कोरोना संक्रमणमुक्त बन्यो जुम्ला
सुर्खेत : जुम्ला कोरोना भाइरस संक्रमणमुक्त जिल्ला बनेको छ ।सबै कोरोना संक्रमित निको भएपछि जिल्ला कोरोना भाइरस संक्रमण मुक्त बनेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा रहेका अन्तिम एक संक्रमित पनि आइतबार निको भएर घर फर्किएका छन् ।
जुम्लामा ६९ जनालाई कोरोना संक्रमण भएको थियो । तर उनीहरु सबै आइसोलेसनबाटै निको भएर घर फर्किएका छन् ।सबै संक्रमित निको भएर घर फर्किएपछि जुम्लाका आइसोलेसन पनि खाली भएका छन् ।
प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासले यो सफलता प्राप्त भएको हो । हालका लागि जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भए पनि कोरोनाको जोखिम कायम रहेको उनको भनाइ छ ।
प्रतिष्ठानका कोरोना फोकल पर्सन प्राडा धीरज गुरुङले भने, 'जिल्लामा संक्रमितको संख्या शून्यमा झरेको छ । जिल्लालाई यो स्थानमा ल्याउन सबै पक्षको सहयोग रहेकाले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका छौं।'
तर समुदायमा परीक्षणको दायरा बढाउन सके संक्रमित भेटिनसक्ने उनको अनुमान छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछि प्रतिष्ठानले धेरै संख्यामा कोरोना परीक्षण गरेको छ ।
पीसीआर उपकरण स्थापना गरी सञ्चालनमा ल्याएपछि कोरोना जाँच र स्वाब संकलन कार्यलाई प्रतिष्ठानले उच्च प्राथमितामा राखेको थियो । प्रतिष्ठानले हुम्ला, मुगु, दैलेख, कालिकोटसहित आवश्यकता परेको स्थानमा काम गर्न चिकित्सक टोली परिचालन गर्दै आएको छ । संक्रमितको संख्या शून्य भएपछि कोभिडविरुद्धको अभियानमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई प्रतिष्ठानले सम्मान गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रतिष्ठानको समन्वयमा कोरोनाविरुद्ध लड्ने प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो ।प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले संकटको समयमा जोखिम मोलेर काम गर्ने सबै स्वास्थकर्मीप्रति सम्मान प्रकट गरे ।