पहिरोको उच्च जोखिममा कपुरकोट र राप्ती राजमार्ग

पहिरोको उच्च जोखिममा कपुरकोट र राप्ती राजमार्ग

दाङ : राप्ती राजमार्गको तुलसीपुर-सल्यान सडकखण्डको कपुरकोट क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ । राजमार्ग र कपुरकोट बजार ६५ वर्ष देखि जोखिममा छ । तर, त्यसको उचित व्यवस्थापन भने अहिलेसम्म पनि हुन सकेको छैन । ६५वर्ष देखिको पहिरो नियन्त्रणका लागि राज्यले पहल नगरेपछि अहिले सडक र कपुरकोट बजार भाँसिन सुरु भएको छ ।

कर्णली र प्रदेश ५ दुई प्रदेशको सीमाना, तरकारीको उत्गमस्थल कपुरकोट बजार अहिले पहिरोको कारणले संकट र अत्यन्त जोखिममा छ । राप्ती राजमार्गको सल्यान-दाङ सडकखण्डको कपुरकोटमा रहेको खारा पहिरोका कारण राजमार्ग र बजार जोखिममा परेको हो । ६ दशकदेखि वर्षाको समयमा नियमितरुपमा झरिरहने पहिरो रोकथामका लागि राष्ट्रियस्तरको योजना नआउनुले त्यसको असर राप्ती राजमार्गमा र कपुरकोट क्षेत्रमा परेको स्थानीयको गुनासो छ ।

पहिरो नियन्त्रणको प्रयास दिर्घकालिन हुन नसकेका कारणले राप्ती राजमार्गको सल्यान-दाङ सडकखण्ड समेत भासिन थालेको छ । यसलाई अझै रोक्न पहल नभएमा पूर्णरुपमा राजमार्ग पहिरोमा विलय हुने प्राय निश्चित जस्तै छ । 

सो सडकखण्डमा रहेर लामो समय काम गरेका इन्जिनियर शिव नेपालले यसलाई रोकथाम गर्न विशेष अध्ययनको आवश्यकता भएको बताए । 'जमिनमुनिको समस्याले यस्तो भएको हो यसलाई पत्ता लगाउनलाई विशेषज्ञ सहितको टोलीले अध्ययन गर्न जरुरी छ,' उनले भने,' तीन पहाडको संगम भएको र माटो कमजोर भएकाले यो क्षेत्र अति जोखिममा छ । जिल्लास्तरमा पनि यसलाई अति जोखिममा राखेर संरक्षणको काम भइरहेको छ । '

सडक इन्जिनियर उक्त क्षेत्र संरक्षण नगरे ३ ÷४ वर्षका कपुरकोट पुरै जोखिममा रहने र ठूलो धनजनको क्षति हुने बताइ रहेका छन् ।'कपुरकोट पूर्णरुपमा जोखिममा रहेको छ त्यसको संरक्षणको योजना सञ्चालन गर्दा ठूलो रकम खर्च हुन्छ त्यसकारण पनि अब बस्ती स्थानान्तर गर्नुपर्छ,' जिल्ला भूसंरक्ष्ण कार्यालय सल्यानमा पूर्व प्रमुख शेषदत्त चौधरीले भने,' क्षति घटाउन बस्ती नै उठाएर अर्का ठाउँमा सार्नु पर्ने देखिन्छ ।'

सल्यान जिल्लाको सबैभन्दा ठूलो पहिरो कपुरकोट खारा पहिरोले राजमार्ग छुन केही मिटर मात्रै बाँकी छ । यसलाई नियन्त्रण र रोकथाम नगरेमा अबको केही वर्षमै राप्ती राजमार्गको सो सडकखण्ड पूर्णरुपमा विलय हुने जिल्ला भू-संरक्षण कार्यालय पूर्वप्रमुख शेषदत्त चौधरीले बताए ।

कपुरकोटमा दिनानुदिन बढिरहेको पहिरोले राजमार्गलाई क्षति गरेर बगाएमा सल्यान, दाङ, रोल्पा, रुकुम, जाजरकोट डोल्पा लगायतका जिल्लाको केन्द्रीय सम्पर्कलाई टुटाउने छ भने आवतजावत समेत बन्द हुने तथा लाखौं नागरिक मर्कामा पर्ने निश्चित छ । 

राप्ती राजमार्ग अहिले यी जिल्लाको मुख्यद्वारका रुपमा रहेको छ । यसैगरी कपुरकोट र त्यहाँ रहेको बस्तीमा असर गरे त्यसको प्रभाव दाङको तुलसीपुरबजारमा समेत पर्नेछ। 

राप्ती राजमार्गको कपुरकोटको दक्षिणतिर रहेको पहिरोले राजमार्गलाई मात्रै नभएर जिल्लाका केही सरकारी कार्यालय तथा स्थानीय बजारलाई समेत संकटमा राखेको छ । राष्ट्रिय अदुवा बाली अनुसन्धान कार्यक्रमको कार्यालय, सल्यान रोल्पा सडक, कपुरकोट बजारमा समस्या छ ।  

करिब ६५ वर्ष अघिदेखि सुरु भएको पहिरो ७०० मिटर लम्बाई र ३०० मिटर चौडाई तथा ३० मिटर गहिराइ रहेको छ । पहिरोले १६ हेक्टर जमिन ओकटेको चौधरीले जानकारी दिए । 

कमेरो सेतो रंगको, रातो ग्रेग्रान मिसिएको कालो चिम्टयाइलो ३ थरीको माटो भएकाले पानी पर्दा एकदम कमलो र चिप्लो हुने सुख्खा याममा चट्टान जस्तो कडा हुने भएकाले पनि बढी संवेदनसिल पहिरो भएको उनले बताए ।

