सर्पको बिगबिगी
महोत्तरी : लगातारको वर्षा र डुबानसँगै तराईमा विषालु सर्पको बिगबिगी बढेको छ। समयमा उपचार नपाउँदा सर्पको टोकाइबाट अकालमै ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ। भंगहा नगरपालिका-५, सिद्धपुरका ४५ वर्षीय शम्भु माझी अपांगता भएका व्यक्ति हुन्। घरमै सुतिरहेका बेला विषालु सर्पले टोकेपछि उपचारका लागि उनलाई बर्दिबास लगियो। त्यहाँ उपचार सम्भव नभएपछि सर्पदंश उपचार केन्द्र बन्दीपुर पुर्याइए पनि उपचारकै क्रममा उनको ज्यान गयो।
असार १३ गते बर्दिबास-३, कालापानीका सन्तोष खत्रीकी चार वर्षीया छोरीको सर्पको टोकाइले अकालमै ज्यान गयो। असार ४ गते बर्दिबास-२ का ४५ वर्षीय शिवनाथ महतोको गोमन सर्पको टोकाइबाट मृत्यु भयो। छानो चुहिइरहेका बेला टाली मिलाउन छानोमा हात हालेका उनलाई सर्पले टोकेको थियो। सुरक्षित बासको खोजीमा सर्प घरभित्र पस्ने गरेको महोत्तरीको पशुपतिनगरका सुकृत महतो बताउँछन्।
‘बाढीमा बगेर आएका करेत, गोमन जातका विषालु सर्प बस्तीमा पसेका छन्। खेतका आलीमा जताततै भेटिन थालेका छन्’, उनले भने।सर्पदंश उपचार केन्द्र बर्दिबासमा असारमा मात्रै ४४ जना भर्ना भएका थिए। जेठमा २७ र वैशाखमा १९ जना उपचार केन्द्र पुगेका थिए। समुदायले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा नेपाली सेनाको प्राविधक सहयोग छ।
बर्दिबास सरकारी अस्पताल, बर्दिबासका प्रमुख विद्यानचन्द्र झाले टर्चलाइट लिएर मात्र राति बाहिर निस्कन सल्लाह दिए। सर्पदंश उपचार केन्द्र बर्दिबासबाट अघिल्लो वर्ष सर्पले टोकेका एक सय ७१ जनाले सेवा लिएका थिए।