म्याग्दीका गाउँमा सडक सम्पर्क विच्छेद
बेनी : पहिरोका कारण सदरमुकाम बेनीबाट म्याग्दीका ग्रामीण क्षेत्र सडक सम्पर्कबाट विच्छेद भएको छ। सडक सम्पर्कबाट विच्छेद भएपछि अत्यावश्यक काम पनि ठप्प भएका छन्।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी र बागलुङ–रत्नेचौर–बेनी सडकसमेत दैनिकजसो अवरुद्ध हुने गर्छ। ‘बेनीबाट गाउँ जाने सबै सडक धेरै ठाउँमा पहिरो खसेर यातायातका साधन चलेका छैनन’, डिएसपी किरनजंग कुँवरले भने, ‘मल्टिपल ठाउँमा गएको धेरै जसो पहिरो हटाउन र मर्मत गर्न मेसिनरी उपकरण आवश्यक छ।’
सेना, प्रहरी, यातायात ब्यवसायी र स्वमसेवकले स–साना पहिरो पन्छाए पनि ठूला पहिरो गएको ठाउँमा सडक मर्मत गर्न समय लाग्ने उनले बताए। बेनी नगरपालिका–१ रत्नेचौरको रानीबनमा खसेको पहिरोले बागलुङ–बेनी सडक अवरुद्ध बनाएको छ।
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा करिब ३० ठाउँमा पहिरो गएको छ। काभ्रेभीर, रुप्से, तितर, घट्टेखोला, दुवारीखोला, खामभित्ता, गुइठे, जलथले, नागढुङ्गा, धिरच्याङ्ग, बेगखोला, चमेरे, गलेश्वर र जलेश्वरमा पहिरो, बाढीले पुल बगाएको र कटान गरेर सडक अवरुद्ध बनाएको छ।
मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बाङ्गेभीर, बाबियाचौर, नयाँपुल, सिंगा, चुत्रेनी र डम्मरामा पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विष्णु नेपालीले बताए। बेनी नगरपालिकाको ५ वटा र रघुगंगाको तीन वटा वडालाई जोड्ने बेनी–पाखापानी सडक कुरीलाखर्कमा खसेको पहिरोले अवरुद्ध बनाएको छ।
सडक अवरुद्ध हुँदा मराङ, बिम, ताकम, धारापानी, देविस्थान, काभ्रे लगायत पहिरो प्रभावित बस्तिमा राहत सामग्री ढुवानी हुन सकेको छैन। पहिरो पीडितका लागि संकलित राहत बेनीमा थुप्रिएको छ। बिरामीलाई अस्पताल पुर्याउन महंगो खर्च गरेर हेलिकप्टर चार्टर गर्नुपरेको घतानका बिगुन केसीले बताए।
सरकारले जिल्लाभित्र आन्तरिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि सडक नभएपछि म्याग्दीमा गाडी चलाउन नसकेको म्याग्दी यातायात व्यवसायी कम्पनीका अध्यक्ष लालबहादुर थापाले बताए। ‘बेनीबाट गाउँतिर जाने सबै सडकमा पहिरै पहिरो छ’, उनले भने, ‘पहिले कोरोनाको डरले अहिले प्रकृतिले लकडाउन गरेजस्तो भयो। यातायात व्यवसाय चौपट भयो।’