पहिरोले बज्रपात, उजाडियो काख
बागलुङ : तमानखोला गाउँपालिका–२ खोलेसबाङका पानबहादुर सिर्पाली र होमकुमारी सिर्पालीका दुई सन्तान । एक छोरा र एक छोरी । स्थानीय छरछिमेक र आफन्तले भन्थे–‘तपाईहरु कति भाग्यमानी, दुई सन्तान इश्वरका बरदान ।’ यो सुनेर सिर्पाली दम्पति पनि मख्ख पर्थे । तर, सिर्पाली दम्पतिको यो खुसी लामो समय टिक्न पाएन । मंगलबार बिहान घरमाथिबाट आएको पहिरोले १३ वर्षीय छोरा खिमबहादुर र १२ वर्षीया छोरी रिता सिर्पालीलाई पुरिदियो । र सदाका लागि खोसियो सिर्पाली दम्पतिको खुसी ।
आफ्ना दुई सन्तानको भविष्य र खुसीका लागि साउदी अरब पुगेका बाबु पानबहादुर एकाबिहानैको दुखद खबरले मुर्छित छन् । पहिरोमै पुरिएर स्थानीयले उद्वार गरेका ३४ वर्षीया आमा होमकुमारीको शरिरका विभिन्न अंगमा चोट छन् । उनलाई आफ्नो चोटको कुनै प्रवाह छैन । शरिरको चोटको दुखाईभन्दा हजारौँ गुणा बढी चोट दुई सन्तान गुमेकोमा छ । साँझसँगै खाना खाएर सुतेका छोराछोरी अब कहिल्यै नब्युझिने गरि अस्ताएको यथार्थले होमकुमारी भक्कानिन्छन् ।
भर्खरका नाबालक सन्तान पहिरोको शिकार बनेको घटनाले सिंगो गाउँनै शोकमा डुबेको छ । होमकुमारीले सोमबार दिउँसो छोराछोरीसँगै सिमसिम पानीमा रुझेरै बारीमा घाँस काटेकी थिइन् । दिनभर कामको थकाइले उनीहरु साँझ अलि छिट्टै खाना खाएर सुतेका थिए । भान्छा कोठामा सुतेका छोरा छोरीलाई पहिरोले घर भत्किएर पुरेको पानबहादुरका दाजु भबबहादुर सिर्पालीले बताए । बुहारी होमकुमारी अर्को कोठामा भएकाले ज्यान जोगिएको उनी बताउँछन् । होमकुमारीको परिवारमा दुई छोराछोरी र सासु भएपनि सासुआमा छुट्टै घरमा बस्दै आएका छन् । सडकभन्दा करिब २ सय मिटर तल रहेको घर सडक भत्किएर आएपछि पुरिएको भबबहादुर बताउँछन् । ‘धेरै दिनदेखि ठूलो पानी परेको थियो, पहिरो जान सक्छ है भनेर बुहारीलाई भनेको पनि थिए,’ उनले थपे ‘राति पहिरो एक्कासी आएछ, तीन बजेपछि मात्रै मलाई बल्ल थाहा भयो । त्यसपछि सबैलाई खबर गरेर उद्धार गर्न थालेको हौँ ।’
मृतक खिमबहादुर खोलेसबाङ आधारभूत विद्यालयमा कक्षा ४ र छोरी रिता ७ कक्षामा अध्ययनरत थिए । ‘नानी चाहिँ पहिलेदेखिनै यही विद्यालयमा पढ्दै आएकी थिइन्, बाबु त आएको धेरै भएको थिएन,’ स्थानीय शिक्षक पुनम पुन मगरले भनिन् ‘नानीको पढाई राम्रो थियो, लगनशिल थिइन्, यो घटनाले हामीलाई एकदम दुखी बनाएको छ, कल्पना नै नगरेको भयो ।’
घरमा बज्रपात हुँदा पनि बाध्यताले परदेशिएका पानबहादुर साउदी अरबमै छट्पटिएका छन् । अहिले तत्काल कोरोना लगायतका संकटका कारण पनि चाहेर आउन सक्ने अवस्था छैन । पहिरोमा परेर घाइते बनेकी उनकी श्रीमती होमकुमारीलाई स्वास्थ्य संस्थामा लगिएको छ ।
राति पौने २ बजे घटना भए लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर आए लगत्तै प्रहरी, नेपाली सेना र स्थानीयले पहिरोमा बेपत्ता भएका दुई बालबालिकाको खोजी सुरु गरेका थिए । राति ठूलो वर्षा भएपनि खोजी कार्यलाई निरन्तता दिने क्रममा बिहान मात्रै दुवैको शव फेला पारेको थियो ।
दुई बालबालिकाको ज्यान जाने गरी खसेको पहिरोले आसपासका ७ घर परिवार विस्थापित भएका छन् । स्थानीय फुलमाया कामी, शेरबहादुर सिर्पाली, चामबहादुर सिर्पाली, हेमन्त सिर्पाली, लिलबहादुर सुनार, खिमबहादुर रसाइली र भीमबहादुर रानाको परिवार विस्थापित भएका छन् ।
‘यो याममा पहिलो दुखद घटना भएको छ, मृतक र विस्थापित परिवारलाई वडा कार्यालयमार्फत तत्कालका लागि अस्थायी विकल्प तयार गरेर राख्दैछौँ,’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने, ‘घरमा दीर्घकालिन हिसाबले बस्न मिल्ने नमिल्ने प्राविधिक टोलीले अध्ययन गरेपछि थप के गर्न सकिन्छ, त्यसका बारेमा गाउँपालिकाले आवश्यक कदम चाल्छ ।’
यसैगरी, जिल्लाको निसीखोला गाउँपालिका–१ हर्पेमा पनि अन्दाजी ५ वर्षीय समिर परियारको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोले घर भत्किदा स्थानीय कमल परियारका नाबालक सन्तानको ज्यान गएको र अन्यले भने भागेर ज्यान जोगाएको वडा अध्यक्ष इन्द्रबहादुर मल्लले जानकारी दिए ।