साउन र प्रकृति
धार्मिक हिसाबले साउने संक्रान्तिको दिनबाट महत्व पाउने साउन महिनाले धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्वलाई विशेष रूपमा दर्शाउँछ। ज्योतिष शास्त्रअनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ। यो दिनदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामोहुँदै जाने विश्वास गरिन्छ। यही महिनाबाट हिन्दु धर्मका धेरै चाडपर्व सुरु हुने गर्छन्। महिलाहरू साउनको सोमबार व्रत–उपासना गरी भगवान् शिवको आराधना गर्ने गर्छन्। यी विविध पक्षलाई समेट्दै साउन महिना, खेतीपाती र हरियालीले मानिस र प्रकृतिबीचको तादात्म्यलाई अरू महत्व दिएको छ।
कृषिकर्मबाटै मानिसले आफ्ना आवश्यकता पूरा गर्नेहुँदा प्रकृतिप्रति धन्यवाद व्यक्त गर्दै प्रकृतिसँग नजिक भएर हेर्ने कलाको विकासहुँदै जाओस् भन्ने देशना पनि हो। फेसनको मेहन्दीभन्दा मेहनतको तिउरी, फास्टफुड र कृत्रिम खानेकुराभन्दा स्वस्थ प्राकृतिक खानाको महत्व अनि व्रत, उपासना र सौभाग्यका नाममा गरिने शृंगारभन्दा भावनात्मक तथा आन्तरिक शृंगार र मनको शान्ति कति महत्वपूर्ण हुन्छ भन्ने बोध पनि साउन महिनामा गरिने क्रियाकलापले प्रस्ट पार्छन्।
जबसम्म पञ्चतत्वको बोधहुँदैन तबसम्म मानिसले जीवन र प्रकृतिको महत्व पनि बुझेकोहुँदैन। भनिन्छ– मानिस पञ्चतत्वमै जन्मियो र पञ्चतत्वमै विलिन भएर यो संसारबाट बिदा लिन्छ। हुन त हो, तर जीवनभर जुन तत्वसँग साक्षात्कार भएर बाँचेको हुन्छ त्यसप्रति पटक्कै ख्यालहुँदैन। पृथ्वी, आकाश, सूर्य, वायु र जलविना हाम्रो जीवन सम्भव थियो ? यिनको गुणवत्तालाई आफ्नो जीवनमा कसरी उतार्ने ? पृथ्वी– जसको गुणवत्ता हो सहनशीलता। सहनशीलता हाम्रो स्वभाव बनोस्, हाम्रो बोध बनोस्। हाम्रो सहनशीलताको डिग्री कस्तो छ ? यसको अभावमा आउने अहंकारले सधैं स्वार्थपूर्ण स्वभावमा लैजान्छ, यो बोध जागृत नहुँदासम्म हामी बेहोसीको जीवन बाँच्न विवश हुन्छौं। आकाश–अर्थात् विराटता, गहनता, शून्यता र खाली हुनु। हाम्रो प्रेम विराट् होस्। सोच गहन होस्। हामीभित्रबाट शून्य, मौन, ध्यानमग्न बन्न सकौं र काम, क्रोध, लोभ, मोहलगायतका रिपुबाट मुक्त भएर खाली हुन सकौं। तब मात्र आफू हुनुको, स्वबोधको गुण खुल्न थाल्छ। जल–अर्थात् शीतलता। हामी प्रचण्ड गर्मी झैं क्रोधी, अहंकारी मात्र भएर जीवन बाँच्न सक्दैनौं। जलजस्तो शीतल हुन सक्नुपर्छ। पृथ्वीमा ७० प्रतिशत भाग जल छ भने हाम्रो शरीरमा पनि ७० प्रतिशत जल अर्थात् पानीको मात्रा छ।
तर हाम्रो स्वभावमा कति प्रतिशत शीतलता छ ? स्वबोध गरौं, हाम्रा कर्म, स्वभाव र व्यवहारमा ७० प्रतिशत शीतलता आउन सक्यो भने हामी प्राकृतिक प्राणी भएर शान्त र आनन्दित जीवन बाँच्न सफल हुन्छौं तब मात्र हाम्रो धार्मिकता पनि प्रकट हुन पाउँछ। सूर्य अर्थात् ताप, शक्ति, ऊर्जा जसले सबै विकार नष्ट गरेर अस्तित्वमा अर्थात् जीवनमा सन्तुलन ल्याउनमा मद्दत गर्छ। शरीरको पाचन प्रक्रियालाई सन्तुलन गर्नदेखि लिएर संक्रमण, किटाणु नाश गर्न र चिसोबाट बचाउन सूर्यको आवश्यकता रहन्छ। वायु अर्थात् जीवन्तता, प्राणवायु, स्वास, हावा, अक्सिजन जसले जीवन दिएको हुन्छ। हाम्रो आयु अर्थात् जीवन कति हुन्छ भन्ने कुरा यही प्राणवायुले निर्धारण गर्छ। स्वास रहुञ्जेल जीवन रहन्छ तर जीवन रहुञ्जेल हाम्रो कर्म, सोच र दायित्व कस्तो हुनुपर्ला ? श्वासको बोध, स्वयंको बोध, जीवन बाँचेको बोध, पूजा, जप, स्तुति, दान, ईष्र्या जे पनि कर्म आफ्नो तर्फबाट भएको हुन्छ त्यसको परिणाम के होला ? हाम्रो स्वबोधले कसरी रूपान्तरण गर्न सक्छ ख्याल गर्नु जरुरी हुन्छ। हाम्रो साधना, धर्म, मान्यता, बुझाइ, संस्कार अँगाल्दै जाँदा प्रकृति र मानिसबीचको तादात्म्य एवं स्वबोध छुट्नुहुँदैन, अन्यथा सबै मान्यता र प्रचलनले दिने रूपान्तरण अपूर्ण नै रहनेछन्।
मान्ने कि जान्ने ?
