हङकङबाट पहिरो पीडितलाई ११ लाख २५ हजार सहयोग
अनोज रोक्का
हङकङ : पर्वत मञ्च हङकङको संयोजकत्वमा पर्वत दुर्लुङ्का पहिरो पीडितलाई हङकङबाट ११ लाख २५ हजार आर्थिक सहयोग प्रदान गरिएको छ। पहिरोमा परेर ज्यान गुमाएका ९ घरपरिवारलाई जनही १ लाख १५ हजार, पहिरोमा सामान्य क्षति भएका ६ घरपरिवारलाई जनही १५ हजार रुपैयाँ प्रदान गरियो।
एक कार्यक्रमबीच पहिरो पीडित घरपरिवारलाई पर्वत मञ्च हङकङका प्रतिनिधि एवम् चारभञ्जयाङ् तमु समाज हङकङका निवर्तमान अध्यक्ष गंगाबहादुर गुरुङ र कुस्मा नगरपालिका वडा नं ३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले संयुक्तरुपमा रकम हस्तान्तरण गरेका थिए। मञ्चका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ भन्छन्, 'पर्वत मञ्चको पहलमा सम्पूर्ण सहयोगी संस्थाले साथ दिनुभयो। हामी विदेशमा छौं तर आफ्नो घरगाउँ पहिरोले बगाउँदा आफ्ना छिमेकी पहिरोसँगै हराउँदा हामी पनि बेचैन भयौं। सबैबाट आर्थिक सहयोग संकलन गरेर प्रदान गरेका छौं। उहाँहरुको आफन्त फर्काउन त सक्दैनौं तर दुखी रहेको घाउमा हाम्रो सहयोगले सहानुभुती अवश्य प्रदान गर्नेछ।'
आर्थिक सहयोग संकलन अभियानमा हङकङमा रहेका आर्थर डाँडाखर्क समाज, पञ्चासे सहयोग समिति, देउपुर देउराली समाज, बाजुङ समाज, पर्वत पुन मगर समाज, सुकुटी ग्रुप, पैयुं खोला समाज, तमु समाज, चारभञ्ज्याङ् तमु समाज, भुका समाज लगायतले आर्थिक सहयोग गरेका थिए।
पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीमा जेठ ३१ गते राती भिषण पहिरो गएको थियो। पहिरोमा परेर ९ जनाले ज्यान गुमाएका थिए। दुर्लुङमा गएको पहिरोको बारेमा भुगर्वविद्को टोलीले एक अध्ययन प्रतिवेदनसमेत सार्वजनिक गरिसकेको छ। अध्ययनले ३ घण्टाभन्दा बढी लगातार भारी वर्षापछि भिरालो जमिनमा पहिरो उत्पति भइ सतहको माटो र रुख, विरुवासमेत बगाउँदै समथर स्थानमा केही समय थुनिन गइ विशाल विस्फोटन हुँदा तटीय क्षेत्रको समथर भूभागका बस्तीमा असर पारेको निष्कर्ष निकालेको छ।