‘धरातल बिर्सनेले भोलि कहाँ टेक्ने’
सरिता लामिछाने
कलाकार सामाजिक व्यक्तित्व हुन्। उनीहरूले सामाजिक दायित्व पनि निर्वाह गर्नुपर्छ। समाजकै पात्रको अभिनय गर्दागर्दै यही समाजले उनीहरूलाई आआफ्नो दर्जा दिने हो। आफूलाई नाम, पहिचान, पैसा, शक्ति दिने समाजका लागि पनि उसको भूमिका पक्कै हुन्छ। म व्यक्तिगत रूपमा जे पनि गर्न पाउँछु भन्न मिल्दैन एक कलाकारले। समाजमा बसिसकेपछि लाखौं करोडौं दर्शकले मानिदिइसकेपछि, उनीहरूले आइडियल बनाएर सजाइसकेपछि हाम्रो पनि जिम्मेवारी हुनुपर्छ। बोल्दा, हिँड्दा, कुनै काम गर्दा ध्यान दिनैपर्छ।
करिब दुई दशकदेखि म यही क्षेत्रमा छु। मैले बिताएको २१ वर्षको जीवन यही क्षेत्रले दिएको हो। जे भने पनि मेरो सारा श्रीसम्पत्ति, क्षमता कलाकारिता नै हो। यो बीचमा विभिन्न मुद्दाले नेपाली सिने क्षेत्र तरंगित भइरह्यो। कुनै पनि मुद्दामा व्यक्तिगत रूपमा नबोले पनि मलाई यहाँ हुने अस्वस्थ प्रतिस्पर्धा, एकअर्काप्रतिको अस्तित्व नै स्वीकार नगर्ने प्रवृत्ति, अग्रजलाई नगन्य व्यवहारलगायत अनेक विवादले नराम्रोसँग छोयो। कलाकारिताका विषयमा नराम्रा टिप्पणी आउँदा, सामाजिक सञ्जालमा अश्लील गाली बर्संदा मेरो पनि मन दुख्छ।
विदेशी भूमिमा कुनै पनि कलाकारले आफूलाई नेपाली कलाकार भनेर चिनाउँछ। देशको नामबाट चिनाउनु परेपछि देशकै बारेमा दुई लाइन बोल्न सक्ने कलाकार बन्नु पर्यो नि। सबै मानिसले सबै विषयको सम्पूर्ण कुरा जान्न नसके पनि आमचासोको सामान्य कुरा जान्नु जरुरी छ जस्तो लाग्छ। मेरो काम कलाकारिता हो भन्दैमा सामान्य ज्ञान नहुँदा उसलाई आइडियल किन मान्ने ? जसले तपार्इंको ठाउँलाई, देशलाई चिन्दैन, तपाईंको भाषा, धर्म, राजनीति र संस्कृति जान्दैन भने उसलाई तपाईंले आफ्नो आदर्श कसरी भन्ने ?
