दलित हत्या शृंखलामा प्रदेश दुई
असार २९ मा अपहरणमा परेका सप्तरी शम्भुनाथ नगरपालिका– ४ का ४० वर्षीय त्रिभुवन राम ३० गते मुतनी नदीमा मृत भेटिए। गत वर्ष त्रिभुवनकी छोरीको सामूहिक बलात्कार भएको थियो। मोरङ विराटनगर उपमहानगरपालिका– १६, दरहियाका ३० वर्षीय राजेश ऋषिदेव सदालाई घरजग्गासम्बन्धी विवादलाई लिएर विपक्षीले निर्घात कुटपिट गरी आफ्नै घरमा झुन्ड्याएर हत्या गरेको परिवारको आरोप छ। २६ असारमा सिरहा लहान नगरपालिका– १ मटियर्वाका १९ वर्षीय रोशन राम ३० गते मिर्चैयाको बसहा खोलानजिकैको काँसघारीमा प्रहरीले बेवारिसे अवस्थामा फेला पारे।
अपहरणपछि हत्या गरिएका त्रिभुवन रामको छोरीको बलात्कार मुद्दामा चारजना जेल सजाय काटिरहेका छन् भने तीनजना फरार छन्। गाउँकै एकजना जमिनदारको १० कट्ठा जग्गामा त्रिभुवनको मोहियानी हक थियो। जिल्ला भूमिसुधार कार्यालयले मोहियानी हकको प्रमाणपत्र पनि दिइसकेको थियो। २९ गते जग्गाधनीसँग गाउँमा मिलापत्रका लागि छलफल थियो। छलफल सकेर त्रिभुवन घर आएका थिए। बेलुका साइकल चढेर गाउँनजिकैको पसलतिर उनी हिँडेका थिए। पसलबाट फर्किंदै गर्दा बाटोमै त्रिभुवन अपहरणमा परे। त्रिभुवन पसलबाट घर नफर्किएपछि रातभर खोजी भयो, तर कतै भेटिएन। भोलिपल्ट परिवारले प्रहरीमा उजुरी गरे। अविरल वर्षा भइरहेको थियो। उजुरी गरेको ६ घन्टापछि मुतनी नदीमा पानी जमेको एउटा खाल्डोमा त्रिभुवनको लास फेला पर्यो। कुटपिटपछि हत्या गरेको अभियोगमा अनुसन्धानका लागि चारजना पक्राउ परेका छन् भने तीनजना फरार छन्।
गाउँघरमा थुप्रै घटना पैसा र शक्तिका बलमा दबाइरहेका छन्। दलितका न्याय र अधिकारलाई पैसा र शक्तिमा साटिरहेका छन्।
विराटनगर दरहियाका राजेश ऋषिदेव (सदा) ले आफ्नो आँगनमा कूलदेवताको मन्दिर बनाएका थिए। छिमेकी जग्गाधनीले मन्दिर आफ्नो जग्गामा परेको दाबी गर्दै आएका थिए। दरहियामा एक मात्र मुसहर घर छ। असार १९ गते घरका सबै सदस्य मजदुरी गर्न बाहिरिइसकेका थिए। घरमा राजेश दम्पती मात्र थिए। जग्गाधनी गंगा मण्डल, हरेराम मण्डल, अनिल मण्डल, कन्हैया मण्डल, देवन मण्डलसहितले राजेशलाई निर्घात कुटपिट गरिरहेको सुनेर श्रीमती कलमीदेवी घटना स्थलतिर हिँडिन्। त्यहाँ पुगेकी उनलाई पनि निर्घात कुटपिट गरेर रोडमा लडाए। कलमी भन्छिन्– मलाई टाउकोमा हानेपछि मुर्छित भएँ। त्यसपछि केही थाहा भएन। विपक्षीले पतिलाई कुटपिट गरी आफ्नै घरमा लगेर झुन्ड्याइदिए।
दिउँसो कामबाट घर फर्केको राजेशका भाइ उमेश भाउजूलाई मुर्छित र दाइलाई घरमा झुन्डिएको देखेपछि हारगुहार गरेका थिए। उमेश भन्छन्– गाउँकै एकजना पहाडिया गोपाल दाईले आफ्नो टेम्पोमा कोशी अञ्चल अस्पताल पुर्याइदिए। तर अस्पतालले बाटोमै मृत भइसकेको डाक्टरले घोषणा गरे। प्रहरीले अहिलेसम्म मुद्दा दर्ता लिएको छैन। राजेशको बुवा अमरलाल भन्छन्– प्रहरीले मुद्दा दर्ता लिएन। धेरैपटक धाए। प्रहरीले अनुसन्धान गर्नुपर्छ मात्र भन्छ। सबै मिलेर प्रमाण नष्ट गरिसकेका छन्। हामी शोकमा थियौं। विपक्षी पहुँचवाला हुन्। हामी सोझा मान्छे। पोस्टमार्टम रिपोर्ट बनाएर हामीलाई कमजोर पारे। लास कुहिन्छ भनेर उनीहरूले हतारहतार प्रक्रिया पुर्याए। उनीहरूले नै लास खाल्डो खनेर गाडे, कलमीले थपिन्। मोरङका जिल्ला प्रहरी प्रमुख सन्तोष खड्कासँग सम्पर्क गर्दा धेरै कुरा बताउन चाहेनन्। उनले उल्टै प्रस्ताव गरे– हामीसँगै छानविनमा जाऊँ।
०००
