डुबानमा कैलाली : भजनीका तीन बेपत्ता

डुबानमा कैलाली : भजनीका तीन बेपत्ता

टीकापुर : अविरलका वर्षाका कारण कैलालीको पूर्वी क्षेत्रका अधिकांश भूभाग जलमग्न भएका छन्। बाढीले पूर्वी क्षेत्रका पाँच हजार बढी घर डुबानमा परेका छन् भने भजनी नगरपालिकाका एक बालकसहित तीन जना बाढीमा डुबेर बेपत्ता भएका छन्। कैलालीको भजनी नगरपालिका-८ मा बाढीमा बगेर तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जनकपुर गाउँका ९ वर्षका स्केल चौधरी र खैरा गाउँका २ जना पुरुष रहेका छन्।

खैरा गाउँका बेपत्ता हुनेको नाम थाहा हुन नसकेको वडाध्यक्ष पंकज चौधरीले जानकारी दिए। उनले आफू अझै खैरा गाउँ पुग्न नसकेको बताए। ‘दुई जना पुरुष बेपत्ता भएका छन्। बाढीले म अझै त्यहाँ पुग्न सकेको छैन’चौधरीले भने ‘स्थानीयले बेपत्ताहरुको खोजी गरिराखेका छन्।’बालकको आफन्तले दिएको जानकारी अनुसार ९ वर्षका स्केल चौधरी बाढीमा बगेर बेपत्ता भएका हुन्। उनका काका कृष्ण चौधरीले पथरैया नदीबाट गाउँ पसेको बाढीले स्केललाई बेपत्ता बनाएको बताए।

पथरैया नदीबाट गाउँ पसेको बाढीले सबैजसो घर डुबानमा परेका छन्। स्थानीयले घरमा भएको सबै खाद्यान्न बगाएको बताए। भजनी नगरपालिकाका धेरैजसो वडाका बस्ती डुबेका छन्। उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय युवा जुटेका छन्। पुथ्वीपुर प्रहरी चौकीका इञ्चार्ज चंख कठायतले लालबोझीका ६० जनालाई उद्दार गरेर विद्यालयमा राखिएको बताए। उनले कान्द्रा र मोहना नदीमा पानीको सतह बढिरहेकाले उद्दार कार्यमा निकै कठिनाई भइरहेको जानकारी दिए। यता सोनाहाफाँटा प्रहरी चौकीले उद्दार सामाग्री नभएका कारण बाढीमा फसेका व्यक्तिहरुको उद्दारमा समस्या भएको बताएको छ। त्यहाँ कार्यरत एक सुरक्षाकर्मीले बाढी पसेका बस्तीका बासिन्दालाई आफ्नै ढंगले सुरक्षित बस्न आग्रह गरिरहेको बताए।

कैलालीको पूर्वी क्षेत्र जलमग्न भएको छ। रातभर परेको अविरल वर्षाका कारण भजनी, टीकापुर, लम्कीचुहा नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिका अधिकांश क्षेत्र डुबानमा परेका छन्। टीकापुर नगरपालिका-१ को शक्तिनगर, शिवनगर, एकतानगर शिविर वडा नं. २ को विजयनगर शिविर, वडा नं. ५ का सिम्रेनी, बसन्ता, शाहीपुर, वडा नं. ३ का घिया, पुछरी, कटानपुर, वडा नं. ६ को पर्सेनीलगायतका क्षेत्रहरु जलमग्न भएको टीकापुर नगरपालिकाले जनाएको छ। ६ वटा सुकुम्बासी शिविरका अधिकांश कच्ची घरहरु भत्किएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताइन्। उनका अनुसार नगर क्षेत्रका ४ हजार बढी घर बाढीको डुबानमा परेका छन्।

इलाका प्रहरी कार्यालय भजनीका अनुसार नगरपालिका अधिकांश भागमा पानी पसेको छ। अविरल वर्षाका कारण मोहना, पथरैया, काँढा नदीको पानी गाउँमा पसेको हो। भजनीका काँडा, सोनाहाफाँटा, कुसुमघाट, पृथ्वीपुर लगायतका दर्जन बढी गाउँहरु डुबानमा परेका हुन्। त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा ल्याउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बाढीबाट प्रभावितहरुको उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीहरु परिचालित गरिएको छ। जिल्ला प्रशासनका सूचना अधिकारी शिवराज जोशीले कैलालीको भजनी, जोशीपुर क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालित गरिएको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक विष्टका अनुसार जिल्लाका अधिकांश खोला र नदीहरुमा पानीको सतह बढेको छ। भजनी, जोशीपुर, जानकी, लम्कीचुहा, टीकापुर, जोशीपुर लगायतका दर्जनौ गाउँहरु डुबानमा परेको उनले बताए। बाढीका प्रभावितहरुको यकिन तथ्यांक भने आइनसकेको विष्टले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.