गुल्मीमा पहिरोले ६ परिवार विस्थापित
गुल्मी : जिल्लाको चन्द्रकोट गाउँपालिकामा पहिरोका कारण ६ घर परिवार विस्थापित भएका छन् । अबिरल वर्षासँगै गएको पहरोले चन्द्रकोट गाउँपालिका -८को बास्कोटमा ६ घर परिवार विस्थापित भएका हुन् ।
पहिरोको जोखिममा रहेका घर परिवारलाई गाउँकै जनता वाल निकेतन मावीमा बस्ने व्यवस्था गरिएको स्थानीय रुपेश नेपालीले जानकारी दिए । सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा ग्रामीण सडक अवरुद्ध भएका छन् ।
सोही गाउँपालिका-७ को खसिमारे भन्ने स्थानमा लु ६ख ७७९२ नम्बरको ट्रक पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुटवलबाट सिमेन्ट, ग्यास, छड र फेन्सी सामान लिएर शान्तिपुर जाँदै गरेको ट्रक बाटोमा हिलोमा अडकिएको बेला माथिबाट झरेको पहिरोले बगाउँदा झण्डै १ किलोमिटर तल खसेको प्रहरीले जनाएको छ ।
पहिरोले ट्रक र ट्रक भित्रका सामनमा क्षति पुगेको प्रहरीको भनाइ छ । ट्रक पुरिएको अवस्थामा भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।