क्वारेन्टाइन रित्तिँदै, जोखिम बढ्दै

क्वारेन्टाइन रित्तिँदै, जोखिम बढ्दै

बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकाका ५ जना केही दिनअघि भारतबाट घर फर्के । भारतमा कोरोना महामारी फैलिँदै गएपछि घर फर्केका उनीहरु गाउँपालिकाको क्वारेन्टाइनमा नबसी सिधैं होम क्वारेन्टाइनमा बसिरहेका छन् । 'भारतबाट फर्केकाहरु घर गएपछि मात्रै हामीले थाहा पायौं । अहिले स्वास्थ्यकर्मीको निगरानीमा उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको छ । पहिलाको जस्तो क्वारेन्टाइन पनि बनाएका छैनौं ।'

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले भने, 'पछिल्लो समयमा भारतबाट फर्केकाहरु बढीजसो होम क्वारेन्टाइनमै बसिरहेका छन् । हामीले निगरानी गर्दासम्म उनीहरुले क्वारेन्टाइनको नियम पालना गरेका छन् । त्यसपछि के गर्छन् थाहा नै हुँदैन ।'

सरकारले लकडाउन हटाएपछि स्वदेश भित्रिएकाहरु सिधै घरमै पुग्ने गरेको स्थानीयले बताए । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी कसैलाई पनि थाहा नदिएर भारतबाट फर्केका सिधै घर पुग्ने गरेका सुर्नया गाउँपालिका ६ का यज्ञराज अवस्थीले बताए । 

उनले भने, 'भारतबाट आएकाहरु सिधै घर आउन थालेका छन् । उनीहरुलाई सरकारी क्वारेन्टाइनमा बस भन्ने पनि कोही छैन् । पछिल्लो समयमा घर आएकाहरुबाट कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।'

सुरुमा भारत तथा अन्य मुलुकबाट स्वदेश फर्केका अनिवार्य १४ दिन क्वारेन्टाइन बसेर घर फर्केका भएपनि पछिल्लो समयमा घर फर्केकाहरु सिधै घर जान थालेको खबर आएको स्वास्थ्य कार्यालयका कोभिड-१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । 'अहिले क्वारेन्टाइनमा बस्नेको संख्या कम हुँदै गएको छ । लकडाउन हटेपछि आवतजावत पनि बढेको छ । जानकारी नदिएरै घर पुग्नेहरुको संख्या बढ्दै गएको छ, उनले भने, 'अहिले लकडाउन मात्रै खुलेको हो । कोरोनाको जोखिम सकिएको छैन् ।नागरिक सचेत नहुँदा कोरोनाको जोखिम बढ्दै गएको छ ।'

प्रदेशका केही स्थानीय तहहरुले आफैले पनि भारत तथा अन्य मुलुकबाट फर्केकालाई होम क्वारेन्टाइनमा पठाउने गरेको भन्दै त्यसो नगर्न प्रदेश स्वास्थ्य निर्देशनालयले सचेत समेत गराएको छ । 

प्रत्येक स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै भारतबाट फर्केकालाई अनिवार्य सरकारी क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन निर्देशन दिइएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । 

उनले भने, 'कोरोनाको लक्षण नदेखिएको भन्दै धेरैलाई होम क्वारेन्टाइनमा पठाउने गरिएको छ । यसले जोखिम निम्त्याउँछ भनेर हामीले अनिवार्य सरकारी क्वारेन्टाइनमा राख्न भनेका छौं ।'
 
बैतडीमा एक पटक ६ हजार बढी नागरिक क्वारेन्टाइनमा बसेको भएपनि पछिल्लो समयमा २ सय बढी नागरिक मात्रै क्वारेन्टाइनमा छन् । यद्यपि भारतबाट अहिले पनि फर्कने क्रम जारी छ । पहिलाको जस्तो भारतबाट फर्कनेको चाप नभएकाले क्वारेन्टाइनमा बस्नेहरुको संख्या कम भएको भएपनि धेरैजसो सिधै घर जान थालेकाले पनि क्वारेन्टाइनमा बस्नेको संख्या कम हुँदै गएको हो । 

समुदायमा संक्रमण फैलिएको आशंका 

बैतडीमा गत मंसीरमा भारतबाट फर्केका एकजनामा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । कोरोना महामारी नहुँदै स्वदेश फर्किएका व्यक्तिमा कोरोना पुष्टि भएपछि समुदायमै कोरोना बिरामी हुन सक्ने आशंका गरिएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । 

उनले भने, 'मंसिरमा भारतबाट फर्केका व्यक्तिमा कोरोना देखिएको छ । कोरोनाको महामारी नआउँदै फर्केका व्यक्तिमा कोरोना पुष्टि भएपछि उनमा कसरी सर्यो भन्ने खोजको विषय बनेको छ ।'

इलाका प्रहरी कार्यालय पाटनका हिरासतमा रहेका ३२ वर्षीय युवकमा सोमबार संक्रमण पुष्टि भएपछि समुदायमा कोरोनाको संक्रमण फैलिएको आशंका गरिएको हो ।

मंसिरमा घर फर्केका ती युवक अहिले बलात्कार आरोपमा प्रहरी हिरासतमा छन् । 'कोरोना पुष्टि भएपछि हामीले ती व्यक्तिको सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलनको तयारी गरेका छौं । ती युवकको सम्पर्कमा रहेकाको कोरोना परीक्षण गरिनेछ, स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले भने, 'स्वाब संकलन गरेर रिर्पोट आएपछि मात्रै कोरोना समुदायमा पुगे नपुगेको थाहा हुनेछ ।'

पछिल्लो समयमा भारतबाट फर्केका सबै नागरिक क्वारेन्टाइनमा नबसी लुकीछिपी घर गएकाले पनि समुदायमा कोरोना फैलिएको आशंका गरिएको भट्टले बताए । 

यस्तै समुदायमा कोरोना भए नभएको बारेमा जानकारी लिनका लागि संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका केही व्यक्तिको स्वाब संकलनको तयारी पनि भएको छ ।

कोरोना पुष्टि भएका तर लक्षण नदेखिएकालाई  परीक्षणबिना घर पठाएपछि उनीहरुको सम्पर्कमा रहेका केही व्यक्तिको स्वाब संकलनको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।

उनले भने, 'पालिकामा संक्रमितको संख्या हेरेर उनीहरुमध्ये केही सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरेपछि मात्र समुदायमा कोरोना संक्रमण फैलिएको वा नफैलिएकोबारे थाहा हुनेछ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.