श्रम शिविर चलाएर नेकपाले पहिरो पीडितको अस्थायी टहरा बनाउने
बेंसीसहर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ पल्लोटारीमा पहिरोबाट विस्थापितहरु बस्ने अस्थायी घरटहरा बनाउने भएको छ ।
नेकपा मर्स्याङ्दी गाउँ कमिटिले पहिरो विस्थापितका लागि कम्तिमा ६० घर निर्माण गर्ने निर्णय गरेको हो । घर निर्माणका लागि साउन ११ गतेबाट श्रम शिविर सुरु गरिने गाउँ कमिटीका अध्यक्ष धनिसिंह तामाङले जानकारी दिए । ‘पालिकाको नौ वटै वडा कमिटीको नेतृत्वमा पालैपालो पार्टी सदस्यहरु श्रम शिविरमा संलग्न गराउने निर्णय गरेका छौं’, तामाङले भने, ‘एउटा कमिटीले कम्तिमा ३ दिनसम्म २० जनालाई श्रम शिविरमा परिचालन गरी घरटहरा निर्माण गर्छ ।’
पल्लोटारीमा साउन ७ र ८ गते गएको पहिरोले २१ घर पूर्णरुपमा क्षति भएको छ । ८ घर आधा पुरिएको छ भने ५३ घर उच्च जोखिममा छन् । सो गाउँबाट ८२ घरपरिवार विस्थापित भएका छन् ।
नेकपा मर्स्याङ्दी गाउँकमिटीका सचिव दयासागर घिमिरेका अनुसार जस्तापाता, बाँस, काठपातबाट अस्थायी टहरा निर्माण गरिनेछ । जस्तापाता र किलाकाँटीका लागि पार्टी सदस्यहरु र जनवर्गीय संगठनसँग सहयोग संकलन गरिने घिमिरेले बताए ।
गाउँकमिटी सचिवालय सदस्य नन्दराज तामाङका अनुसार पहिरो पीडितका लागि वडा नं. १ लाई २५ हजार, वडा नं. २ लाई ५०, वडा नं. ३ लाई ७५, वडा नं. ४ लाई २५, वडा नं. ५ लाई २५, वडा नं. ६ लाई २५, वडा नं. ७ लाई ५०, वडा नं. ८ लाई ७५ र वडा नं. ९ कमिटिलाई ७५ हजारका दरले सहयोग संकलन गर्न जिम्मेवारी तोकिएको छ ।
यसैगरी निजामति कर्मचारी संगठनलाई २५ हजार र शिक्षक संगठनसँग एकलाख रुपियाँ सहयोगको अपेक्षा गरिएको तामाङले बताए । बैठकले विपद् व्यवस्थापन समिति गठन गरी राहत वितरण तथा स्थान्तरणको कार्य प्रभावकारी बनाउन गाउँपालिकालाई अनुरोध गरेको छ । पहिरो पीडितका लागि स्थायी बसोबासका लागि संघ, प्रदेश तथा स्थानीय सरकारसंग जोडदार माग गरेको छ ।
बैठकले गाउँपालिका भित्र भएका बाढीपहिरोको निरीक्षण गर्न संघीय सांसद्, राष्ट्रियसभा सदस्य, मुख्यमन्त्री, प्रदेश सभा सदस्य, पार्टी नेतृत्वलाई अनुरोध गरेको छ । यसैगरी वडा नं. १ मा भूकम्प पीडितसँग प्राविधिकहरुले घुस मागेको विषयको सत्यतथ्य छानविन गरि दोषीउपर कारबाहीका लागि माग समेत गरेको छ ।