संक्रमित युवकको सम्पर्कमा रहेका २० प्रहरीसहित २३ जनाको स्वाब संकलन
बैतडी : बैतडीको पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय कोरोना संक्रमित युवकको सम्पर्कमा रहेका २३ जनाको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको छ ।
आफ्नै आमामाथि बलात्कार आरोपमा पक्राउ परेका ती पुरुषको सम्पर्कमा रहेका २० जना प्रहरी,३ जना अन्य थुनुवा र ३ जना भारतबाट फर्केका नागरिकको स्वाब संकलन गरेर डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।
गत असार ३१ गते पक्राउ परेका युवकमा गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । गत मंसिरमा भारतबाट फर्केका ती युवकमा कोरोना देखिएपछि इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरीहरुको स्वाब संकलन गरिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार युवकको घरपरिवारका सदस्यको पनि स्वाब संकलनको तयारी भएको छ। जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका संक्रमित थुनुवाको स्वास्थ्य अवस्था भने समान्य रहेको छ । यसैबीच इलाका प्रहरी कार्यालयमा भने सेवाग्राहीलाई आवतजावतमा रोक लगाइएको छ ।
स्वाब संकलन गरिएका प्रहरीको कोरोना रिपोट नआउँदासम्म सेवाग्राही आवतजावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।