मिर्चैया नगरपालिका– ९ मा हत्या गरी फालिएका सिरहा लहानका रोशन रामको लास दुर्गन्धित भइसकेकाले सोही दिन लहान अस्पताल ल्याइएको थियो। साउन १ गते प्रहरीले बेवारिसे शवको पोस्टमार्टम गरिसकेको थियो। बेवारिसे लास भेटिएको थाहा पाएपछि २ गते रोशनका बुवा सिफैत राम अस्पताल पुगेका थिए। रोशनले लगाएको कपडा र प्रहरीले देखाएको फोटोका आधारमा सिफैतले आफ्नो छोरा चिनेका थिए। लकडाउनको समयमा साथीहरूसँग सीमावर्ती गाउँ गएका बेला उनी लागुपदार्थसहित पक्राउ परेका थिए। लागुपदार्थसम्बन्धी मुद्दामा २५ जेठमा जिल्ला अदालत सिराहाले १० हजार धरौटी तोकेको थियो। गरिबीका कारण समयमा उक्त रकम तिर्न सकेनन्। त्यसपछि रोशनलाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो। एक महिना जेल बसाइका क्रममा उनले ससुराली गाउँ मिर्चैयाका २५ वर्षीय जयकुमार यादवलाई भेटेका थिए। जयकुमारसँग रोशनले जेलमै हजार रुपैयाँ सापटी लिएका थिए। सिफैतले १० हजार ऋण काढेर धरौटी रकम बुझाएपछि १० असारमा रोशन घर आएका थिए।
जयकुमार यादव जेलबाट छुटेपछि २६ असारमा सापटी रकम फिर्ता लिन गाउँकै २२ वर्षीय मुकुन्दकुमार कटुवाललाई साथमा लिएर रोशनका घरमा आएका थिए। पैसा माग्न आएका जयकुमारले रोशनको घरको फोटो मोबाइलमा खिच्दै उसको आमा सुनैरदेवीलाई धम्क्याएका थिए। त्यही राति रोशनलाई फोनबाट पनि धम्क्याएका थिए। त्यसपछि मात्र परिवारले जयकुमारसँग लेनदेनको कुरा थाहा पाएको थियो। सिफैत भन्छन्– मैले ऋण काढेर भए पनि हजारको बदला पन्ध्र सय दिन्छु भनेको थिएँ। २६ गते जयकुमार र मुकुन्दले ससुराली घुम्न जाऔं भन्दै बाइकमा चढाएर रोशनलाई लगेका थिए। उनीहरू त्यही दिन राति रोशनको ससुराली मिर्चैया पनि पुगेका थिए। तर, उनीहरू त्यहाँ धेरै बेर रोकिएनन्। २६ गते राति नै रोशनलाई हत्या गरी फालिसकेका थिए। रोशनको खोजी हुन थाल्यो। रोशनकी आमा सुनैरदेवी भनिन्, ‘कान्छी छोरी गंगाको धुमधामका साथ बिहे गर्ने भनेर वैदेशिक रोजगारमा जानका लागि पासपोर्ट बनाएर चैत ९ गते काठमाडौं हिँडेका थिए। लकडाउनको हल्ला चलेपछि उनी चैत १० गते घर फर्किएका थिए। रोशनको हत्या भएपछि पत्नी अञ्जली मुर्छित छिन्। हत्या अभियोगमा जय र मुकुन्द पक्राउ परिसकेका छन्।
कोभिड– १९ को समयमा रुकुमको सोतीबाट सुरु भएको दलित युवा नवराज विकको नरसंहारको घटनादेखि हाल त्रिभुवन राम, रोशन राम र राजेश सदाको घटनासम्म आइपुग्दा देशमा लोकतन्त्र र मानवअधिकारप्रति गम्भीर प्रश्नचिह्न खडा भएको छ। यतिबेला जताततै दलित मारिएका छन्। जताततै दलित कुटिएका छन्। दिनप्रतिदिन दलितमाथि कुनै न कुनै घटना भइरहेकै छन्। तर पनि सरकार र राजनीतिक दल मौन छन्। कुनै सामाजिक र सामूहिक चेतनामूलक अभियान अभियान चलाएको छैन। न त कसैले दलित नरसंहारलाई राजनीतिक रूपमा प्रमुख मुद्दा बनाएको छ। सबै सरोकारवाला पक्षहरू मौन छन्।
यतिबेला प्रदेश २ दलित नरसंहारको हर्ट स्पोर्ट हुन पुगेको छ। हरेक दिन कुनै न कुनै घटना भएकै छन्। प्रदेश सरकार भने कतै राहतका नाममा पाँच लाख बोकेर जान्छन् त कतै ललीपप बाँड्दै हिँड्छन्। दलितका न्याय र अधिकारलाई पैसा र शक्तिमा साटिरहेका छन्। गाउँघरमा थुप्रै घटना पैसा र शक्तिका बलमा दबाइरहेका छन्। दलितमाथि भएको अत्याचारले कसैलाई पोलेको छैन। पोलेको छ त केवल दलितलाई मात्र। दलित समस्याको बुझाइमा अझै पनि एकरूपता र सामूहिकता छैन। त्यसैले लाग्छ, दलित विभेद र उत्पीडन समस्या कुनै सामूहिक वा राज्यको समस्या नभएर दलितविशेषको समस्या मात्र हो। यस अवस्थामा दलित समुदायले कस्तो न्याय र अधिकारको आशा गर्ने ?