हराएका मोबाइल खोज्दै लमजुङ प्रहरी
बेंसीसहर : लमजुङ सदरमुकाम बेसीसहरका सुरज तामाङको डेढ वर्षअघि मोबाइल चोरी भयो। प्रहरीमा उजुरी त गरे तर, पाउँछु भन्नेमा ढुक्क थिएनन्।
डेढ वर्ष पछिप्रहरीको फोन आयो, ‘तपाईको मोबाइल फेला पर्यो लिन आउनुहोस्।’विदेशमा श्रम बगाएर ल्याएको मोबाइल पाउँदा उनी खुसी बने।
बेसीशहरकै देउमाया गुरुङको पनि घरबाटै मोबाइल चोरी भयो। महिनौपछि मोबाइल पाउँदा उनी पनि खुसी भइन्।
लमजुङ प्रहरीले विभिन्न समयमा चोरी भएका ३३ वटा मोबाइल पत्ता लगाएर सम्बन्धित व्यक्तिलाई बुझाएको छ। पीडितहरुले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजी अभियान सुरु गरेको हो।
प्रहरीका अनुसार फेला परेका मोबाइलको मूल्य चार लाख ८० हजार पाँच सय रुपैयाँ रहेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले एक सातासम्म हराएको मोबाइल खोजी अभियान नै चलाएको थियो। अभियानको क्रममा विगत दुई वर्ष अघिदेखि हराएको मोबाइल भेटिएको लमजुङ प्रहरीले जनाएको छ।
पछिल्लो एक महिनामै ३३ वटा चोरी गरिएका मोबाइल पत्ता लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए।
मोबाइल हराएमा प्रहरीले खोजी गर्छ भन्ने सर्वसाधरणमा जानकारी नहुँदा निवेदन कम आउने गरेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए। प्रहरीमा निवेदन दिएमा विभिन्न प्रविधिको प्रयोगबाट हराएका मोबाइल पत्ता लगाउन सकिने थापाले बताए। हराएका मोबाइल खोजी अभियान नै चलाएर यति धेरै पत्ता लगाएको यो नै पहिलो भएको लमजुङ प्रहरीले जनाएको छ।