राजदूतहरूको लक्ष्मणरेखा

राजदूतहरूको लक्ष्मणरेखा

दिल्लीस्थित नेपाली राजदूतले दुईपक्षीय विषयमा निरन्तर संवाद र सम्पर्क गर्ने निकाय हो, भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन जसले नेपाल र भुटान मामिला हेर्ने गर्छ । तर कतिपय विषय हल गर्न नर्थ डेस्कभन्दा माथिल्लो तहमा सम्पर्क र संवादको आवश्यकता हुन्छ । यतिबेला भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य सीमा विवादका सम्बन्धमा उच्च तहमा कुराकानी गर्न चाहन्छन् तर राजदूत भएर गएदेखि नै उच्च तहमा भेटघाट गर्न उनलाई निकै कठिन भइरहेको छ ।

भारतको मात्र होइन, चीन, अमेरिकालगायत अन्य देशमा खटिने नेपाली राजदूतका लागि पनि सम्बन्धित देशका परराष्ट्रमन्त्री र प्रधानमन्त्री भेट्ने कार्य सहज छैन । धेरैले ओहोदाको प्रमाणपत्र बुझाउने र बिदाइ भेट गर्ने समयमा मात्र उच्चतहमा पहुँच पाउँछन् । कतिपय मुलुकमा त ओहोदाको प्रमाणपत्र बुझाउन पनि निकै समय पर्खनुपर्ने हुन्छ । चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डे बेइजिङ पुगेको दुई हप्ता नाघिसकेको छ तर उनले त्यहाँ प्रमाणपत्र बुझाएको खबर यो लेख तयार पार्दासम्म आइसकेको छैन ।

तर, काठमाडौंस्थित विदेशी राजदूतहरूको अवस्था भने भिन्न छ । यहाँ राजदूत भएर आउने कुनै पनि देशको राजदूतलाई ओहोदाको प्रमाणपत्र बुझाउन धेरै दिन लाग्दैन, तुरुन्तै परराष्ट्र मन्त्रालयले त्यसको व्यवस्था गरिहाल्छ । यहाँ विदेशी राजदूतको भेटघाटको पहिलो प्राथमिकतामा प्रधानमन्त्री र परराष्ट्रमन्त्री पर्ने गर्छन् । विदेशी राजदूतको परराष्ट्र सचिव र डेस्क प्रमुखसँगको भेटवार्ता एकदमै कम हुने गर्छ । दुईपक्षीय सम्बन्धका साना विषयसमेत लिएर राजदूतहरू सीधै प्रधानमन्त्रीकहाँ पुग्ने गर्छन्, छलफल गर्छन् । कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालय र राजदूतका बीचमा कुराकानी भइरहेका कतिपय विषय परराष्ट्र मन्त्रालयलाई थाहै हुँदैन ।

विदेशी राजदूतका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र राजनीतिक दलका उच्च नेताहरू भेट्न न कुनै प्रक्रियागत झञ्झट, न त समयको अभाव नै । यति मात्र होइन्, नेपालको आन्तरिक मामिलामा सार्वजनिक रूपमा नै टीकाटिप्पणी गर्न उनीहरू तम्सिहाल्छन् । राजदूतले चाहेको समयमा मन्त्रीलाई भेट्न पाएका उदाहरण धेरै छैन् । सिंहदरबार छिरेर आफूले चाहेका सबै मन्त्रीलाई पालैपालो भेटेर एकाध घन्टामा राजदूत बाहिरिएका उदाहरणसमेत रहेका छन् । अन्य मन्त्रीहरूको भेटघाट पनि परराष्ट्र मन्त्रालयको समन्वयमा हुनुपर्छ र त्यहाँ भएका कुराकानीको संस्थागत रेकर्ड हुनुपर्छ ।

परराष्ट्र मन्त्रालयले काठमाडौंमा रहेका कूटनीतिक नियोगलाई एकमुष्ट रूपमा भन्न सक्नुपर्छ, मन्त्रालयको अनुमतिलिएर मात्र प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्री र उच्च राजनीतिक दलका नेताहरूलाई भेट्नु ।