यसको नियन्त्रणका लागि राज्यले दिर्घकालीन तर ठूलो खालको योजना ल्याउनुपर्ने चौधरीको भनाइ छ । पहिरोलाई न्यूनीकरण गर्न सामान्य प्रयास भएपनि ठूलो प्रयास हुन सकेको छैन । 

चार वर्ष पहिले पहिरोको कारण कपुरकोटको मुल बजारको क्षेत्रमा भाँसियो । केही घरहरु पहिरोले लग्यो । बजार क्षेत्रमा राप्ती राजमार्गको केही भाग २ मिटर तल भाँसियो । अहिले राजमार्ग र कपुरकोट बजार क्षेत्र पहिरोको कारण भासिरहेको छ । पहिरोले बगाउँदा कपुरकोटमा रहेको कालिका मावि पूर्णरुपमा क्षति भएर स्थानान्तरणनै हुनु परेको छ । अहिले विद्यालय अर्को स्थानमा सञ्चालन भइरहेका छ । 

बर्सेनि नियमितरुपमा कपुरकोट बजार र राप्ती राजमार्ग भासिन थालेपछि स्थानीय त्रसित हुँदै आएका छन्। कपुरकोट बजार भासिन थालेको स्थानीय व्यवसायी चन्द्रकमल वलीले जानकारी दिए । बजार क्षेत्रमा रहेको झण्डै ३० मिटर सडक र सो आसपासमा रहेका घरहरु भासिन थालेका हुन् ।  

राममार्ग भाँसिदा गएको पहिरोको कारण राप्ती लोकमार्गसँगै रहेको कालीका मावि विस्थापित भएर स्थानान्तरण भएको थियो भने अहिले बस्ती नै विस्तापन हुने अवस्थामा पुगेको छ ।

स्थानीय व्यवसायी वलीले सडकको दक्षिणतिरको जमिन र त्यहाँ भएका घर भाँसिएको र घरको केही भाग भिरालो भएको र दक्षिणतिरको आधा सडक समेत भाँसिएको अवस्थामा छन्। 

'घरका पिलर भाँचिए, आगन भाँसियो, पसल भित्रका टारी उकालो र ओरालो लागेका छन्,' उनले भने,राज्यले यति हुँदासम्म कुनै पहल गरेको छैन ।'

वर्षयाममा स्थानीय राती घरमा बस्न छोड्ने गरेका छन् भने दिउँसो पनि डराइ डराइ घरमा बस्ने गरेका स्थानीयको भनाइ छ ।पहिरोकै कारण राष्ट्रिय अदुवा वाली अनुसन्धान कार्यालय कपुरकोट समेत जोखिममा रहेको छ । 

पहिरोका कारण कपुरकोट संकटमा परेको छ, सडक खण्डमा यातायात व्यवसाय सञ्चालन गर्दे आएका सवारी धनी खडक विसिले भने, जमिन भासिएका कारण ढुक्‍कसँग यातायातका साधन चलाउन समेत अपठेरो हुने गरेको छ ।  
 
राप्ती राजमार्ग ,कपुरकोट क्षेत्रको बस्ती र व्यापारिक केन्द्रमा आश्रीत व्यापारी, कृषकहरुको भविश्य  तथा राष्ट्रिय अदुवावाली अनुसन्धान परियोजनाको कार्यक्रम समेत जोखिममा रहेको चौधरीको तर्क छ । त्यस्तै दाङ तुल्सीपुर बसपार्कक्षेत्रको बस्ती ,रक्षाचौर टरिगाउँ उरहरी समेतको हजारौं बस्तीको बिजोग हुने अवस्था आउन सक्नेछ। 

सल्यानका प्रदेश सभा सदस्य तथा कणैली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले कपुरकोटको खारा पहिरोको समस्या रहेको बताए । 

उनले आफू जनप्रतिनिधि भएदेखि केही प्रयास गरिहरको भन्दै केन्द्रीय सरकारको समन्वयमा मास्टर प्लान निर्माण योजना अघि सानुपर्ने अवस्था आएको बताए।

'पहिले भन्दा धेरै काम भएको छ, मन्त्री ज्वालाले भने, तर खतरा कायमै छ, यसलाई व्यवस्थापन गर्न सकिने भने ठूलो विपद आउन सक्छ । उनले संघसँगको समन्वयमा क्षेत्र प्रदेशको प्राथामिकतामा रहेको बताए । 

४२ सालदेखिको प्रयास 

तत्कालिन जिल्ला भू-संरक्षण कार्यालय सल्यानले ४२ सालदेखि पहिरो नियन्त्रणका लागि वार्षिकरुपमा कार्य योजनामा राख्दै आएको थियो। एक लाख बढी बराबरको तारजाली बाध्ने काम गरिरहेको बताएको छ । ठूलो रकम नभएकाले सानो तिनो बजेटले तारबार वायु इन्जिनिरिङको काम मात्रै भू-संरक्षणले सामान्य रोके पनि दिर्घकालीन नभएको चौधरीको भनाइ छ ।

अहिले उक्त कार्यालय जिल्लामा छैन । अन्य निकायले यसतर्फ ध्यान दिएका छैनन् । उनले ४२ सालदेखि अहिले यो पहिरोका लागि झण्डै एक करोड जति खर्च भएको पूर्वप्रशासकको आंकलन छ । राष्ट्रिय ठूला योजना रोकथामका लागि नआए उक्त क्षेत्र पहिरोले बगाउने स्थानीय बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.