किसानलाई बाँदर धपाउने यन्त्र
बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाका विभिन्न वडाका किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरेको छ ।बाँदरबाट बालिनाली जोगाउन किसानलाई सजिलोका लागि यन्त्र वितरण गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् ।
उनले भनिन्, 'नगरपालिकाका विभिन्न वडामा बाँदरले वर्षौंदेखि क्षति पुर्याउँदै आएको छ । बारीमा लगाएको सबै बालीनाली नष्ट गर्ने गरेको छ । त्यसैले हामीले बाँदर धपाउने यन्त्र खरीद गरेर किसानलाई वितरण गरेका हौं ।'
नगरपालिकाको वडा नं ५ मा २५ वटा यन्त्र वितरण गरिएका छन् । प्रत्येक टोलका किसानलाई पायक पर्ने गरेर यन्त्र वितरण गरेको उपप्रमुख चन्दले बताइन् । नगरपालिकाले स्याङजाको जयलक्ष्मी आँधीखोला कन्ट्रक्सन प्रालिबाट एक सय थान बाँदर धपाउने यन्त्र खरिद गरेको उनले बताइन् ।
नगरपालिकाका बाँदर प्रभावित अन्य वडाका किसानलाई यन्त्र वितरण गरिने उपप्रमुख चन्दले जानकारी दिइन् । बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउँदै जाँदा मेसिनले ठूलो आवाज निकाल्ने भएकाले बाँदर भाग्ने गर्छन्।
यन्त्र वितरण गरिएका किसानलाई यन्त्र चलाउन पनि सिकाइएको छ । बाँदर धपाउने यन्त्र पाइएपछि बाँदर धपाउन सहयोग पुग्ने किसानले विश्वास लिएका छन्। नगरपालिकाले बाँदर धपाउने यन्त्र वितरण गरेपछि केही राहत महशुस भएको स्थानीय पुष्पा चन्दले बताइन् ।बाँदर धपाउने यन्त्र पाएपछि बाँदर नियन्त्रणमा केही सहयोग पुग्ने अर्का स्थानीय डम्मर टमाटाले बताए ।
उनले भने, 'हामीले गएको ७÷८ वर्ष यता बारीमा बालीनाली लगाउन छोडेका छौं । लगाएको बालीनाली पनि बाँदरले नष्ट गरिदिन्छ । नगरपालिकाले यन्त्र दिएपछि अब केही सहयोग पुग्ला भन्ने आसा पलाएको छ ।'
नगरपालिकाको विपद् व्यवस्थापन योजना समेत बाँदर आतंकलाई पहिलो सूचीमा राखेको थियो । बाँदरकै कारण बालीनाली नष्ट हुँदा किसान बजारबाट खाद्यान्न आयत गर्न बाध्य छन् । नगरपालिकाले बाँदर नियन्त्रण गर्ने योजनाअन्तर्गत ३ लाखको लागतमा यन्त्र खरिद गरेको जनाइएको छ ।