यसै परिपेक्ष्यमा पछिल्लो समय नेपालका लागि चिनियाँ राजदूतको होउ यान्छीको सक्रियता राजनीतिक र कूटनीतिक वृत्तमा निकै चर्चामा छ । जब सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद बढाउन सक्रियता बढ्छ । सत्तारूढ दलका केही नेता त्यसलाई तुरुन्तै ढाकछोप गरिहाल्छन् र भन्ने गर्छन्, राजदूतले नेतालाई भेटघाट गर्नु सामान्य हो, नेकपाभित्रको विवादबारेमा कुराकानी भएको छैन । अझ एक कदम अगाडि बढेर उनीहरू भन्ने गर्छन्, चीन नेपालमा राजनीतिक स्थायित्वका पक्षमा रहेका कारण चीनको चासो सही हो । तर काठमाडौंस्थित चिनियाँ दूतावासले भने घेटघाटको विवरण लुकाएको छैन । विभिन्न पत्रिकामा दूतावासका प्रवक्ताले दिएको प्रतिक्रियामा भनिएको छ, चीन नेपालमा राजनीतिक स्थायित्वका पक्षमा छ र त्यसका लागि अहिले नेकपा कुनै पनि समस्यामा नपरोस् भन्ने चाहन्छ । चिनियाँ दूतावासले मात्र होइन, चिनियाँविज्ञहरूले पनि अहिले सार्वजनिक रूपमा स्वीकार गरिरहेका छन् ।

विगतमा नेपालका नेताहरूसँग राजदूतको भएको भेटघाटलाई समेत लुकाउन खोज्ने चिनियाँ पक्ष अहिले खुला र पारदर्शी रूपमा आइरहेको छ । २४ घन्टाभित्र नेकपाका सबै नेता र राष्ट्रपतिसँग निरन्तर भेटवार्ता हुनुलाई संयोग र कूटनीतिक भेटघाट मात्रै मान्न सकिँदैन । त्यति मात्र होइन, विवाद जतिबेला उत्कर्षमा पुग्छ, त्यतिबेला भेटघाट सुरु हुन्छ । निश्चय नै चिनियाँ राजदूत फलानो व्यक्ति प्रधानमन्त्री हुनुपर्छ भनेर हस्तक्षेपको शैलीमा प्रस्तुत भएको देखिँदैन तर चीन यतिबेला सकेसम्म पाँच वर्ष यही सरकारको निरन्तरता चाहन्छ र त्यो हुन सकेन भने पनि नेकपा जसरी पनि एकताबद्ध रहोस् भन्ने चाहन्छ ।

तर यतिबेलाको चिन्ताचाहिँ चीन पनि विस्तारै हिजो भारतले अपनाएको बाटोमा जाने त होइन भन्ने हो । हिजो नेपालको सरकार गठन र ढाल्ने प्रक्रियामा काठमाडौैंस्थित भारतिय राजदूतहरू खुलमखुला नै लागे । कतिसम्म भने पार्टीभित्रको कुनै अमूक नेतालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न नेतृत्वलाई दबाब दिएका थुप्रै उदाहरण छन् । लामो समयपछि २०७२ सालको संविधान निर्माणपछि त्यो शृंखला टुट्यो । त्यसपछि विशेषगरी भारतीय जनता पार्टीको नेतृत्व तहमा नेपालमा आफूअनुकूलको प्रधानमन्त्री खोज्ने होइन कि जो प्रधानमन्त्री भएर आउँछ उसैसँग काम गर्नुपर्छ भन्ने एक किसिमको समझदारी भएको देखिन्छ । त्यही भएर नै विशेषगरी मञ्जिबसिंह पुरी नेपालका लागि भारतीय राजदूत भएर आएपछि काठमाडौंको राजनीतिक मामिलामा भारतीय राजदूतको सक्रियता कम्तीमा देखिने गरी निकै कम भएको छ ।