मानिस जुन घर, परिवार, समाज र राष्ट्रमा हुर्कन्छ उसले त्यहींको संस्कार, धर्म, प्रचलन र मान्यतालाई आधार बनाएर जीवनयापन र आफ्ना कर्म गरिरहेको हुन्छ। हरेक चाडपर्व र संस्कार एउटा मान्यतामा आधारित हुन्छन् र त्यसलाई मनोवैज्ञानिक रूपले स्वीकार गरी जीवन चल्छ। स्वीकार र विश्वास भएन भने कुनै पनि संस्कृति र प्रचलन आफैंमा ओझेल पर्छन् तर ती सबै प्रचलनको सन्देश र शिक्षा के हो ? त्यसले जीवनमा के रूपान्तरण ल्याउँछ भन्ने थाहा नपाउँदासम्म अर्थात् अनुभूतिले नजान्दासम्म मान्ने काम मात्र बाँकी रहन्छ। सुन्नु, मान्नु र अपनाउनु एक अर्थमा सही नै हुन्छ। तर त्यसले जीवनलाई विधायक बनाउन के योगदान दिन्छ या दियो जान्नु आवश्यक हुन्छ। मान्यताले मात्र जीवनमा सकारात्मक परिवर्तन र विकासहुँदैन।
साउनमा भगवान् शिवको आराधना गर्नु, मन्दिर जानु, उपवास गर्नु, सौभाग्यका प्रतीक पहिरन र शृंगार गर्नु नराम्रो छैन तर शिवको देशना के थियो ? त्यो मूलभूत कुरा भुल्नुहुँदैन। ध्यान, योग र जीवनलाई सकारात्मक रूपान्तरण गर्ने भगवान् शिवको ध्यानको कला नअपनाउने तर बाहिरी पूजा र शृंगारले साउन र शिवको महिमा गाउँछु भनेर लाग्नु पनि अपूर्ण भक्ति नै हुन जानेछ। जीवनका हरेक संस्कारबाट सुसंस्कार हुन सिकौं। धर्मबाट धार्मिकता सिकौं र आराधनाबाट ध्यानको गहिरँय जान्ने र अनुभूतिमा ल्याउने प्रयास गरौं तब मात्र जीवनमा केही रूपान्तरण आउनेछ।
जीवन अनुशासनबाट आत्मानुशासनमा र ज्ञानबाट आत्मज्ञानतर्फ उन्मुख हुनेछ। भौतिक ज्ञान र मान्यताले बाहिरको सुख र सुविधा मिल्छ तर आन्तरिक शान्ति र आनन्दका लागि ध्यानको विकल्प छैन। सुख, सम्पन्नता, पद, प्रशंसा बाहिरका आर्जन हुन्। यिनले दीर्घकालीन रूपमा भित्रको आनन्द प्रदान गर्छन् भन्ने जरुरी छैन। ध्यानबाट प्राप्त आन्तरिक शान्ति र आनन्दले बाहिरको सुखमा पनि थप सुन्दरता प्रदान गर्छ। आन्तरिक शान्ति र आनन्दको अनुभूति नै मानिसले प्राकृतिक स्वभावमा बाँच्न जान्ने अनुभूति प्राप्त गर्नु हो।