नजान्नु र बोल्दाबोल्दै चिप्लनु मानिसको व्यक्तिगत कमजोरी हो। तर बोल्दा बढी जान्ने भएर र हेपेर भनेको त दर्शकले चिन्नुहुन्छ नि। सायद यसैले पनि होला, सामाजिक सञ्जालमा अत्यधिक गाली बर्सिएको।
नेपाली चलचित्र क्षेत्रको ५२/५३ वर्षको इतिहास कुनै दुईजनाले निर्माण गरेको होइन। यहाँसम्म पुग्नुमा सयौं कलाकार र हजारौं मानिसको योगदान छ। उहाँहरूले जग निर्माण नगरिदिएको भए आज तपाईं कुन घरमा अटाउनुहुन्थ्यो त ? जसले तपार्इंका लागि यति राम्रो प्लेटफर्म तयार गर्यो, तपाईंलाई हिँड्न सहज बाटो निर्माण गर्यो, आज तपाईंले उसकै क्षमतामा प्रश्न गर्न मिल्छ ? यहाँ हर दिन नयाँ मान्छे भित्रन्छन्। कोही आउँछन् एक दुई फिल्म खेल्छन र चलचित्रको धार नै फेरिदिन्छु भनेर गफ लगाउँछन्। कसैले तीनवटा फिल्म खेलेका हुँदैनन्, लाखौंलाख पारि श्रमिकको सवाल उठाउँछन्। आफूलाई टप लेभलको कलाकार सम्झन्छन्। तर उनीहरूको अनुशनसन खोइ ? नायक, महानायक, वरिष्ठ, कनिष्ठको विषयमा बेग्लै बहस हुन सक्ला। कुनै पनि पद वा मानपदवी एउटा समूह वा मासले दिने हो। कसैले चाहँदैमा महानायक भनिने हो त ? तर जुनियरले सिनियरलाई सम्मान गर्ने संस्कार हाम्रो हो। अहिलेका नयाँ कलाकारमा खोइ त सम्मानको भाव ?
एकले अर्कालाई सहयोग गर्ने, सम्मान गर्ने, अभिनयमा लगनशील हुने त चलन नै बिरानो भइसक्यो। आजको नयाँ पुस्ताले हिजोको पुस्तालाई सम्मान दिन सकेन भने भोलिको पुस्ताले पनि त त्यही व्यवहार दोहोर्याउँछ नि। यसबारेमा कसैले पनि सोचेको देखिँदैन। अनुशासनको कुरा, सामाजिक दायित्वको सवालमा आजका पुस्तामा समस्या देखिएको पक्कै हो।
नजान्नु र बोल्दाबोल्दै चिप्लनु मानिसको व्यक्तिगत कमजोरी हो। तर बोल्दा बढी जान्ने भएर र हेपेर भनेको त दर्शकले चिन्नुहुन्छ नि। सायद यसैले पनि होला, सामाजिक सञ्जालमा अत्यधिक गाली बर्सिएको। अहिले पहिलेजस्तो छैन। कामको प्रतिफल लिन समय कुर्नपर्ने। तपार्इंले कुनै विषयमा केही बोल्नुस्, तपार्इं सही या गलत तत्कालै प्रतिक्रिया पाउनुुहुन्छ। कसैको क्षमतामाथि प्रश्न गर्दै गर्दा, आफूले खेलेको फिल्मका कथा, सामाजिक प्रभाव र आफ्नै क्षमतामाथि पनि मूल्यांकन गर्ने बेला पनि भयो अब। यसले सबैलाई एउटा पाठ सिकाई पनि दियो। तर माफी मागिसकेको विषयलाई लम्ब्याएर गाली गरिरहनु गलत हो। मानिसको मन सदैव एकै किसिमको हुन्न।
कलाकारमाथि हुने हिंसाको विषयमा पनि नेपाली सिने उद्योग निकै तात्यो। कलाकार विभाजित भए। अहिलेको पुस्ता निकै ट्यालेन्ट छ। पढेर सिकेर आएको पुस्ता। उसले आफूलाई परेको समस्या, हिंसामाथि तत्कालै प्रतिक्रिया जनाउनुपर्छ भन्ने लाग्छ। लामो समयसम्म हिंसा वा घटना लुकाएर राख्यो भने पछि सम्बोधन नहुन पनि सक्छ। अदालतमा त घटना दर्ता गर्ने निश्चित हदम्याद छ भने सार्वजनिक ठाउँमा बोल्ने, सुनाउने र सामाजिक सञ्जालमा अपलोड पनि समयमै गर्नुपर्छ भन्ने मलाई लाग्छ। महिला हिंसाको कुरा नेपालमा मात्रै होइन र चलचित्र क्षेत्रमा मात्रै पनि होइन। यो हरेक ठाउँमा हरेक पेसामा छ।
(सरितासँग अजवी पौड्यालले गरेको कुराकानीमा आधारित)