यतिबेला हरेक क्षेत्रमा प्रभाव बढ्दै जाँदा भोलि चीन पनि विगतमा भारतको जस्तै हस्तक्षेपको बाटोमा जाने त होइन भन्ने आशंका छन् । चीनको कूटनीति यतिबेला विगतमा जस्तो शान्त र अर्काको मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा सीमित छैन, त्यसमा भारी मात्रामा परिवर्तन आएको छ । विश्वव्यापी रूपमै ऊ खुला, आक्रामक र राजनीतिक रूपमा पनि मुखरित रूपमा प्रस्तुत भइरहेको छ । आफ्नो आर्थिक शक्तिलाई उसले राजनीतिक प्रभाव बढाउने माध्यमका रूपमा प्रयोग गरिरहेको छ । नेपालको आन्तरिक मामिलामा चासो राख्नु स्वाभाविक हो । तर त्यसलाई हामीले हस्तक्षेपको तहमा जानुभन्दा पहिल्यै रोक्न आवश्यक छ ।

नेपालमा भारत, अमेरिका र चीनको स्वार्थ बाझिँदै जाँदा आफ्नो स्वार्थ पूरा गर्न र अरूको स्वार्थलाई नोक्सान पु¥याउन सबै मुलुकले प्रयोग गर्ने हतियार राजनीतिक दलभित्रको पक्कड नै हो । त्यसैले अहिलेको परिस्थितिमा पुरानै पाराले फलानो मुलुकले हस्तक्षेप गर्छ र फलानोले गर्दैन भनेर तर्क गर्नु र हस्तक्षेप रोक्न छाडेर आफैं कुनै राजदूतको प्रतिरक्षामा लाग्नु सही होइन । यो चिनियाँ राजदूतको सवालमा मात्र होइन, अन्य देशका राजदूतको अस्वाभाविक भेटघाटप्रति प्रश्न गर्नुपर्छ । यी विषय उठाउँदा हामीलाई लाग्न सक्छ– चीनसँगको सम्बन्ध बिग्रने हो कि त्यसैले पनि कतिपय प्रतिरक्षा गर्ने गरेका छन् । तर प्रश्न उठाएर सम्बन्ध बिग्रने होइन, सुधार्न र राम्रो बनाउन सहयोग गर्छ ।

योसँगै अर्काे विषय हो– राजदूतको भेटघाट नियमन । विगतमा राजदूतले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र राजनीतिक दलका उच्च नेतासँगको भेटघाट गर्दा पालना गर्नुपर्ने आचारसंहिता बनेको थियो तर त्यसको कार्यान्वयन भएको छैन । अहिले पनि परराष्ट्र मन्त्रालयका प्रतिनिधीहरूविना नै यस्ता भेटघाट भइरहेका छन् । भेटघाटमा के कुराकानी भए भन्ने विषयमा कुनै पनि अखिलेख छैन । यसका विदेशी राजदूतको मात्र दोष छैन, हाम्रा नेताहरू आफैं राजदूतसँगको भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू राख्न चाहँदैनन् । त्यसैले यसलाई व्यवस्थापन गर्न परराष्ट्र मन्त्रालयको भूमिका महŒवपूर्ण हुने गर्छ । तर पछिल्लो समयमा मन्त्रालयमा यसमा ध्यान दिएको पाइँदैन । विषय भारत र चीनको मात्र होइन, नेपालमा रहेका विदेशी राजदूतहरूका हकमा एकै खालको मापदण्ड लागु गर्नुपर्छ । निश्चय नै दुई ठूला छिमेकी भएका कारण उनीहरूका गतिविधि र चासो बढी हुने गर्छ । अन्य मुलुकका राजदूतले पनि परराष्ट्र मन्त्रालयको स्वीकृतिविना नेताहरूलाई निर्बाध भेटेका उदाहरण पर्याप्त रहेका छन् ।

काठमाडौंमा रहेका राजदूतहरूले पनि आफ्नो लक्ष्मणरेखालाई राम्रोसँग बुझ्न आवश्यक छ । परराष्ट्र मन्त्रालयले काठमाडौंमा रहेका कूटनीतिक नियोगलाई एकमुष्ट रूपमा भन्न सक्नुपर्छ, मन्त्रालयको अनुमतिलिएर मात्र प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्री र उच्च राजनीतिक दलका नेताहरूलाई भेट्नु । अनि ती भेटघाटको व्यवस्था मिलाउने र त्यहाँ आफ्ना प्रतिनिधि राख्ने व्यवस्था पनि गर्न आवश्यक छ । कुनै देशका धेरै विषय होलान्, धेरै घेटघाट गर्नुपर्ने होला तर सबैलाई लागु हुने मापदण्ड भने एउटै हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.