु पूर्णिमाको दिन एकदिनमात्रै पूजाआजा हुने उनले जानकारी दिए। उनका अनुसार भूपतीन्द्र मल्लभन्दा पाँचपुस्ता अघि भक्तपुरमा दक्षिणामूर्तिको मन्दिर निर्माण गरिएको हुनसक्छ।
वल्डफिल्डले १९१० सालमा स्थलगत भ्रमणपछि कोरेको भक्तपुर दरबार क्षेत्रस्थित फसी देग, दक्षिणामूर्ति र भक्तपुरको दिगु तलेजु रहेको भवन (रातो घेरा लगाइएको) सहितको चित्र।